पीपीएलमा ४ देशका १२ विदेशी खेलाडी «

पीपीएलमा ४ देशका १२ विदेशी खेलाडी

पोखरा-पोखरामा जारी पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेटमा ४ देशका १२ जना खेलाडी सहभागी भएका छन् । भारत, यूएई, पाकिस्तान र इङ्ल्याण्डका खेलाडी पीपीएलमा खेलिरहेका छन् ।
पोखरा रंगशालामा भइरहेको पीपीएल क्रिकेट प्रतियोगितामा ६ वटा टिममा २-२ जनाका दरले विदेशी खेलाडीले अवसर पाएका हुन् । प्रतियोगितामा हरेक टिममा कम्तिमा १ जना र बढीमा २ जना विदेशी खेलाडी राख्न पाउने नियम छ । घरेलु टोली पोखरा पल्टनले यूएईका १ र भारतका १ जना खेलाडी भित्र्याएको छ । शरद भेषवाकर नेतृत्वको पोखरा पल्टनले यूएईका मोहम्मद नाबिद र भारत पञ्जावका रवि इन्दर सिंहलाई भित्र्याएको हो ।
प्रतियोगितामा काठमाडौं रोयल्सले भारतका २ खेलाडी भित्र्याएको छ । ज्ञानेन्द्र मल्ल नेतृत्वको काठमाडौं रोयल्सले भारतका जे कोल्सावाल र गौरव टोमरलाई अनुबन्ध गरेको हो । विराटनगर टाइटन्सले भारत र पाकिस्तानका १÷१ जना खेलाडी भित्र्याएको छ । युवा तथा चर्चित खेलाडी सन्दीप लामिछानेको टिम विराटनगर टाइटन्सले भारतका एन्टन एन्ड्रयू सुविक्सन महेश्वरन र पाकिस्तानका मोहम्मद जैद आलमलाई भित्र्याएको छ ।
चितवन राइनोजले भारतका २ खेलाडी टिममा समावेश गरेको छ । पारस खड्का नेतृत्वको चितवनले भारतका सन्नी पटेल र स्मित पटेललाई अनुबन्ध गरेको हो । त्यस्तै धनगढी ब्लुजले पनि २ विदेशी खेलाडी भित्र्याएको छ । दीपेन्द्रसिंह ऐरी नेतृत्वको धनगढीले इङ्ल्याण्डका ड्यानिअल विलियम लोरेन्स र पिटर डेभिड ट्रेगोलाई टिममा समावेश गरेको हो ।
त्यसैगरी बुटवल ब्लास्टर्सले यूएईका २ खेलाडी भित्र्याएको छ । सोमपाल कामी नेतृत्वको बुटवल ब्लास्टर्सले यूएईका रोहन मुस्ताफा र चिराग सुरीलाई समावेश गरेको हो ।
प्रतियोगितामा समावेश विदेशी खेलाडीलाई टिमले महत्वका साथ मैदानमा उतार्ने गरेका छन् । टिममा विदेशी खेलाडी समावेश भएपछि नेपाली खेलाडीले विदेशी खेलाडीसँग खेल्ने र उनीहरुबाट सिक्ने अवसरसमेत पाएका छन् ।
आज (बुधबार) लिग चरणका दुई खेल हुनेछन् । पहिलो खेल बिहान ९ बजे चितवन र धनगढीबीच हुनेछ भने दोश्रो खेलमा विराटनगर र बुटवलबीच हुनेछ । चितवनले हालसम्म कुनै अंक जोड्न सकेको छैन भने धनगढीले २ अंक जोडेको छ । विराटनगरले पनि हालसम्म अंक जोड्न सकेको छैन भने बुटवलले हालसम्म ४ अंक जोडेको छ ।
लिग चरणका ७ वटा खेलबाट आफूहरु सन्तुष्ट भएको आयोजक क्विन्स इभेन्टका प्रबन्ध निर्देशक छुम्बी लामाले बताए । मौसमले गर्दा पनि पोखराको क्रिकेट क्रेजलाई विश्वसामु पहिचान गराएको उनले दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्