१० वर्षमा मुलुक दक्षिण एसियाकै समृद्ध: अर्थमन्त्री «

१० वर्षमा मुलुक दक्षिण एसियाकै समृद्ध: अर्थमन्त्री

अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले १० वर्षमा मुलुक दक्षिण एसियाको समृद्ध मुलुक बन्ने बताएका छन् । शनिबार राजधानीमा पत्रकार चेतन धमलाद्वारा लिखित पुस्तक ‘पौरख’ सार्वजनिक कार्यक्रममा अर्थमन्त्री कार्कीले इमान्दार भएर काम गर्ने हो भने मुलुकको समृद्धि चाँडै हुने बताए ।
“प्रधानमन्त्रीदेखि जनतासम्म सबै इमान्दार भएर काम गर्ने हो भने १० वर्षमा नेपाल दक्षिण एसियाको समृद्ध मुलुक बन्छ,” मन्त्री कार्कीले भने । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमार्फत मुलुकमा राजनीतिक अस्थिरताको अन्त्य भएकाले अब समृद्धितर्फ सबै एक भएर लाग्नुपर्ने बताए । “संविधान कार्यान्वयनका लागि भएका तीन तहको निर्वाचनपश्चात समृद्धिको बाधकका रूपमा हेरिएको राजनीतिक अस्थिरताको अन्त्य भएको छ,” उनले भने, “अब सबै इमान्दार भएर समृद्धिको बाटोतर्फ अघि बढ्नुपर्छ ।” उनले ‘पौरख’बाट धेरैले प्रेरणा लिएर अघि बढ्न सक्ने बताए ।
पत्रकार धमलाको पुस्तक ‘पौरख’ लाई अर्थमन्त्री कार्की, पूर्वमुख्य सचिव डा. विमल कोइराला, पूर्वराज्यमन्त्री धर्मशिला चापागाई, पत्रकार डा. सुरेश आचार्यलगायतले संयुक्त रूपमा विमोचन गरेका थिए ।
पुस्तकमा व्यवसायी, खेलकर्मी, समाजसेवीलगायत २३ जनाको सफलता र संघर्षको कथा समावेश छ । लेखक धमलाले युवा वर्गमा बढ्दो निराशाका बीच आफूले आशा जगाउने उद्देश्यस्वरूप संघर्ष र सफलताको कथा पुस्तकमा उतारेको बताए । “निराशा बढ्दो छ । नेपालमै केही गर्न सकिन्छ भन्ने धेरैलाई लाग्दैन र विदेशिने क्रम बढिरहेको छ,” धमलाले भने, “निराशाका बीच आशा जगाउन संघर्ष गरेर सफल बनेका पात्रहरुको कथा पुस्तकमा उतारेको छु ।” पुस्तकलाई ऐश्वर्य प्रकाशन प्रालिले बजारमा ल्याएको छ ।

प्रतिक्रिया दिनुहोस्