Logo

डडेल्धुरामा पर्यटकीय सम्भवाना

डडेल्धुरा जिल्ला सुदूरपश्चिम प्रदेशकै ऐतिहासिक तथा धार्मिक पर्यटकीय क्षेत्र रहेको जिल्ला हो । जिल्लामा दर्जनौ धार्मिक तथा ऐतिहासिक महत्व बोकेका धार्मिक पर्यटकीय क्षेत्रहरु रहेका छन् ।
जिल्लामा देशकै शक्तिपिठ मध्येको एक उग्रतारा मन्दिर, घटाल थान यसैगरी पर्शुरामधाम क्षेत्र रहेका छन् भने ऐतिहासिक पर्यटकीय क्षेत्रमा अमरगढी किल्ला र अजयमेरु कोट रहेको छ । सुदूरपश्चिम प्रदेशका अन्य पहाडी जिल्लासहित तराइका दुई जिल्लाको प्रमुख केन्द्रका रुपमा रहेको डडेल्धुरा जिल्लामा रहेका धार्मिक तथा ऐतिहासिक पर्यटकीय सम्भावना बोकेका क्षेत्रको विकासका लागि सुदूरपश्चिम प्रदेश सरकारले विभिन्न काम समेत गर्दै आएको छ ।
जिल्लाको अमरगढी नगरपालिका ८ स्थित उग्रतारा मन्दिरको विकासका लागि सुदूरपश्चिम प्रदेश सरकारले दुई वर्षको अवधीमा ६० लाख रुपैयाँ विनियोजना गरेको छ । उग्रतारा मन्दिरको विकासका लागि बनाइएको गुरुयोजनाको कार्यान्वयनका लागि गत आर्थिक वर्ष २० लाख रुपैयाँ विनियोजना गरेको थियो । चालु आर्थिक वर्षका लागि ४० लाख रुपैयाँ विनियोजन गरेको छ ।
सुदूरपश्चिम प्रदेश सरकारले विनियोजन गरेको रकमबाट उग्रतारा मन्दिर परिसरमा भौतिक पूर्वाधारका काम भइरहेको उग्रतारा क्षेत्र विकास समितिका अध्यक्ष तेजवहादुर शाँकीले बताए । जिल्लाको पर्शुराम नगरपालिकामा रहेको पर्शुराम धामको विकास गर्ने उद्देश्यले विभिन्न किसिमका भौतिक पूर्वाधार निर्माण भइरहेको छ ।
सुदूरपश्चिम प्रदेश सरकारकै समन्वयमा संघीय सरकारको आर्थिक सहयोगमा पर्शुराम धाम क्षेत्रमा धर्मशाला बनाउने, शौचालय बनाउने, विभिन्न देवी देवताका मठ मन्दिर र भगवान पर्शुरामको मुर्ति बनाउने काम भइरहेको छ ।
यसैगरी अमरगढी नगरपालिकामा रहेको घटाल मन्दिर क्षेत्रमा पनि गुरुयोजना अनुसार विकास निर्माणको काम भइरहेको छ । जिल्लामा पर्यटकीय सम्भवाना बोकेका क्षेत्र भएपनि पर्याप्त रुपमा प्रचार प्रसारका साथै भौतिक पूर्वाधारको विकास हुन नसक्दा पर्यटकीय क्षेत्र ओझेलमा परेको होटेल व्यवसायी संघ डडेल्धुराका उपाध्यक्ष दान भण्डारीले बताए ।

प्रतिक्रिया दिनुहोस्