जनशक्ति थप गरी लाप्राक बस्ती निर्माणमा तिव्रता

लाप्राक एकीकृत नमुना बस्ती निर्माणलाई तिव्रता दिन गैरआवासीय नेपाली संघ (एनआरएनए) ले सेना तथा स्थानीयवासीको सहयोग थप गरी समयमा नै निर्माण सम्पन्न गर्ने जनाएको छ । एनआरएनएले गोरखाको लाप्राकस्थित एकीकृत बस्ती निर्माणलाई अझ तिव्रता दिन नेपाली सेनाका थप जनशक्ति सहयोग लिएको छ । यसैगरी स्थानीयको सहयोगलाई पनि अझ वृद्धि गरी निर्माण कार्यलाई तिव्रता दिने योजना बनाएको छ ।
लाप्राक बस्ती निर्माणको काम समयमा सम्पन्न गर्न नेपाली सेनाले सहयोग गरिरहेको भए पनि कामलाई तिव्रता दिन ४० जना जवान थप गरिएको एनआरएनएले जनाएको छ । यसअघि सेनाले १ सय २५ जवान परिचालन गरेको थियो । यसरी नै पुनर्निर्माणका लागि थप सहयोग आवश्यक महसुस गरी स्थानीयसँग पनि सहयोगको लागि अनुरोध गरिने एनआरएनए अध्यक्ष भवन भट्टले बताएका छन् । पुनर्निर्माणलाई थप तिव्रता दिन अध्यक्ष भट्ट केही दिनअघि लाप्राक पुगेका थिए ।
लाप्राक पुगेका अध्यक्ष भट्टले एनआरएनएले नेपाली सेनाको थप जनशक्ति परिचालनपछि बस्ती निर्माण कार्यलाई तिव्रता दिएको बताए । नेपाली सेनाले लाप्राक बस्ती निर्माणको गतिलाई मूल्यांकन गरेर थप ४० जना जवान खटाएको हो । सेनाले एनआरएनएले बस्ती निर्माणको कामलाई तिव्रता दिन इन्जिनियरसमेत खटाएको छ । एनआरएनसमेत रहेका इन्जिनियर सुवास अधिकारीको नेतृत्वमा लाप्राकमा निर्माण सामग्रीको गुणस्तरलाई मुख्य प्राथमिकता दिइएको छ । बस्ती सुरक्षित होस् भनेर निर्माण सामग्रीको गुणस्तरमा सतर्कता अपनाइएको बस्ती अवलोकनका लागि पुगेका एनआरएनएका अध्यक्ष भट्टले बताए । उनले निर्माण कार्यलाई तिव्रता दिन दुई साताभित्र स्थानीयवासीको अलग्गै समिति बनाइने बताए । निर्माणाधीन घरमध्ये कुन घर कसलाई दिने भन्ने सम्बन्धमा चिठ्ठा गर्ने एनआरएनएको योजना छ । स्थानीयवासीमा अपनत्व जगाउन चिठ्ठामार्फत निर्माणाधीन घर बाँडफाँट गर्न लागेको अध्यक्ष भट्टले बताए । एनआरएनएले नमुना बस्तीमा सुविधायुक्त शौचालय पनि बनाइदिने योजना बनाएको छ ।
स्थानीयवासीले आवश्यक सहयोग नगर्दा तथा कामदारको अभावका कारण एकीकृत वस्ती निर्माणमा सोचेअनुरुप प्रगति भएको छैन । पर्यटन व्यवसायमा संलग्न लाप्राकका अधिकांश स्थानीयवासी पर्यटकीय सिजनसँगै टे«किङमा व्यस्त रहेकाले कामदारको अभाव भएको हो । इन्जिनियर अधिकारीले स्थानीयवासीको सक्रियता बढाउन हरेक १५ दिनमा निर्माणको अवस्था बारेमा जानकारी लिन छलफलको योजना बनाइएको बताए । उनले वर्षाअगावै आवश्यक निर्माण सामग्री जोहो गरेर आगामी एनआरएन डेका दिन वस्तीको निर्माण कार्य सक्ने लक्ष्य लिइएको जानकारी दिए । एनआरएनएले ३२ महिना पहिले गएको भूकम्पको केन्द्रविन्दु लाप्राकका भूकम्प पीडितहरूका लागि ५ सय ७३ वटा घर निर्माण गरिरहेको छ । एनआरएनएको पहलमा हालै नेपालसहित २५ देशका इन्जिनियरिङ क्षेत्रका विभिन्न विधामा अध्ययन गरिरहेका विद्यार्थीहरूले लाप्राकमा स्वयंसेवा गरेका थिए । उनीहरूले करिब एक महिना लाप्राकमा बसेर इँटा उत्पादनदेखि घर निर्माणका सम्पूर्ण काममा सहभागिता जनाएका थिए । गैरआवासीय नेपाली संघ थाइल्याण्डको पहलमा ‘इन्टरनेशनल एसोसिएसन फर द एक्सचेन्ज अफ स्टुडेन्ट फर नेक्निकल एक्सपिरियन्स’ नामक संस्थामार्फत यी स्वयंसेवी एकैपटक नेपाल आइपुगेका थिए ।
