Logo

महासंघद्वारा चिनियाँ लगानीकर्तालाई २८ परियोजनामा संयुक्त लगानीको प्रस्ताव

नेपाल उद्योग वाणिज्य महासंघले चिनियाँ लगानीकर्तासमक्ष संयुक्त लगानीका लागि २८ वटा परियोजना प्रस्ताव गरेको छ । महासंघका विशिष्ट सदस्य तथा पूर्वअध्यक्ष चण्डिराज ढकालले छेङदु एसोसिएसन फर फोरेन ट्रेड एन्ड इकोनोमिक कोअपरेशनले आयोजना गरेको दक्षिण एसिया, उत्पादन क्षमता अभिवृद्धि सहयोग संवाद कार्यक्रममा लगानीको प्रस्ताव गरेका हुन् ।
सार्क उद्योग वाणिज्य संघका उपाध्यक्षसमेत रहेका ढकालले पेश गरेका प्रस्तावित परियोजनामा उर्जासँग सम्बन्धित १०, सिमेन्टका २, निर्माण सामग्रीका २, कृषिका ३ परियोजना छन् । यस्तै, शिक्षाका २, अध्ययन अनुसन्धानका १, पर्यटन, होटल, रिसोर्टका ५, अफिस सप्लाईसँग सम्बन्धित १, उत्पादनमूलक र मिडियासँग सम्बन्धित २ वटा उद्योग छन् । ढकालले यी परियोजनामा संयुक्त लगानीका लागि चिनियाँ लगानीकर्तालाई आग्रह गरेको महासंघले जनाएको छ ।
सार्क राष्ट्र र चीनका उद्यमी व्यवसायीहरू, लगानीकर्ताहरूको सहभागिता रहेको उक्त अन्तर्राष्ट्रिय कार्यक्रममा महासंघका विशिष्ट सदस्य, पूर्वअध्यक्ष ढकालको नेतृत्वमा महासंघका उपाध्यक्षहरू उमेशलाल श्रेष्ठ र चन्द्रप्रसाद ढकाल, महासंघको कार्यकारिणी समितिका सदस्यहरू दिनेश श्रेष्ठ, अविनास बोहोरा, हेमराज ढकाल, ज्योत्सना श्रेष्ठ, सार्क उवासंघ (नेपाल)का सदस्यसहित १६ सदस्यीय महासंघको प्रतिनिधिमण्डलले भाग लिइरहेको छ ।
कार्यक्रममा ढकालले दुई ठूला अर्थतन्त्रको बीचमा रहेको नेपाल, पारवहन आर्थिक केन्द्र बन्ने सम्भावना रहेको भन्दै नेपाल यतिखेर अन्तर्राष्ट्रिय लगानीका लागि उर्वर क्षेत्र भएको बताए । नेपाल सरकार विभिन्न सहुलियत प्याकेजसहितको नीतिगत सुधारका माध्यमबाट वैदेशिक लगानी आकर्षण गर्न लागि परेको उनले बताए । नेपाल सरकारसँग नजिकमा रहेर साझेदारी गरिरहेको नेपाली निजी क्षेत्रले द्विपक्षीय तथा वहुपक्षीय व्यापार तथा लगानी आकर्षणका लागि उपयुक्त वातावरण निर्माणमा सहजीकरण गरिरहेको उनले जानकारी दिए ।
नेपालमा लगानी गर्ने चीन सवैभन्दा प्रमुख राष्ट्र भएको भन्दै उनले केन्द्रीय तथ्यांक विभागको पछिल्ला तथ्यांकअनुसार नेपालमा करिव १ हजार ३२३ वटा संयुक्त लगानीका परियोजनाहरू सञ्चालनमा रहेको तथ्यांक पेश गरे । नेपालमा राजनीतिक स्थिरता कायम हुँदै गएको, पाँच वर्षका लागि स्थिर सरकार गठन भई क्रियाशील रहेको र ऐन कानुनहरू पनि वैदेशिक लगानीमैत्री रहेको उनको भनाइ छ । ढकालले ऊर्जा विकासका लागि नेपाल–भारत सरकारबीच उर्जा व्यापार सम्झौता सम्पन्न भई प्रसारण लाइन निर्माण लगायत उर्जा क्षेत्रसँगसम्बन्धी महत्वपूर्ण गतिविधि सञ्चालन भैरहेको जानकारी गराए ।
उर्जा क्षेत्रमा लगानी गर्नेका लागि नेपाल सरकारले निकै धेरै सहुलियत र सुविधासमेत दिएको जानकारी गराउँदै उनले नेपालमा लगानी गर्ने लगानीकर्ताले शतप्रतिशत मुनाफा स्वदेश फिर्ता लैजान सक्ने कानुनी व्यवस्था रहेको स्पष्ट पारे ।

प्रतिक्रिया दिनुहोस्