युवालाई उद्यमशिल बनाउन सहुलियत कर्जा

गुल्मी-कोभिड–१९ ले रोजगारी गुमाएपछि भारतलगायत तेस्रो मुलुकमा रहेका धेरै युवाहरु गाउँ फर्किए । गएको असार मसान्तसम्म मात्रै गुल्मीको मालिका गाउँपालिकामा ५ सय ४७ जना भारत र तेस्रो मुलुकबाट नेपाल भित्रिएका छन् । कोभिडले रोजगारी गुमाएर फर्किएका, नेपालमै पनि रोजगार गुमाएका, स्थानीय बेरोजगार, विदेश जान तयार रहेका र स्वदेशमै केही गर्न चाहाने युवाहरुका लागि मालिका गाउँपालिकाले स्वरोजगार कार्यक्रम ल्याएको छ । युवाहरुलाई गाउँमै उद्यमशिल बनाउने हिसाबले एक व्यवसायी युवालाई ५० हजारदेखि ७ लाखसम्म सहुलियतपूर्ण कर्जा दिने तयारी रहेको मालिका गाउँपालिकाका कार्यालय प्रमुख प्रशासकीय अधिकृत दीपक भण्डारीले जानकारी दिए ।
गाउँपालिकाले सहुलियतपूर्ण कर्जाको लागि बैंक अफ काठमाडौंसँग सहकार्य गरेको छ । उद्यम गर्न चाहने युवाले आउने असोज १ गतेदेखि सहुलियत ऋण पाउने छन् । उद्यम गर्न युवाले लिएको ५० हजारदेखि ७ लाखवापतको व्याज तिर्न पर्ने छैन । क्रण लिएको एक वर्षभित्र उक्त रकम फिर्ता गर्नुपर्ने गाउँपालिकाले जनाएको छ ।
“युवालाई उत्पादनशिल क्षेत्रमा खटाउनको लागि यस्तो कार्यक्रम अगाडी बढाइएको हो” गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भण्डारीले भने, “कोभिडले रोजगारी गुमाएर फर्किएका, नेपालमै पनि रोजगार गुमाएका, स्थानीय बेरोजगार, विदेश जान तयार रहेका र स्वदेशमै केही गर्न चाहाने युवालाई लक्षित गर्दै सहुलियत कर्जाको कार्यक्रम ल्याएका हौं ।”
गाउँपालिकाले कृषि, पशुपालन र उद्योग क्षेत्रलाई प्राथामिकतामा राखेर सहुलियत कर्जा दिने छ । यस कार्यक्रमबाट युवाहरु गाउँमै स्वरोजगार बन्ने, कृषि उपजको अभाव नहुने र सबै युवाहरु उत्पादनशिल क्षेत्रमा खटिने आशा रहेको प्रमुख प्रशासकीय अधिकृत भण्डारीको भनाई छ । “हाम्रो मुख्य उद्देश्य कृषिलाई व्यवसायीकरण, औद्योगिक क्षेत्रको प्रर्वद्धन र युवालाई गाउँमै रोजगार दिने हो ।” प्रमुख प्रशासकीय अधिकृत भण्डारीले भने ।
यस कार्यक्रममा १८ देखि ६० वर्ष उमेर समूहलाई समेटिने छ । सबै युवालाई यस कार्यक्रममा समेट्न यसमा झन्झटिलो प्रक्रिया छैन ।
सबै युवालाई वडामा पुगेर यसको बारेमा जानकारी गराएर कुनै न कुनै सजिलो मापदण्ड अपनाएर अगाडी बढ्ने मालिका गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले ल्याएको कार्यक्रममा धेरै युवाहरु उत्साहित बनेका छन् । कार्यक्रममार्फत उद्यममा सहभागी हुन ४ सय भन्दा बढी निवेदन आइसकेको गाउँपालिकाले जनाएको छ । यस कार्यक्रमले कृषिलाई व्यावसायिकरण, औद्योगिक क्षेत्रको प्रर्वद्धन, युवालाई गाउँमै रोजगार र गाउँपालिकालाई समृद्धतर्फ लैजाने छ । युवालाई उद्यमशिल बनाउन सहुलियत कर्जा दिने गाउँपालिकाको मुख्य उद्देश्य हो ।