वाम गठबन्धन टुटाउने प्रयास हुँदैछ : वाम गठबन्धन

वाम गठबन्धनमा आबद्ध दलका अध्यक्षहरुले आफूहरुको एकता र सहकार्यलाई टुटाउने कोसिस भए पनि त्यस्ता प्रयास सफल नहुने बताएका छन् । नेकपा (एमाले) का उपाध्यक्ष वामदेव गौतमद्वारा लिखित ‘नेपाल नवनिर्माण महाअभियान’ पुस्तकको विमोचन कार्यक्रममा उनीहरुले स्थायित्य र समृद्धिका लागि आफूहरुको चुनावी तालमेल भएको र जनताले बहुमत दिएकाले त्यसको अवमूल्यन नगरिनेमा जोड दिए ।
एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले सत्ता लम्ब्याउने तथा सानासाना नियुक्ति र रकम वितरणको काममा अल्झिएकामा आपत्ति जनाउँदै यस्तो खेलमा नलाग्न आग्रह गरे । उनले भने, “वाम गठबन्धन सफल हुन नदिन धूमधाम खेल भइरहेको छ, पाँच वर्षका लागि प्रधानमन्त्री पद बाँड्न खोजिनु देश बनाउने होइन, बिगार्ने प्रयासमात्र हो ।”
अध्यक्ष ओलीले नेपाललाई आश्रित र दमित मुलुकका रुपमा नभई स्वाधीन मुलुकमा रुपमा अघि बढाउन भारत र चीन दुवै छिमेकीसँग सन्तुलित सम्बन्ध विस्तार गरेर आगामी सरकार अघि बढ्ने जनाए । उनले नेता गौतमको पुस्तकमा उल्लेख भएझैँ समृद्धिका लागि द्रुत गतिमा विकासका कार्यक्रम सञ्चालन गर्नुपर्ने पनि बताए ।
नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले स्थायित्व र विकासका लागि वाम गठबन्धनले ल्याएको बहुमत ऐतिहासिक अवसर भएकाले तीव्र गतिमा नेपाल निर्माणको महाअभियान सञ्चालन गर्न होमिनुपर्ने बताए ।
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपालको विकासका लागि क्रान्ति, पर्यटन विस्तार र ऊर्जा विकासमा ध्यान दिनुपर्ने विचार व्यक्त गर्दै पुस्तकले ती पक्षलाई सम्बोधन गरेको बताए ।
लेखक गौतमले आफूले एक दशक लगाएर तयार पारेको पुस्तकको मूल भाव नेपालमा प्रशस्त सम्भावना भए पनि विकासबाट पछाडि पर्नुका कारण समेत खोतलिएको बताए । बुक मार्ट प्रालिद्वारा प्रकाशित २३५ पृष्ठको उक्त पुस्तकमाथि साहित्यकार मोदनाथ प्रश्रित, संविधानविद् डा. युवराज संग्रौला, पूर्वाधार विज्ञ डा. सूर्यराज आचार्य, अर्थविद् डा डिल्लीराज खनाललगायतले टिप्पणी गरेका थिए । पुस्तक विमोचन उपराष्ट्रपति नन्दबहादुर पुनले गरेका थिए ।