सम्झना विकको हत्यामा संलग्नलाई कारवाही गर्न माग

नेपाल दलित मुक्ति सङ्गठनले सम्झना विकको बलात्कारपछि निर्मम हत्या भएको घटनाका दोषी पत्तालगाई हदैसम्मको कारवाही गर्नुपर्ने माग गरेको छ । “घटना भएको ६ दिन पुगिसक्दासमेत अपराधीको पहिचान गर्न नसकेकाले तत्काल सत्यतथ्य छानबिन गरी दोषीमाथि हदैसम्मको कारवाही गर्न र पीडित परिवारलाई क्षतिपूर्तिको व्यवस्था गर्न सरकारसमक्ष जोडदार माग गर्दछ,” सङ्गठनद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
बझाङ जिल्लाको मष्टा गाउँपालिका–२ खिकालाकी १२ वर्षीया सम्झना विकको बलात्कारपछि निर्मम हत्या भएको सङ्गठनले जनाएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट सङ्गठनका अनुसार घटना विवरणअनुसार बुधबारको दिन खिकालाबाट पशुचौपाया बाँध्न करिब ५ बजे साँझ गएकी बालिका अबेरसम्म पनि घर नफर्केपछि खोजी गर्दै जाँदा स्थानीय शिव मन्दिरभित्र उनको शव क्षतविक्षेत अवस्थामा फेला परेको थियो ।
विज्ञप्तिमा भनिएको छ, “देशैभरि दलितमाथि घटेका हत्या तथा भेदभावका घटनामाथि तत्काल कानून बमोजिम कारवाही नगर्दा यस्ता खाले घटना दोहोरिँदै जाने र अपराधीको मनोबल बढ्दै जाने भएकाले यसखाले घटना दोहोरिन नदिन राज्यका तर्फबाट विशेष कदम चाल्न सरकार समक्ष जोडदार माग गर्दछौं ।”
सभामुखको ध्यानाकर्षण
बझाङमा १२ वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको घटनाको सम्बन्धमा सुदूरपश्चिमका संघीय सांसदहरुले सभामुखको ध्यानाकर्षण गराएका छन् । सिंहदरबारस्थित कार्यकक्षमा पुगेर सांसदहरुले सभामुखको ध्यानाकर्षण गराएका हुन् ।
भेटमा सभामुख अग्निप्रसाद सापकोटाले बझाङमा १२ वर्षिया बालिकाको बलात्कारपछि हत्या भएको घटनालाई आफूले गम्भीर रुपमा लिएको बताएका थिए । घटनालाई राज्यले चुनौतीका रुपमा लिनुपर्ने सभामुखको भनाइ छ ।
सभामुख सापकोटाले जनता अन्याय, दमन र समस्यामा परेका बेला उनीहरुलाई साथ दिनु जनप्रतिनिधिको कर्तव्य भएको बताउँदै कानुनको प्रभावकारी कार्यान्वयनका लागि पहल जारी राख्न आग्रह गरे । उनले आफ्नो तर्फबाट समेत विशेष पहल गर्ने प्रतिवद्धता व्यक्त गरे ।
बझाङबाट प्रतिनिधि सभा सदस्य आशा कुमारी विक लगायतका सांसदहरुले सभामुख सापकोटालाई भेटेर बझाङकी १२ वर्षिया बालिका सम्झना कामीको बलात्कारपछि हत्यामा संलग्नलाई कारबाहिका लागि पहल गरिदिन ध्यानाकर्षण गराएका हुन् ।