क्लिनफिड एक महिनाभित्रै लागू गर्न निर्देशन

नेपालमा सञ्चालनमा रहेका तथा सञ्चालनको तयारीमा रहेका सबै विदेशी टेलिभिजन च्यानलको प्रशारणलाई एक महिनाभित्र विज्ञापनरहित (क्लिनफिड) मा लैजान संघीय संसद्को विकास तथा प्रविधि समितिले निर्देशन दिएको छ । समितिले आउँदो कात्तिक ७ गतेभित्र नेपालमा प्रशारण गरिरहेका विदेशी टेलिभिजन च्यानलहरूलाई विज्ञापनरहित (क्लिनफिड) बनाउन सरकारलाई निर्देशन दिएको हो । सोमबार समिति सभापति कल्याणी खड्काको सभापतित्वमा बसेको बैठकले क्लिन फिड नीति कार्यान्वयनमा ढिलाइ गर्न नहुने भन्दै सरकारलाई एक महिनाको समय दिएको हो ।
नेपालमा विज्ञापन (नियमन गर्ने) ऐन २०७६ को कार्यान्वयन २०७७ कात्तिक ८ गतेदेखि सुरु हुँदैछ । त्यसैले समितिले उक्त मितिभन्दा एक दिनअघि नै नेपालमा क्लिन फिड सुरु गर्न निर्देशन दिएको हो । विदेशी टेलिभिजन च्यानलहरूले नेपालमा निर्वाध रूपमा विज्ञापन प्रसारण गरिरहेका छन् । क्लिनफिड नहुने विदेशी च्यानलको प्रशारण रोक्न मन्त्रालयले बनाएको योजना पनि समितिले मागेको छ । यो ऐनको कार्यान्वयनबाट नेपालमा कतिवटा विदेशी च्यानल रोकिने अवस्थामा रहेका छन् र यसले पार्ने सकारात्मक तथा नकारात्मक प्रभावका बारेमा मन्त्रालयको धारणा १५ दिनभित्र पठाउन पनि समितिले निर्देशन दिएको छ ।
यसअघि सरकारले २०७३ सालमा विज्ञापनरहित नीति जारी गरी २०७४ को साउन १ देखि क्लिनफिड लागू गर्ने बताएको थियो । तर केबल व्यवसायीको विरोधपछि सरकारले क्लिनफिड लागू गर्ने मिति पटक–पटक सार्दै आएको थियो । विदेशी च्यानल नेपालभित्र प्रसारण हुँदा विदेशी विज्ञापन बजाउन पाइँदैनन् । त्यसको सट्टा नेपाली विज्ञापन अथवा नेपालमै बनेको विज्ञापन नै प्रयोग गर्नुपर्ने क्लिनफिड नीतिमा उल्लेख छ । यो नीति लागू भए नेपालमा विज्ञापनको बजारको आकार बढ्ने भन्दै विज्ञापन व्यवसायी यसको पक्षमा उभिएका छन् । कोरोना भाइरस महामारीले सम्पुर्ण अर्थतन्त्र ठप्प भएको अवस्थामा यसबाट विज्ञापन बजार पनि अछुतो छैन । विदेशी च्यानलमा क्लिन फिड लागू हुँदा केहस् मात्रामा भए पनि विज्ञापन बढ्ने व्यवसायीहरूको भनाइ छ ।
सोमबारको बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव हरिप्रसाद बस्याल लगायतका पदाधिकारीसँग छलफल गरेपछि समितिले डाउनलिंक अनुमति लिएर नेपालमा प्रशारण गरिरहेका टेलिभिजन च्यानलहरूलाई विज्ञापनरहित बनाउन निर्देशन दिएको छ ।