प्रदेशको अस्थायी राजधानी नतोक्ने सरकारको निर्णय बेइमानीपूर्ण:रावल

नेकपा एमालेका उपाध्यक्ष भीम रावलनेकपा एमालेले प्रदेशको अस्थायी राजधानी नतोक्ने सरकारको निर्णय बेइमानीपूर्ण भएको बताएका छन् । रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा उपाध्यक्ष रावलले सरकार आफ्नो कर्तव्यबाट पछि हटेको आरोप लगाए ।
उनले भने, “सरकार आफ्नो कर्तव्यबाट पछि हटेको छ, हामीले बालुवाटारको सर्वदलीय बैठकमा नयाँ सरकार गठन गर्नका लागि संविधानअन्तर्गत रहेर जे–जे गर्नुपर्छ गर्नुस् भनेका थियौं । तर, अहिले आएर सरकारले प्रदेशको अस्थायी राजधानी तोक्न सक्दैनौं, दलिय सहमति चाहिन्छ भन्नु बेतुकको तर्क हो ।”
सरकारलाई तत्काल प्रदेश प्रमुख तोक्न आग्रह गर्दै उनले भने, “सरकारले जनताको जनमतलाई कदर गर्ने काममा चुकेको छ । प्रधानमन्त्रीले शान्तिपूर्ण तरिकाले सत्ता हस्तान्तरण गर्छु भन्नु हास्यास्पद कुरा हो ।” सरकारका काम र राजनीतिक निकासका काममा एमाले बाधक बन्यो भन्ने आरोप छ नि भनेर सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफमा नेता रावलले भने, “प्रदेश प्रमुखहरूको कुनै नाम दिएको छैन, हामीले कसलाई सहमति दिने ? प्रदेशको अस्थायी राजधानीको लागि गृहकार्य गरेको र स्थलगत रिपोर्ट बुझेको समाचार आएका छन् । त्यो कुरा एमालेलाई सरकारले कुनै जानकारी दिएको छैन ।”
अर्को प्रसंगमा उनले वाम गठबन्धनले पार्टी एकताका लागि तीनवटा महत्वपूर्ण काम गरिसकेको बताउँदै छिटै पार्टी एकता हुने जानकारी दिए । अध्यक्ष केपी ओली उपचारका लागि बैंकक जानुअघि नै एकता संयोजन समितिको बैठक बस्ने उनले बताए ।
अब नयाँ सरकार कहिले बन्छ भन्ने प्रश्नमा उपाध्यक्ष रावलले राष्ट्रियसभाको निर्वाचन भइसकेपछि पनि प्रधानमन्त्री शेरबहादुर देउवाले कुर्सी छाडेनन् भने जनताले नै हटाउने तर्क गरे ।