जापानको जीडीपीमा ४० वर्ष यताकै उच्च वृद्धि

जापान– कोरोना महामारीबीच जापानको आर्थिक अवस्थामा ठूलो वृद्धि तथा सुधार आएको छ । जापानी सरकारी अधिकारीहरुका अनुसार पछिल्लो त्रैमासिक अवधिमा देशको कुल गार्हस्थ्य उत्पादन जीडीपीमा ४० वर्षयताकै ठूलो वृद्धि भएको छ ।
सार्वजनिक गरिएको तथ्यांकअनुसार जुलाईदेखि सेप्टेम्बर महिनाको अवधिमा
जापानको जीडीपी २१.४ अंकले वृद्धि भएको छ ।
जापानमा सन् १९८० देखि राख्न थालिएको तुलनात्मक आर्थिक वृद्धिको तथ्यांकयताकै यो उच्च वृद्धि हो । जीडीपीमा आएको यो वृद्धि कोरोना भाइरस महामारीबीच सुधारको एक संकेतको रूपमा हेरिएको छ ।
यो अवधिमा सरकारले पर्यटन क्षेत्रलाई उकास्न सहुलियत, यात्रा तथा बाहिरी
खानपानमा छुटका लागि विशेष सहयोग उपलब्ध गराएको छ । जापानको जीडीपीको आधाभन्दा बढी हिस्सा व्यक्तिगत उपभोगको स्तर यो अवधिमा ४.७ प्रतिशतले बढेको छ ।
यसैगरी अमेरिका र चीनका लागि सवारी साधन र अटो पार्टसको निर्यात वृद्धि हुँदा निर्यात पनि ७ प्रतिशतले बढेको छ । यद्यपि कर्पोरेट पुँजीगत खर्च अझै ३.४ प्रतिशतले घटेको पाइएको छ ।
यसबाहेक आवासीय लगानीमा पनि ७.९ प्रतिशतले गिरावट आएको छ । जापानका आर्थिक तथा पुनारुत्थान मन्त्री निशिमुरा याशुतोसीका अनुसार कोरोना भाइरस संक्रमणमा आएको वृद्धिले पुनः आर्थिक सुधारको लागि गरिएका प्रयासमा संकट थपिदिएको छ । कुल गार्हस्थ्य उत्पादन वृद्धिको नयाँ तथ्यांक सार्वजनिकपछि मन्त्री निशिमुराले कोरोना भाइरस संक्रमण रोकथामसहित आर्थिक सुधार सुनिश्चित गर्न सरकारले निर्णायक कदम चाल्ने बताएका छन् ।