Logo

संकटमा मनाङको गंगापूर्ण ताल

मनाङ-हिमाली जिल्ला मनाङको ङिस्याँङ गाउँपालिका–६ अन्तर्गत ३ हजार ५ सय ४० मिटरको उचाइमा रहेको गंगापूर्ण ताल तिलिचो पछिको पर्यटकीय ताल मानिन्छ । गंगापूर्ण हिमाल, अन्नपूर्ण–४, खाङसार काङ, ग्लेसियर डोमबाट बगेर आएको हिमनदीबाट बनेको तालको तीनभाग मध्ये आधा भन्दा बढी भाग हराइसकेको छ ।
मनाङको पर्यटकिय सम्पदा गंगापूर्ण ताल हिमपहिरोले साँघुरिदै गएपछि सरोकारवालाहरूले चिन्ता व्यक्त गरेका छन् । हिमनदी बग्ने क्रम बढेपछि त्यसले बगाएको बालुवा र माटोले ताल पुरि“दै गएको र बर्सेनि ताल पुरिने क्रम बढेको हो ।
पछिल्लो दुईदशकको अवधीमा तालको आधाभन्दा बढी भाग पुरिएको मनाङका स्थानिय एवं पर्यटन व्यवसायी विनोद गुरुङको भनाई छ । माथिल्लो मनाङसम्म पुग्ने पर्यटकहरूका लागि तिलिचोको प्यास मेटाउने गंगापूर्ण तालको अस्तीत्व जोगाउन सरकारले विशेष चासो दिनुपर्ने पर्यटन व्यवसायी गुरुङको भनाइ छ ।
“धेरै पर्यटक तिलिचो पुग्न आएका हुन्छन्, तर सबैजना तिलिचो पुग्न सक्दैनन्” गुरुङले भने “तिलिचो पुग्न नसक्ने र माथिल्लो मनाङसम्म आएका पर्यटकहरू गंगापूर्ण तालमा रमाएर फर्कने गरेका छन् ।”
विश्वप्रसिद्ध अन्नपूर्ण पदमार्ग अन्तर्गत थोरङला भन्ज्याङ क्रस गर्न आएका पर्यटकहरू पनि गंगापूर्ण तालमा रमाउने गर्दछन् । तिलिचो जाने तथा थोरङला क्रस गर्ने पर्यटकहरूका लागि कम्तीमा एक दिन माथिल्लो मनाङ बस्नुपर्ने हुँदा धेरै पर्यटकहरूले गंगापुर्ण तालमा रमाउने अवसर पाएका छन् ।
मनाङ भएर थोरङ्ग तथा तिलिचो जाने पर्यटकहरूलाई आकर्षण गर्ने सो ताल पछिल्लो समय पुरिँदै गएपछि तालको सौन्दर्यसमेत संकटमा परेको छ । संकटमा पर्दै गएको ताललाई फराकिलो बनाउन र पर्यटकीय संरचना निर्माण गरी थप आकर्षक बनाउन विशेष पहल भइरहेको मनाङका जनप्रतिनिधिहरूले बताएका छन् ।
जिल्लाकै आकर्षक पर्यटकिय गन्तव्य पुरिँदै गएपछि यसको अस्तित्व जोगाउन आवश्यक गुरुयोजना तयार गरीएको प्रतिनिधिसभाका लागि मनाङका साँसद पोल्देन छोपाङ गुरुङले बताए । “अहिले गंगापुर्णको अस्तित्व संकटमा परेको छ” साँसद गुरुङले भने “यसको अस्तित्व जोगाउन र थप आकर्षक बनाउन गुरुयोजना बनाउने तयारी गरेका छौँ ।”
सांसद गुरुङका अनुसार तालको सतहलाई बढाउन आवश्यक बार लगाउने, ताल भित्रको ढुँगा माटोलाई झिक्ने र बाँकी रहेको जमिन बनेको भागलाई अन्य प्रयोजनमा ल्याउने गरी बृहत तयारी भएको छ । ताल पुरिएर मैदान बनेको जमिनको भागलाई सदुपयोग गरी तालकै छेउमा समय समयमा साँगितिक कार्यक्रम गर्न सकिने गरी स्टेज निर्माण गर्ने समेत तयारी भएको छ । सो बाहेक पहिरो झर्ने भागपट्टि पहिरो रोक्ने गरी ठूलो पर्खाल लगाउने र वर्षैपिच्छे सफा गर्न सकिने गरी तालको अस्तित्वलाई जोगाउन बजेट सहितको गुरुयोजना निर्माण गर्न लागिएको सांसद गुरुङको भनाइ छ ।
झन्डै २१ दशमलव ०८ हेक्टर क्षेत्रफलमा फैलिएको अनुमान गरिएको ताल सफा भएको बेला निलो, वर्षायाममा सेतो र हिउँदे याममा हिउँ जम्ने गर्छ । माथिल्लो मनाङबाट करिव १५ मिनेटको हिँडाइ पछि गंगापूर्ण ताल पुग्न सकिन्छ ।
पर्यटकीय आकर्षणसँगै यस्ता तालहरू धार्मिक रुपमा पनि महत्वपूर्ण छन् । बिभिन्न धर्ममा आस्था गर्नेहरू यस्ता तालहरूमा धार्मिक तिर्थको रुपमा पनि पुग्ने गर्दछन् । गंगापुर्ण सहित मनाङमा साना तथा ठूलो गरी ताल, कुुण्ड तथा पोखरीको संख्या ६० भन्दा बढि रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्