दुई गाउँबीचको झडपमा २० राउण्ड गोली चल्यो

रौतहट-रौतहटको गरुडा नगरपालिकास्थित श्रीपुरमा शव जलाउने विषयमा दुई गाउँबीच झडप हुँदा गोली चलेको छ । गरुडा नगरपालिका वार्ड नं. ९ श्रीपुरमा गम्हरीया टोल र श्रीपुर टोलबीच शव जलाउने विषयमा विवाद भई दोहोरो झडप भएको स्थानीय युवा राजकुमार दासले जानकारी दिएका छन् ।
गम्हरीयाटोलबाट श्रीपुरटोलमा रहेको पैनीखोलामा शव जलाउन थालेपछि दुई गाउँलेबीच झडप भएको उनले बताए । झडपलाई नियन्त्रण लिन प्रहरीले दुई दर्जन भन्दा बढी राउण्ड गोली चलाएको इलाका प्रहरी कार्यालय गरुडाले जानकारी दिएको छ । दोहोरो झडपमा इलाका प्रहरी कार्यालय गरुडाका सहायक प्रहरी निरिक्षक विश्व नाथ यादवसहित ३ जना प्रहरी जवान घाइते भएको इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी निरिक्षक चतुर्भुज ओझाले जानकारी दिएका छन् ।
१ हप्ता अगाडि पनि सो क्षेत्रमा शव जलाउने विषयमा विवाद हुँदा दोहोरो झडप भएको थियो । झडप भएपछि जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरिक्षक केदार ढकालको रोहबरमा सो क्षेत्रमा शव नजलाउने सहमति भएको स्थानिय युवा दासले जानकारी दिए ।