सतर्कता अपनाउँदै आयात–निर्यात गर्नुपर्छ «

सतर्कता अपनाउँदै आयात–निर्यात गर्नुपर्छ

कोरोना भाइरसको जोखिम बढेसँगै देशमा २०७६ चैत ११ गतेबाट पूर्ण रूपमा लकडाउन घोषणा भयो । लकडाउनका कारण देशभित्र आर्थिकलगायत सामाजिक सबै क्षेत्र प्रभावित हुन पुग्यो । अन्तर्राष्ट्रिय रूपमा हुने आयात–निर्यात पनि पूर्ण रूपमा प्रभावित भयो । चैत, वैशाख, जेठ र असार महिनामा आयात–निर्यात बढी प्रभावित भयो । अहिले पूर्ववत् अवस्थामा आयात–निर्यात आउन थाले पनि समस्या अझै पनि तेस्रो मुलुकबाट हुने आयातमा समस्या रहेको छ । त्यसैगरी भारतमा दिनहुँ हजारौँ संक्रमित बढिरहँदा त्यहाँ जोखिम बढी छ भने सीमामा रहेर आयात–निर्यातमा सहजीकरण गर्ने भन्सार एजेन्टहरूले पनि जोखिम बहन गर्दै काम गरेको अवस्था छ । प्रस्तुत छ, यसै विषयमा केन्द्रित रहेर उद्योगी–व्यवसायीलगायत सरोकारवालासँग कारोबारकर्मी मनोरञ्जन शर्माले गरेको कुराकानी :

तेस्रो मुलुकबाट सामान आयातमा समस्या
राजेशकुमार अग्रवाल
केन्द्रीय सदस्य
नेपाल उद्योग वाणिज्य महासंघ

