वैदेशिक व्यापार विस्तारमा समस्या

बेला–बेलामा हुने प्राकृतिक प्रकोप तथा हालैको विश्वव्यापी कोरोना भाइरस संक्रमणका कारण नेपालले सिमानामा कडाइ गरे पनि व्यापारका लागि भने निश्चित भन्सार तोकेरै सहजीकरण गर्न खोजेको छ ।
पछिल्ला वर्षहरूमा नेपालले आफ्ना दुई छिमेकीसँगको व्यापार प्रवद्र्धन गर्न जोड दिँदै आएको छ, तर पनि नेपाल–चीन तथा नेपाल–भारतको सिमानामा पूर्वाधारको दुरवस्थाका कारण नेपालको व्यापार खर्च तथा समय पनि नष्ट भइरहेको छ । यसका साथै, सिमानामा पूर्वाधारलगायत विविध असहजताका कारण अवैध व्यापार पनि बढ्दो छ । एकातिर नेपाल–भारतबीच लामो खुला सिमाना छ भने अर्कातिर नेपाल–चीनबीच जम्मा दुईमात्र औपचारिक व्यापारिक नाका सञ्चालनमा छन् । बेला–बेलामा हुने प्राकृतिक प्रकोप तथा हालैको विश्वव्यापी कोरोना भाइरस संक्रमणका कारण नेपालले सिमानामा कडाइ गरे पनि व्यापारका लागि भने निश्चित भन्सार तोकेरै सहजीकरण गर्न खोजेको छ । तर, चीनतिरको तातोपानीसँगै र रसुवागढी नाका दुवैमा समस्या रहेका कारण नेपाली व्यापारीहरूले पछिल्ला दिनमा समस्या भोगिरहेका छन् । दसैंजस्तो ठूलो चाडपर्वका लागि ल्याएको सामान चीनतर्फको नाकामा नै अड्केपछि व्यापारीहरूले नेपाली तथा चिनियाँ सरकारलाई गुहारेका थिए । फलस्वरूप नेपाल र चीनका अधिकारीहरूबीच तातोपानीसँगै र रसुवागढी नाका पनि खुलाउने सहमतिचाहिँ भएको छ । नेपाल–चीन व्यापार संयुक्त कार्यदलको मंगलबार अनलाइनमार्फत भएको बैठकले सहमति गरेको हुनाले दुई नाका सुचारुसहित दुवै पक्षबीच व्यापार विस्तार गर्नका लागि पूर्वाधार निर्माण तथा सहजीकरण गर्ने सहमति पनि भएको जनाइएको छ । तर, नेपालका लागि अन्तर्राष्ट्रिय व्यापारका लागि समुद्रसम्मको पहुँच नभएको एवं दुवै छिमेकीतर्फका नाकामा बेलाबेलामा आउने पूर्वाधारबाहेक पनि भन्सार तथा गैरभन्सारजन्य समस्याले नेपालको वैदेशिक व्यापारलाई विस्तार हुनबाट रोकिरहेको छ ।
यसै सेरोफेरोमा नेपाल तथा चीनबीच धेरै नै तामझामका बीच भएको पारवहन तथा ढुवानी सम्झौता पनि नेपालको चासो कम भएका कारण कार्यान्वयनमा ल्याउन समस्या देखिएको छ । तर, सरकारले नेपाल र चीनबीच पारवहन तथा ढुवानी सम्झौता कार्यान्वयनसहित दुई देशबीचको व्यापारलाई सहजीकरण गराउने विषयमा छलफल भएको बताएको छ । नेपाल–चीनबीच व्यापार सहजीकरण गराउन रसुवाको टिमुरेस्थित सीमा जाँच स्टेसन÷सुक्खा बन्दरगाह निर्माण कार्य अगाडि बढाउने, १ सय ८८ वटा वनस्पति, मासुजन्य र अन्य खाद्य पदार्थको चीनको भन्सार प्रशासनमा नेपालबाट आयात हुने वस्तुको सूचीमा सूचीकृत गर्ने लगायतका विषयमा पनि छलफल भएको सरकारले बताए तापनि नेपालले चीनबाट व्यापारमा फाइदा लिन नसकेकै हो । यसमा दुईमत छैन । नेपालबाट चीनमा निकासी गरिने खाद्य वस्तुहरूमा लेबलिङ गर्ने, नेपालमा चिनियाँ लगानी र व्यापारका लागि वातावरण विकास गर्ने, स्याफ्रुबेसी–रसुवा सडक मर्मत सम्भार र स्तरोन्नति गर्ने विषयमा सदाझैं छलफल भएको बताए तापनि पछिल्ला एक दशकदेखि यी मुद्दाहरूको समाधान भएको पनि छैन र सरकारले वार्ता गर्न छाडेको पनि छैन । काठमाडौंस्थित चिनियाँ राजदूतावासले रसुवा र तातोपानी नाका खुलाउने निर्णय गरेको भए तापनि रसुवागढी नाका चार दिनअघि चिनियाँ भूभागमा आएको पहिरोका कारण सहज भएको छैन ।
तरै पनि नेपाल चीनबीचको प्रमुख व्यापारिक नाका तातोपानी आउँदो सोमबारबाट खुल्ने बताइएको छ । नेपालमा कोरोना भाइरसको संक्रमण तीव्र रूपमा बढेको र तातोपानी नाकासम्म पुग्ने सडकमा पहिरो जाने क्रम बढेपछि बन्द रहेको यो नाका नेपाली पक्षको प्रयासपछि बल्ल सुचारु हुन लागेको सरकारले बताएको छ । तातोपानी नाका २०७२ को विनाशकारी भूकम्पले बन्द गराएपछि देखि नै सहज रूपमा सञ्चालन हुन सकेको छैन । २०७२ मा बन्द भएको यो नाका २०७६ जेठमा खुले पनि फागुनमै फेरि बन्द भयो । चीनमा देखिएको कोरोना भाइरस संक्रमणका कारण बन्द गरिएको नाका स्वास्थ्य सामग्री ल्याउँदा खुलाइएको थियो । पछि तातोपानीबाट सबै खाले सामग्री ल्याउने निर्णय गरेसँगै खुलेको नाका पछिल्लो पटक असार २४ गते अरनिको राजमार्गस्थित बाह्रबीसे नगरपालिकाको जम्बु, खागदल र भोटेकोसीमा बाढी आएर सडक क्षतविक्षत बनाएपछि असार २५ बाट नाका बन्द थियो । खासामा मात्रै नेपाली व्यवसायीका करिब ८ सय कन्टेनर सामग्री रोकिएका छन् । ती सामान न्यालाम, सिगात्से र खासाकै गोदाममा रहेका छन् । जसका कारण चाडपर्वको मुखमा बजारमा सामान अभाव भई कालो बजारी हुने खतरा रहेको छ । सरकारलाई यसबाट हुने राजस्व घाटा त छँदैछ ।