Logo

कोभिड–१९ र अबको पुँजीबजार

–रोशम दाहाल

अहिलेको एक्काइसौं शताब्दीमा मानिस यति व्यस्त छन् कि आफ्नो परिवारलाई समेत उचित समय र ध्यान दिन सकिरहेका छैनन् । यसै बेला सन् २०१९ को अन्त्यतिर चीनको वुहान सहरबाट देखा परेको नोबेल कोरोना भाइरस विश्वभरि यसरी फैलिएर गयो कि करोडौं मानिस संक्रमित भए र लाखौं मानिसको मृत्यु भयो । मानिसदेखि मानिस डराउने अवस्था आउन थाल्यो । सारा विश्वमा बजार, उद्योग, कलकारखानालगायत सम्पूर्ण व्यवसाय ठप्प हुन पुग्यो । कोभिड–१९ ले कालो–गोरो, धनी–गरिब, ठूलो–सानो भनेर भेदभाव कसैलाई गरेन । सबै वर्ग र समुदायका व्यक्ति संक्रमित हुने यस कोभिड–१९ रोगको प्रभाव नेपालमा समेत देखा प-यो ।
विश्वका अरू देशमा कोभिड–१९ देखा परेपछि र नेपालमा समेत संक्रमित देखा पर्न थालेपछि सरकारले प्रभावकारी कदम चाल्यो र लकडाउन गर्ने निर्णय ग-यो । जब नेपालमा लकडाउन गर्नुपर्ने भयो, अर्थतन्त्र जुन ढंगले चलायमान हुनुपर्ने हो, नेपालको अर्थतन्त्र चलायमान हुन सकेन ।
सम्पूर्ण सरकारी तथा गैरसरकारी संघसंस्था ठप्प हुन पुग्यो । कार्यालय ठप्प भएर कर्मचारीले तलब तथा पारिश्रमिक पाउन सकेनन् । कर्मचारीको आयस्रोत ठप्प भएकाले सरकारलाई कर तिर्न सकेनन् । कोभिड–१९ देखा परेपछिको लकडाउन र लकडाउनको प्रभाव पुँजीबजारमा पहिलो चरणमा यसरी देखा पर्न थाल्यो, एकातिर कार्यालय र दैनिक काम ठप्प भएकाले कर्मचारीको आयस्रोत ठप्प भयो भने अर्कातर्फ सरकारले समेत नागरिकबाट कर नपाएर सरकारको समेत आयस्रोत ठप्प हुन पुग्यो । यस्तै प्रभाव समाजका अन्य वर्ग र पेसामा समेत देखियो ।
संक्रमितको संख्या बढ्दै गएकाले सम्पूर्ण व्यापार–व्यवसाय ठप्प भयो । सर्वसाधारण सामान किनमेल गर्न बजार जान पाएनन् । व्यापारीले समेत वस्तु तथा सेवा सर्वसाधारणलाई उपलब्ध गराउन सकेनन् । आफ्नो व्यवसाय ठप्प भएकाले व्यापारीले सरकारलाई कर बुझाउन पाएनन् । व्यापारी मात्रै नभएर कोभिड–१९ को प्रभाव शिक्षा क्षेत्रमा पनि देखियो ।
कोभिड–१९ को बढ्दो संक्रमितको संख्याका कारण शैक्षिक संस्थासमेत ठप्प भयो । सर्वसाधारणको व्यवसाय र संस्थासमेत ठप्प भएकाले स्कुल तथा कलेजहरूलाई शैक्षिक शुल्क बुझाउन पाएनन् र स्कुल तथा कलेजहरूले समेत शिक्षा सेवा प्रदान गर्न पाएनन् । स्कुल–कलेजहरूको आयस्रोत समेत ठप्प भएकाले सरकारलाई कर बुझाउन पाएनन् । राष्ट्रिय स्तरका सम्पूर्ण परीक्षासमेत स्थगित हुन पुग्यो । शैक्षिक क्षेत्रले समेत कोभिड–१९ को ठूलो धक्का महसुस गरेको छ । नेपाली पुंजीबजार उकालो र ओरालो लाग्ने कुराको निर्धारण अर्थतन्त्रको चलायमानताले गरेको छ । नेपालको अर्थतन्त्र चलायमानता सामान्य अवस्थामा जति हुने गरेको थियो, अहिले अत्यन्त न्यून भएकाले पुंजी बजार निकै ओरालो लागेको छ ।
नेपालको अर्थतन्त्रको अहिलेको मेरुदण्ड रेमिट्यान्समा समेत यस कोभिड–१९ को प्रभाव देखा परेको छ । वैदेशिक रोजगारीमा गएका हजारौं नेपाली नागरिकको रोजगारीसमेत गुमेको अवस्थामा रेमिट्यान्ससमेत अन्य वर्षभन्दा यस वर्ष अत्यन्त न्यून छ ।
नेपालमा सांस्कृतिक तथा सामाजिक रूपमा समेत कोभिड–१९ को प्रभाव देखा परेको छ । मानिसलाई सामाजिक हुनबाट समेत यस नोबेल कोरोना भाइरस अर्थात् कोभिड–१९ ले वञ्चित गरेको छ । चाडपर्व र सांस्कृतिक परम्परालगायत जात्रा मनाउँदासमेत संक्रमित भइने डर र त्रास यथावत् छ ।
अहिलेको ओरालो झरेको पुँजीबजार उकालो लगाउन सरकारले कृषि क्षेत्र सम्बन्धित अत्यधिक उद्योग तथा कलकारखाना र अन्य दैनिक उपभोग्य वस्तुसमेत स्वदेशमा उत्पादन नीति बनाउन जरुरी देखिन्छ । देशमा अत्यधिक उद्योग स्थापना हुनाले रोजगारी वृद्धि हुन्छ र उत्पादनमा समेत वृद्धि गराउन मद्दत गर्छ । जब उत्पादनमा वृद्धि हुन्छ, आयात दर न्यून हुन्छ र हामी आफ्नै देशमा उत्पादित वस्तु अन्य देशमा समेत निर्यात गर्न सक्ने अवस्थामा पुग्छौं र करसमेत वृद्धि हुन पुग्छ । समग्रमा नेपाली पुँजीबजारमा उद्योग क्षेत्रमा लगानी गर्नेको संख्या वृद्धि हुने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्