कोभिड–१९ लगत्तै पूरै विश्व अर्थबजार खुम्चिन पुग्यो । यसबाट सबै प्रभावित हुन पुगे, ठूला–साना सबै प्रकृतिका उद्योग–व्यवसाय पूर्णतः प्रभावित भए । अहिले पनि यसको प्रभाव परिरहेको छ र अझै कतिसम्म कोरोनाको कालो बादल मडारिरहन्छ, कसैलाई थाहा छैन ।
आन्तरिक उद्योग–व्यवसाय मात्र होइन, भारत तथा तेस्रो मुलुकबाट हुने आयात–निर्यातसमेत पूर्णतः प्रभावित भएको छ र यसको प्रभाव अझै निरन्तर छ । तेस्रो मुलुकको तुलनामा भारतबाट सामान तथा कच्चा पदार्थ आयातमा केही सहज छ भने तेस्रो मुलुकबाट आयात गर्दा समय बढी लाग्ने भएको छ । पहिला दुई महिनामा आउने सामान अहिले कम्तीमा चार महिना लाग्ने गरेको छ ।
मेरै गु्रपअन्तर्गतको तेल प्रशोधन उद्योगमा आवश्यक कच्चा पदार्थ क्यानडालगायतका मुलुकबाट आउँछ । तर, पहिला त्यहाँबाट हिँडेपछि दुई महिनाभित्रै उद्योगमा आई पुग्नेमा अहिले कम्तीमा चार महिना लाग्दै आएको छ । यसले गर्दा कच्चा सामान आउने समय बढेको छ । दुई महिनाभित्रै तयार हुने वस्तु अब चार महिनामा तयार हुँदैछ, समय बढी लाग्ने भएकाले बढी कच्चा सामान एकैपटक मगाउनुपर्ने बाध्यता छ । चार महिनापछिको बजार के हुन्छ, कसैलाई थाहा छैन । रिस्क फ्याक्टर बढी छ । चार गुना लगानी थप्नुपरेको छ । बजार खुम्चेको छ । विदेशबाट, जसलाई सिसिपंग गरेर ल्याइन्छ, त्यस्ता वस्तु तथा कच्चापदार्थ आयातमा धेरै समस्या छ । त्यस्तै पहिला सहज रूपमा जहाज पाइनेमा अहिले पाइँदैन । पहिला सामान आयातमा १५-१५ दिनमा छुट्ने जहाज अहिले १÷१ महिनामा छुटेका छन् । जहाज सिंगै बुक गरेर दिनहुँ सामान ल्याउने हैसियत हाम्रो छैन । पहिला आयात बढी हुन्थ्यो, जहाज छिटो भरिन्थ्यो, अहिले कम आयात छ, ढिलो भरिन्छ, ढिलो छुट्छ, त्यसको प्रभाव यहाँ नेपाली बजारमा छ । हामी बजार बचाउन बढी कच्चा सामग्री एकैसाथ ल्याउनुपर्ने बाध्यता अहिले छ ।
कोलकाता बन्दरगाहमा सामान आएर पनि पहिलाजस्तो सहज रूपमा काम हुँदैन, बार तोकेर काम हुन्छ । कहिले बन्दरगाहको बैंकमा काम हुँदैन, कहिले बार मिल्दैन । कहिले कोरोना जोखिम बढेको भनेर बन्द हुन्छ । डकुमेन्ट प्रोसेस एक दम ढिलो छ ।
तेस्रो मुलुकको तुलनामा भारतबाट भने आयातमा त्यस्तो केही कठिनाइ छैन । तयारी सामान तथा कच्चा पदार्थ सहज रूपमा आइरहेका छन् । तर, ती सामान ल्याउने ढुवानीका साधनहरू नेपाल प्रवेश गरेपछि भने विभिन्न बहानामा रोकिने गरेको छ । आन्तरिक व्यवसायको कुरा गर्दा, हाम्रो अर्घाखाँची सिमेन्ट उद्योग प्रालिको हाम्रै चुनढुंगा खानीबाट चुनढुंगालगायतका कच्चा पदार्थ ल्याउन रोक लगाइएको छ, जसका कारणले गर्दा क्लिन्कर आयात शून्यमा झरिसकेको हाम्रो देश अहिले नचाहँदा–नचाहँदै पनि भारतबाट क्लिन्कर आयात गरी ल्याउनुपर्ने बाध्यतामा छ । पाल्पाको चुनढुंगा प्रयोग हुँदा अहिले कोरोना भाइरस संक्रमण र जोखिम बढ्छ भनेर रोक लगाइएको छ । तर, भारतबाट निर्वाध रूपमा क्लिङ्कर आयात हुँदा कोरोना नलाग्ने, हाम्रै देशको हाम्रै खानीबाट चुनढुंगा ल्याउँदा कोरोना लाग्ने यो कस्तो विडम्बना हो ! हामी कहिलेसम्म कोरोना भन्दै डराएर बस्ने ?
यी त उदाहरणमात्रै हुन् मैले भोगेका, मजस्ता हजारौं व्यवसायी अहिले यस्तै समस्यासँग जुझ्दै व्यापार–व्यवसायलाई कसरी सहज रूपमा अघि बढाउन सकिन्छ भन्नेमा लागेका छन् । तर, सरकारले हामीहरूका समस्या खासै बुझेको जस्तो लागेको छैन । सरकारले सहजीकरण गरिदिए मात्रै ठूलो काम हुन्थ्यो । निर्यात पनि एकदम घटेको अवस्था छ । हामीले भारतमा जुत्ताको सोल निर्यात गर्दै आएका थियौं , त्यो अहिले घटेर ३०-४० प्रतिशतमा झरेको छ । मुख्य समस्या अहिले कोरोना भाइरसको प्रभावले गर्दा आम सर्वसाधारणको खर्च गर्न सक्ने क्षमता (क्रयशक्ति) एकदमै घटेको छ । धेरैले रोजगारी गुमाएका छन् । खर्च गर्ने शक्ति नहुँदा बजार व्यवसाय फस्टाउने कुरै भएन । यसैले प्रत्यक्ष प्रभाव आयात–निर्यातमा पनि देखिएको छ । स्वास्थ्य सतर्कता अपनाएर आयात–निर्यात गर्नुपर्ने कहिलेसम्म हो ?