बिदेशी लगानी भित्र्याउन कार्यशाला
यसैगरी गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नेपालमा विदेशी लगानी भित्र्याउनका लागि कार्यशाला राख्न सरकारसँग प्रस्ताव गरेको छ । एनआरएनएले विदेशी लगानी भित्र्याउन वाधकका रूपमा रहेका कानुनी व्यवस्थाबारे निजी क्षेत्रसमेतको सहभागितामा कार्यशाला राख्न सरकारसँग प्रस्ताव गरेको हो । एनआरएनएका अध्यक्ष भट्टले संघीय शासन व्यवस्था अंगालेसँगै मुलुकमा विदेशी लगानीको आवश्यकता बढेको भन्दै लगानी भित्र्याउन कानुनमा रहेका कमजोरी सुधार गरिनुपर्ने बताए । उनले कानुनमा सुधार गरी लगानीमैत्री वातावरण बनाए विदेशी लगानीकर्ता नेपालमा लगानीका लागि तयार रहेको जानकारी दिए ।
एनआरएनएले प्रदेश र प्रतिनिधिसभाको निर्वाचनले राजनीतिक स्थिरताको संकेत गर्नु सकारात्मक भएको भन्दै सरकारले नीतिगत स्थिरताको पनि सुनिश्चितता गर्नुपर्ने बताएको छ । नीतिगत अस्थिरताका कारण लगानीकर्ताहरू हच्किने गरेकाले सरकारले उनीहरूलाई आश्वस्त तुल्याउन सक्नुपर्ने एनआरएनएका अध्यक्ष भट्टले बताए ।
एनआरएनएले लाप्राक एकीकृत बस्तीलाई नमुनाका रूपमा बनाउन सम्पूर्ण पूर्वाधारसहितको विद्यालय, स्वास्थ्य चौकी, सामुदायिक भवन, स्थानीय भेषभूषा र संस्कृति झल्कने संग्रहालयलगायत संरचना बनाउने योजनासहित निर्माण सुरु गरेको हो । निर्माण गरिने संरचनाहरू स्थानीय मौलिक कला तथा वास्तुकलामा आधारित हुनेछन् । बस्तीमा होमस्टे र सामुदायिक गेष्टहाउस बनाई गाउँलेलाई आम्दानीको स्रोत समेतको व्यवस्था गरिदिने एनआरएनएको योजना रहेको छ । यो योजना बिलकुल मौलिक र अद्वितीय हुने एनआरएनएले दाबी गरेको छ । ०७२ वैशाख १२ गते आएको विनाशकारी भूकम्पबाट ध्वस्त भएको लाप्राक गाउँलाई सोही गाविसको केही माथि रहेको गुम्सीपाखामा स्थानान्तरण गरी बस्ती विकास गर्न लागिएको हो । संरचना र व्यवस्थापनका दृष्टिले मात्र होइन, सहभागिता र निर्माण प्रक्रियाका हिसाबले पनि सो बस्तीलाई नमूनाका रुपमा बनाउन लागिएको हो । एनआरएनएको भनाइमा परियोजना प्रक्रियादेखि परिणामसम्म नमूना हुनेछ । नमूना परियोजना जतिसक्दो चाँडो सफल पार्नु सबैको जिम्मेवारी भएको अध्यक्ष भट्टको भनाइ छ । परियोजनामा एनआरएनले सम्पूर्ण स्वदेशी नेपाली तथा विदेशमा रहेका नेपालीको सहयोग परिचालन गरी वस्ती निर्माण गर्न आह्वानसमेत गरेको छ । स्थानीय बासिन्दाले लाप्राकमा बन्दै गरेको नमूना बस्ती विनाशकारी भूकम्पले दिएको वियोगान्त क्षण बिर्साउने र नयाँ युगको ढोका खोल्ने अवसरका रुपमा लिएका एनआरएनको धारणा रहेको छ । एनआरएनएले यो परियोजना जति राम्रो छ, त्यति नै चुनौतीपूर्ण रहेको जनाएको छ ।
रोशन थापा