Logo

प्रजातान्त्रिक समूहद्वारा सामुदायिक वन उपभोक्ता महासंघको महाधिवेशन बहिष्कार

सामुदायिक वन उपभोक्ता महासंघ नेपालको छैठौं राष्ट्रिय महाधिवेशनमा नेकपाले एकलौटी गरेको भन्दै प्रजातान्त्रिक समूहले बहिष्कार गरेको छ । देशभरिबाट आएका सामुदायिक वन उपभोक्ता समूहका प्रजातान्त्रिक धारका प्रतिनिधिहरुले आफूहरुसामु नेकपाको दुई तिहाइको दम्भ देखाउँदै सामुदायिक वन महासंघको विधानले परिकल्पना गरेको अवधारणविपरित आम सहमतिलाई ख्यालै नगरी एकलौटी रुपमा चुनाव गरेको आरोप लगाएका हुन् ।
सामुदायिक वन उपभोक्ता समूहले अंगिकार गरेको आम सहमतिको पद्धतिको अन्त्य भएको भन्दै प्राकृतिक श्रोत र साधन एवं समुदायको अधिकारका लागि उनीहरुले छुट्टै अवधारण अगाडि ल्याउनुपर्ने माग समेत गरेका छन् ।
बुधवार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै सामुदायिक वन उपभोक्ता महासंघ नेपालका निवर्तमान उपाध्यक्ष भीमप्रकाश खड्काले आफूहरुले उपभोक्ता समूह र त्यसभित्रका विपन्न, गरिब, दलित र जनजाति समुदायको अधिकारको लागि लडाइँ गरेको भए पनि त्यसको ख्याल नगरेको बताए ।
खड्काले विगत केही समयदेखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायबाट प्राप्त श्रोत र साधनको नेकपाले निजी सम्पतिका रुपमा दुरुपयोग गरेको आरोपसमेत लगाए । त्यस्तै, सामुदायिक वन उपभोक्ता महासंघका अध्यक्ष दिर्ग खत्रीले सामुदायिक वन अभियान अन्तर्राष्ट्रिय क्षेत्रमा आमसहमति र समावेशीकरणको नमुनाको रुपमा सिकाई पाठशालाको रुपमा विकास भएको भएपनि नेकपाका कार्यकर्ताको दम्भका कारण विस्तारै बद्नामी कमाउन थालेको गुनासो पोखे ।
यस्तो परिवेशमा प्रजातान्त्रिक मूल्य, मान्यता र आमसहमतिका नाममा बद्नाम हुने कार्यमा आफूहरु समावेश हुन उचित नभएकोले बहिष्कार गरेको उनले स्पष्ट पारे । वन ऐन–२०४९ को अवधारणाअनुरुप सामुदायिक वन समूहको हकअधिकार रक्षाको निमित्त नयाँ परिस्थितिको निर्माण गर्न उनीहरुले जोड दिएका छन् ।
कार्यक्रममा देशका ७७ जिल्लाबाट आएका प्रजातान्त्रिक धारका सबैैको सहभागिता रहेको थियो । कार्यक्रममा बोल्दै सामुदायिक वन अभियन्ता कमला विष्टले प्रजातन्त्रमा विश्वास गर्ने आफूहरुको समूहमाथि नेकपाको समूहले पटक–पटक लखेटिएकाले आफूहरु बहिष्कार गर्न बाध्य भएको बताएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्