सरकारको ध्यान राजस्वतर्फ मात्रै
असीम न्यौपाने
अध्यक्ष
भन्सार एजेन्ट संघ, रूपन्देही

अहिले सरकारको ध्यान स्वास्थ्य सतर्कता अपनाएर आयात–निर्यात तथा भन्सारबाट हुने काम गराउनु प्राथमिकता भए पनि मुख्य ध्यान कसरी बढी राजस्व संकलन गर्न सकिन्छ भन्नेतर्फ मात्रै केन्द्रित छ । भन्सारमार्फत हुने आयात–निर्यातका क्रममा अहिले पनि कोरोना भाइरस संक्रमणको जोखिम उत्तिकै छ । भारतबाट आउने एजेन्टहरू निर्वाध आइरहेछन्, मालवाहक सवारीमा आउने चालक सहचालकका कारण पनि जोखिम छ । तर, त्यसतर्फ भन्सार प्रशासनले कुनै चासो देखाएको छैन, स्वास्थ्यभन्दा राजस्व संकलनलाई बढी प्राथमिकता दिएको पाइन्छ । पहिला आयातका काम गर्दा बैंकहरू बन्द हुनु र खुले पनि सीमित समयका लागि खोलिनुजस्ता कारणले समस्या बढी थियो । अहिले विस्तारै समस्या हटेको छ, तर जोखिम झन्–झन् बढेको छ ।
आयात भएर आएका मालबाहक ट्रकहरूलाई नेपालका विभिन्न स्थानमा पठाउँदा अनावश्यक दुःख दिने, कोरोना भाइरस बोकेर भारतीय ट्रक आयो भनेर बाटोमा रोकिने समस्या अहिले पनि छ । पहिला दुई दिनमा टाढा–टाढासम्म पनि ढुवानीका साधन सजिलै पुग्थे भने अहिले बढी दिन लाग्ने गरेको छ ।
अहिले कोभिडको समस्या देखिएको बेलामा राज्यले आयात–निर्यात गर्दा र नेपालमा भारतबाट सामान लिएर आउने मालवाहक ट्रकलगायतका साधनहरूले गर्दा प्रस्ट नीति आउन सकेन, जसले गर्दा समस्या छ । आयात–निर्यातमा काम गर्ने भन्सार एजेन्टहरू कोरोनाको कारणले गर्दा स्वास्थ्यका दृष्टिले असुरक्षित छन्, तर पनि राज्यलाई संकट परेका बेला मैदानबाट भाग्नु हुँदैन भनेर आफ्नो स्वास्थ्यलाई जोखिममा राखेर भए पनि काम गरिरहेका छौं । राज्यले हाम्रो पीसीआर परीक्षण गराउनु आवश्यक छ समेत भन्न सकेको छैन, हामीमध्ये कोही बिरामी भयौं भने भन्सारको पूरै आयात–निर्यात ठप्प हुन्छ ।
अहिले पनि सीमापारि महामारीको अवस्था छ । तर, हाम्रोतिर केही नभएको जस्तै एकदम सहज छ, खुला छ । सरकारले राजस्व–राजस्व भनिरहेको छ, त्यसैले जस्तो प्रकृतिको सामान पनि सहज रूपमा आइरहेको अवस्था छ, अझै पनि हामी भन्छौं, अत्यावश्यक वस्तुहरू मात्र आयात गरौं, अरू रोकौं । तर, कसले सुन्छ र कुरा ? साधन कम आए राजस्व घट्छ भन्ने मात्र छ । ढुवानी पूर्ववत् छ, आयातमा कुनै समस्या छैन । अहिले मालबाहक ट्रकका लाइन सुनौलीबाट १५–२० किमि टाढासम्म छ । भन्सार यार्डमा स्थान अभाव छ । आयात–निर्यातलाई अलि सरलीकरण गर्नु अहिलेको आवश्यकता हो । स्वास्थ्य मापदण्ड अपनाएर कोरोना भाइरसबाट बच्दै आयात–निर्यातलाई प्रभावकारी रूपमा अघि बढाउनुपर्छ ।

लकडाउनपछि आयात–निर्यात राम्रो
कमलप्रसाद भट्टराई
प्रमुख भन्सार अधिकृत
भैरहवा भन्सार कार्यालय

