१२ किलोमिटर दौडको उपाधि दुर्गालाई «

१२ किलोमिटर दौडको उपाधि दुर्गालाई

भैरहवा-कर्णाली स्पोर्टस् क्लब जुम्लाका धावक दुर्गाबहादुर बुढाले भैरहवामा १२ किलोमिटर दौडको उपाधि जितेका छन् । विश्व पोलियो दिवसको अवसर पारेर भैरहवामा कृयाशिल ३ रोटरी क्लबहरु रोटरी क्लब अफ लुम्बिनी सिद्धार्थनगर, रोटरी क्लब अफ सेन्ट्रल लुम्बिनी र रोटरी क्लब अफ भैरहवाको संयुक्त आयोजनामा भएको प्रतियोगितामा २६ वर्षिय बुढाले निर्धारित दूरी ३४ दशमलव ३ सेकेण्डमा पूरा गर्दै उपाधि जितेका हुन् । उनले उपाधिसँगै ५१ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन्।
त्यस्तैगरी सप्तरी राजविराजका युवा धावक अजितकुमार यादव दोश्रो भएका छन् ।
यसअघि राष्ट्रिय धावकका रुपमा ५ किलोमिटर दूरीको दौड दौडँदै आएका यादवले पहिलो पटक १२ किलोमिटर दौडमा सहभागिता जनाएकोमा निर्धारित दूरी ३४ मिनेट ९ सेकेण्डमा पूरा गर्दै दोश्रो स्थानमा आएका थिए । उनले नगद २१ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्न सफल भए ।
त्यस्तै बाग्लुङ ढोरपाटनका तिर्थ पुनले निर्धारित दूरी ३४ मिनेट ४२ सेकेण्डमा पूरा गर्दै तृतिय स्थान प्राप्त गरेका छन् । पुन एक हप्ताअघि गोर्खा लिगलिग म्याराथनमा दोश्रो स्थानमा आएका खेलाडी हुन् । भारतीय सेनामा कार्यरत पुन यसअघिको लुम्बिनी पिस म्याराथनअन्तर्गत हाफ म्याराथनतर्फको लगातार २ संस्करणका विजेतासमेत हुन् ।
उनले ११ हजार रुपैयाँ प्राप्त गरे । त्यस्तै गरी सान्त्वना पुरस्कारबापत दशौं स्थानसम्म आउनेले जनही १ हजार रुपैयाँ प्राप्त गरे । १२ किमी दौडमा १० जना महिला सहभागि रहेका थिए । तीमध्ये पहिलो, दोश्रो र तेश्रो स्थानमा रही निर्धारित दूरी पूरा गर्र्नेे भैरहवाकी जयकाली पुन, मौसमी भट्ट र बुटवलकी सपना पोखरेलले क्रमशः ५ हजार, २५ सय र १५ सय रुपैयाँ प्रोत्साहन पुरस्कार प्राप्त गरे ।
विजेता सबै खेलाडीहरुलाई म्याराथन दक्षिण एसियाका कीर्तिमानधारी खेलाडी तथा ओलम्पियन वैकुण्ठ मानन्धर, रोटरी क्लब अफ लुम्बिनी सिद्धार्थनगरका अध्यक्ष जितेन्द्र नाथ शर्मा, रोटरी क्लब अफ सेन्ट्रल लुम्बिनीका कार्यवाहक अध्यक्ष प्रेमराज शर्मा, रोटरी क्लब अफ भैरहवाका अध्यक्ष सञ्जिव शर्मा रेग्मीलगायतले पदक, प्रमाणपत्र र नगद पुरस्कार प्रदान गरेका थिए । प्रतियोगितामा १ सय ३० भन्दा बढी धावकहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्