ताल्च विमानस्थल पहिरोको उच्च जोखिममा «

ताल्च विमानस्थल पहिरोको उच्च जोखिममा

मुगु-हिमपात र वर्षाका बेला हरेक वर्ष हवाई यातायातको एक मात्र विकल्प रहेको रारा विमान स्थल ताल्चको चारैतर्फबाट पहिरो खसेपछि यो विमान स्थलको भविष्य उच्च संकटको जोखिममा छ ।
झन्डै २३ वर्षको प्रयासपछि २०६० साल वैशाखको पहिलो साताबाट हवाई उडान सुरु भएको यो विमानस्थल वरिपोरिबाट लगातारको पहिरो झर्न थाले पछि भविष्य संकटमा परेको विषयमा सर्वत्र चर्चा र चिन्ता व्यक्त गर्न थालिएको छ । चार वर्षअघि कालोपत्रे गरिएको यो विमान स्थलको धावन मार्गबाट बगेर जाने पानीले विमान स्थल तल पर्ने छायानाथ रारा नगरपालिका–४ र ५ को सयौं हेक्टर जमिन कटान गरिसकेको छ भने आधा दर्जन बस्ती पनि बाढीपहिरोको उच्च जोखिममा छन् । पाँच सय सतरी मिटर लम्बाइ रहेको यो विमान स्थल अहिले पहिरोको उच्च जोखिममा परेको छ । विमानहरू अवतरण गर्दा रोकिने पहिलेको विमान स्थलको पश्चिम तिर पूरै भाँसिएको छ । त्यस्तै अहिले बनाइएको पार्किङ क्षेत्र पहिरोले आधा छोपिसकेको छ भने एक सय मिटर माथिदेखि पहिरो बग्ने खतरा उत्तिकै छ ।
विमान स्थलको अवतरण गर्ने भाग तिरबाट पूरै पहिरो गएको छ । पहिरोले विमान स्थलको कालोपत्रे भएको धावनमार्ग भेटाउन पनि थोरै छ । विमान स्थल वरिपरि चारै तिरबाट पहिरो जान थाले पछि र पार्किङ स्थलसमेत आधा भाग पहिरोले छोपे पछि अहिले विमान अवतरण र उडानमा उत्तिकै जोखिम बढेको विमान स्थलस्थित नागरिक उड्डयन कार्यालयले जनाएको छ । तीनवटा विमान एकै साथ पार्किङ स्थलमा राख्न मिल्ने भए पनि अहिले पहिरोका कारण एउटा विमान राख्न सकिने र एउटा विमान उडिसकेपछि मात्र अर्को विमान अवतरण गराउनुपर्ने अवस्था आएको ताल्च विमानस्थलस्थित गोमा एयरका स्टेसन इन्चार्ज जयप्रकाश रावलले बताए ।
विमान स्थलको भू–बनोट र माटो कमजोर भएकाले हरेक वर्षको वर्षातमा पहिरो जाँदा विमान स्थलको भविश्य उच्च जोखिममा पर्दै गएको ताल्च विमान स्थल नागरिक उड्डयन कार्यालयका कार्यालय प्रमुख सुरेश शर्माले जानकारी दिए । विमान स्थल वरिपरि घेरवार तटबन्ध लगाउने काम भए पनि कमजोर भूगोल र गुणस्तरहीन कामका कारण पहिरोले बगाउँदै आएको छ । हरेक वर्ष विमान स्थल मर्मतका लागि लाखौं बजेट आउने गरेको भए पनि सही सदुपयोग हुन नसक्दा विमान स्थल पहिरोको उच्च जोखिममा पर्दै गएको छ । हरेक वर्ष विमान स्थल मर्मतका लागि बजेट आउने गरेको बताए पनि बास्तविक बजेट कति आउछ भन्नेमा आफू जानकार नरहेको नागरिक उड्डयन कार्यालयका प्रमुख सुरेश शर्माले बताए ।
लगातारको वर्षाले विमान स्थलको वरिपरिबाट पहिरो जान थालेपछि तत्काल त्यसको रोकथामका लागि आवश्यक योजना निर्माण गरी काम थाल्नका लागि सम्बन्धित निकायलाई अनुरोध गर्ने गरी जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीको नेतृत्वमा गएको अनुगमन टोली सहितको संयुक्त बैठक बसिसकेको छ । बैठकले तत्काल विमान स्थल वरिपरिबाट गइरहेको पहिरो रोक्न कार्य योजना सहत आवश्यक बजेट व्यवस्था गरि कार्यान्वयन गर्न सम्बन्धित निकायलाई अनुरोध गरी पठाइसकेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । विश्वमा रहेका विमान स्थलहरू मध्य विश्वको दसांै स्थानमा यो विमान स्थललाई उच्च जोखिममा रहेको मानिएको छ । विमान स्थालको वरिपारिको पूरै भाग खुला छ ।

प्रतिक्रिया दिनुहोस्