भैरहवा नाका हुँदै हुने आयात–निर्यात अहिले पूर्ववत् अवस्थामा आएको छ । साउन र भदौ महिनामा भन्सार विभागले दिएको लक्ष्यलाई लगभग पूरा गरेको अवस्था रह्यो ।
भैरहवा भन्सार कार्यालयले हरेक आर्थिक वर्षमा जस्तै यस वर्ष पनि आफ्नो लक्ष्य राखेको थियो । आर्थिक वर्ष २०७६-७७ मा १ खर्ब ६ अर्ब उठाउने लक्ष्य रहेकोमा त्यो लक्ष्यलाई चैत ११ देखिको लकडाउनले प्रभावित गरायो । चैतअघि जुन अनुपातमा आयात–निर्यात हुन्थ्यो, त्यो ७० प्रतिशतले घट्न गयो । चैतदेखि असार मसान्तसम्म चार महिनाको लक्ष्य ३४ अर्ब ८३ करोड थियो । चैत ११ गतेदेखि देशमा लगाइएको लकडाउनका कारण आयात घट्न गयो । सो चार महिनामा ११ अर्ब ५७ करोड ९३ लाख मात्र राजस्व संकलन भयो । चैत महिनामा लक्ष्यको ३३.८६ प्रतिशतमात्रै राजस्व संकलन भएको थियो । २०७७ वैशाख महिनामा लक्ष्यको १३.६२ प्रतिशत, जेठ महिनामा लक्ष्यको ३२.०३ प्रतिशत र असार महिनामा लक्ष्यको लक्ष्यको ५२.८८ प्रतिशतमात्रै राजस्व संकलन भएको अवस्था थियो । अन्तिम चार महिनामा पूर्ण रूपमा प्रभावित रह्यो । लक्ष्य पूरा हुन नसक्नुको मुख्य कारण आयातमा कमी आउनु हो । चैत ११ देखि वैशाख अन्त्यसम्म नै निकै कम आयात भएकोमा त्यसपछि भने क्रमशः राजस्व संकलन बढ्दै गएको छ । आव ०७७÷७८ का लागि वार्षिक राजस्व लक्ष्य ९८ अर्ब ४५ लाख ४२ हजार राखिएको छ । अहिलेसम्म राजस्व संकलन राम्रो छ । अब चाडबाड सुरु हुन लाग्यो र आयात पनि अझै बढ्ने छ ।
गत वर्षको तुलनामा अहिले पनि धेरै राजस्व बुझाउने सवारी साधनको आयात भने गत वर्षको तुलनामा न्यून रहेको छ । तुलनात्मक रूपमा हेर्दा सवारी साधन, फलाम, मार्बल, प्लास्टिक, सिट-बेल्ट, मोटरसाइकलजस्ता सामानको आयात गत आर्थिक वर्षभन्दा घटेको छ ।
सिमेन्ट क्लिङ्कर, पोलिथिन दाना, हरियो तरकारी (आलु, प्याज), भटमासको कच्चा तेल, चियालगायतका सामान गत साउनमा भन्दा बढी आयात भएका छन् । प्रशोधित सोयाबिन तेल, जडीबुटी, सिमेन्ट बोरा, धागो तथा फुटेका सिसाजस्ता वस्तु निर्यात भएका पनि छन् ।
जुन कुल व्यापार रकमको २० प्रतिशत मात्रै रहेको देखिन्छ । भैरहवा राजस्व कार्यालयको राजस्व संकलन लकडाउनका कारण केही घटेको भए तापनि आयात क्रमशः बढ्दै गएको देख्न सकिन्छ । सामान्य अवस्थाको तुलनामा करिब ८५ प्रतिशतसम्म पुगेको छ ।
आयात–निर्यातमा त्यस्तो कुनै समस्या अहिलेसम्म छैन । लकडाउनको सुरुवाती महिनामा दैनिक अत्यावश्यक वस्तुहरू मात्र आयात भएका थिए । उद्योग–कलकारखाना बन्द हुँदा औद्योगिक कच्चा पदार्थ आयात ठप्प थियो । तेस्रो मुलुकबाट हुने आयातमा पनि समय अलि बढी लाग्ने गथ्र्यो, यद्यपि अहिले पनि समय केही बढी लाग्ने गरेको पाइएको छ । यो उतैको समस्या हो, जुन अनुपातमा पहिला सामान तेस्रो मुलुकबाट छिटो आउँथ्यो, अहिले ढिलो देखिन्छ । विस्तारै आयात–निर्यात पहिलाकै पूर्ववत् अवस्थामा आउनेछ भन्नेमा हामी विश्वस्त छौं ।

प्रतिक्रिया दिनुहोस्