दोहोरो कर उठाइएको भन्दै कबाडी व्यवसायीको आपत्ति

नेपाल कबाडी व्यवसायी समाजले चन्द्रागिरि नगरपालिकाले कबाडी व्यवसायीसँग अव्यावहारिक रूपमा दोहोरो कर लिएको भन्दै कडा आपत्ति जनाएको छ । समाजले बिहीबार पत्रकार सम्मेलन गरेर नगरपालिकाको निर्णयप्रति आपत्ति जनाएको हो ।
समाजका अध्यक्ष रामकेबल गुप्ताले आफूहरूले अहिले पनि राज्यलाई तिर्नुपर्ने कर तिरिरहेको भन्दै चन्द्रागिरि नगरपालिकाले दोहोरो कर लिएको बताए । उनले काठमाडौंबाट निस्किएका कबाडी सामान लिएर जाँदा सम्बन्धित ठाउँमा कर तिरिसकेकाको भए पनि दोहोरो कर लिने गरिएकाले व्यवसायी मर्कामा परेको गुनासो गरे ।
गुप्ताले काठमाडौंमा १८ वटा नगरपालिका रहेको र आफूहरूले यिनै नगरपालिकाभित्र मात्रै काम गरिरहेको र राज्यलाई आफूहरूले जहाँ कारोबार गरेको छ त्यहीँ कर तिरेको दाबी गरे । “चन्द्रागिरि नगरपालिकामा हाम्रा साथीहरूले कुनै कारोबार गर्नुभएको छैन, कारोबार नभएको ठाउँले कर लिन पाइँदैन,” उनले भने, “सरकारले अन्याय गरेको छ, तत्काल कर फिर्ता गर्नुपर्छ ।”
कार्यक्रममा समाजका महासचिव रामआज्ञा रौनियारले सरकारले आफूहरूका माग यथाशक्य चाँडो सम्बोधन गर्नुपर्ने बताए । उनले माग सम्बोधन नभए कलंकीदेखि थानकोटसम्म कबाडी सामान बाटोमै फालेर जाम गरि दिने चेतावनी दिए ।
समाजका सचिव ओमप्रकाश सिंहले दोहोरो कर लगाउनु गलत भएको भन्दै यसलाई तत्काल खारेज गर्न माग गरे ।