सरकार निर्माणअघि नै पार्टी एकता : नेपाल

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले एमाले र माओवादीबीच पार्टी एकता भएरै छाड्ने दाबी गरेका छन् । बुधबार रिपोर्टर्स क्लब नेपालले गरेको साक्षात्कारमा नेपालले आवश्यकताअनुसार सबै नेताको व्यवस्थापन गरेर पार्टी एकता गरिने बताए ।
सानो, प्रभावकारी र चुस्त सांगठनिक संरचना बनाएर पार्टी एकता गर्नुपर्ने विषयमा गृहकार्य भइरहेको उनले जानकारी दिए । ८ करोड सदस्य भएको चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय सदस्य २ सय जना, पोलिटब्यूरो सदस्य २१ जना भएको उदाहरण दिँदै उनले नेपालमा पनि सानो कमिटि बनाएर ठूलो काम गर्न सक्ने गरी अघि बढ्नुपर्ने बताए ।
भियतनामको कम्युनिष्ट पार्टीको समेत उदाहरण दिँदै नेपालले पदका लागि मारामार गर्ने होइन, संगठनात्मक संरचना बनाएर नेता व्यवस्थापन गर्नुपर्नेमा जोड दिए । “त्यसपछि महाधिवेशनको मिति तोकेर नयाँ नेतृत्व चयन गर्नुपर्छ,” नेपालले भने ।
नेकपा एमालेमा त्यागको भावना रहेको बताउँदै उनले पदीय भागबण्डाका आधारमा एकता प्रभावित नहुने दाबी गरे । “हामी पद छोड्न र दिन तयार छौँ,” उनले भने । जनादेशअनुसार जति सक्दो चाँडो एकता गरेर विकास र समृद्धिको यात्रामा लाग्नुपर्ने उनको तर्क थियो । सरकार नेतृत्वको विषयमा पनि विवाद नहुने उनको दाबी थियो । “प्रधानमन्त्रीका लागि मारामार तानातान होला भन्ने लागेको होला । त्यस्तो हुँदैन,” उनले भने । एमाले र माओवादीबीच लडाइँ होला र फाइदा उठाउँला भनेर कांग्रेस दाउ हेरेर बसेको बताउँदै नेपालले आफूहरु परिपक्व भएकाले त्यस्तो दाउ नहेर्न सुझाव दिए ।
चुनावबाट एमाले ठूलो पार्टी बनेकाले माओवादीले त्यहीअनुसार सोचेको उनको भनाइ थियो । “अनावश्यक प्रचार र दबाब सृजना गरेर केही हुँदैन । प्रधानमन्त्रीका लागि कुनै समस्या छैन,” नेपालले भने, “दाहाल, ओली, खनाल, बामदेव, नारायणकाजी, बादल सबैको उचित र न्यायसंगत व्यवस्थापन हुन्छ ।” नेपालले आफू संगठन विस्तारमा लाग्ने र पार्टीलाई बलियो बनाउने अभियानमा लाग्ने बताए ।
पार्टी एकता भएपनि जनताको बहुदलीय जनवाद नछोडिने उनले स्पष्ट पारेका छन् । “जबजको सान्दर्भिकता अझै बढ्दै गएको छ । कतिपय कुरा समयअनुसार फेरेका छौँ । माओवादीले पनि २१ औं शताब्दीको जनवाद भनिसकेको छ । संविधानमा उल्लेख गरेअनुसार समाजवादउन्मुख अर्थतन्त्र नै हाम्रो यात्रा हो,” उनले भने ।चुनाव हारिसकेपछि पनि सरकार छोड्न नचाहेको भन्दै उनले कांग्रेसको आलोचना पनि गरे । “कांग्रेस जहिले पनि कुर्सी छोड्न आलटाल गर्छ । नानीदेखि लागेको बानी अझै हटेको छैन । यो अत्यन्तै गलत सोच हो,” नेपालले भने, “शेखर, रामचन्द्र र देउवाजी आत्तिनु पर्दैन । कम्तिमा अब पाँच वर्ष धैर्य गरेर बस्नुस् । रचनात्मक प्रतिपक्षमा बस्नुस् ।” वाम गठबन्धन फुटाएर आफू सरकारमा जाने कुरा दिवा सपना भएको उनको भनाइ थियो ।