ओलीभन्दा प्रचण्ड प्रधानमन्त्री बन्दा राम्रो : झा «

ओलीभन्दा प्रचण्ड प्रधानमन्त्री बन्दा राम्रो : झा

राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य अनिल झाले मधेशको लागि एमाले अध्यक्ष केपी शर्मा ओलीभन्दा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बन्दा राम्रो हुने बताएका छन् ।
शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा उनले भने, “संघीयता, समावेशी–समानुपातिकको पक्षमा काम गरेको लिडर भनेको प्रचण्ड हो, त्यसैले उहाँ प्रधानमन्त्री बन्दा राम्रो हुन्छ ।”
उनले प्रचण्ड र ओलीमध्ये प्रचण्ड नै उदार नेता भएको पनि विश्वास दिलाए । उनले भने, “प्रचण्ड समावेशी, समानुपातिकमा काम गरेको नेता हो । उहाँ लिवरल हुनुहुन्छ ।” खस, बाहुन र क्षेत्री नेताहरुमध्ये संघीयता र समावेशीताको पक्षमा काम गरेको नेता प्रचण्ड भएको उनको भनाइ थियो ।
त्यस्तै, उनले वर्तमान सरकारलाई सबै अधिकार भएकोले ढिलो नगरी प्रदेश प्रमुख र प्रदेशको अस्थायी राजधानी तोक्नुपर्ने माग गरे । उनले भने, “हामीले त सर्वदलीय बैठकमा पनि भन्यौं– तपाईंको सरकार छ, तपाईंले नै गर्नुहोस् ।” सरकारलाई नै सबैले अधिकार दिएकोले अब तत्काल प्रदेश प्रमुख र अस्थायी राजधानी तोक्नुपर्ने नेता झाको भनाइ थियो ।

बक्स
‘राष्ट्रियसभा निर्वाचनपछि पनि सरकार नछाडे सडकबाट हटाउँछौं’
नेकपा (एमाले)का पोलिटब्युरो सदस्य तथा सांसद लालबाबु पण्डितले अहिलेसम्म पनि प्रदेश प्रमुख र प्रदेशको अस्थायी राजधानीसमेत तोक्न नसक्ने प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने बताएका छन् । राष्ट्रियसभाको निर्वाचनसम्म कुर्ने र त्यसपछि पनि सरकारले राजीनामा गरेर बाटो खुला नगरेको खण्डमा सडकबाटै हटाउने सांसद पण्डितको भनाइ थियो ।
रिपोर्टर्स क्लबको साक्षात्कारमा उनले भने, “हामी निर्वाचनसम्म धैर्य गर्छौं, यदि त्यसपछि पनि उहाँहरु सरकारमै टाँसिरहन चाहनुभयो भने धकेलेर निकालिदिन्छौं ।”
सरकारलाई प्रदेश प्रमुख तोक्न र राजधानी तोक्नको लागि कसैले नरोकेको उल्लेख गर्दै नेता पण्डितले भने, “सरकारले नतोकिरहेको एउटा स्थिति छ । यदि सरकार तोक्न सक्ने हैसियतमा छैन भन्ने हो भने सरकार छोड्नुप¥यो । सरकार बनेको पहिलो हप्तामा हामी प्रदेशको अस्थायी राजधानी तोकिदिन्छौं । अहिले देखिएका सबै असहमतिहरु समाप्त भएर जान्छन् ।”
प्रदेश नम्बर १ को राजधानी सबै हिसाबले बृहत्तर विराटनगरलाई नै बनाउनुपर्नेमा उनको जोड थियो । उनले भने, “विराटनगर महानगरपालिकादेखि लिएर, ईटहरी उपमहानगरपालिका, दुहवी, सुन्दरहरैचाका ७ वटा वडा बनाएर बृहत्तर विराटनगर नामकरण गरेर प्रदेशको राजधानी तोकियो भने सबैभन्दा राम्रो हुन्छ ।”

प्रतिक्रिया दिनुहोस्