सम्पत्ति शुद्धीकरणका विषयमा सूचक संस्था सजग हुनुपर्ने «

सम्पत्ति शुद्धीकरणका विषयमा सूचक संस्था सजग हुनुपर्ने

रुपन्देही-सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी नियन्त्रण गर्न सूचक संस्थाहरूको प्रमुख भूमिका रहने सरोकारवालाले बताएका छन् । नेपाल राष्ट्र बैंक सिद्धार्थनगरको आयोजनामा भैरहवामा भएको कार्यक्रममा सरोकारवालाहरूले सपत्ति शुद्धीकरण र आतंककारी क्रियाकलापमा वित्तीय लगानी हुने सम्भावना बढी रहेकाले सूचक अर्थात बैंक तथा वित्तीय क्षेत्र चनाखो हुनुपर्ने बताएका हुन् ।
नेपाल राष्ट्र बैंक वित्तीय जानकारी इकाइका उपनिर्देशक रमेश आचार्यले शंकास्पद गतिविधिका कारोबार हुन थाले सम्बन्धित निकायमा तुरुन्त खबर गर्नुपर्ने बताए । उनले सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी नियन्त्रणमा सूचक संस्थाहरूको दायित्व बिषयमा जानकारी दिँदै बैंक तथा वित्तीय क्षेत्रमार्फत अवैध सम्पत्तिलाई बैध गराउने प्रयास गरिने हुनसक्ने सम्भावना प्रबल हुने बताए । ऐन नियमअनुसार काम सम्पन्न र अस्वाभाविक तथा शंकास्पद कारोबार भएको देखिएमा तुरुन्तै नियामक निकायलाई जानकारी गराउनुपर्ने उनको भनाइ थियो ।
उपनिर्देशक आचार्यले खातामा जम्मा गर्न ल्याएको रकममाथि कुनै शंका लागेमा, कारोबारमा शंकास्पद गतिविधि देखिएमा, विद्युतीय अथवा एटिएम कारोबार अधिक भए अथवा खाता सञ्चालकको आवश्यक कागजात माग गर्दा बुझाउन आलटाल गरेमा बैंकरहरूले ध्यान दिनुपर्ने बताए । उनले सबै धन (रकम) कालो नहुने भन्दै ग्राहकलाई अनावश्यक दुःख दिने, शंका उपशंका गर्न नहुनेमा समेत जोड दिए ।
अहिले केवाईसीका कारण धेरै ग्राहकको बैंकप्रति नकारात्मक धारणा हुन थालेको भन्दै सुरुमा एक पटक सबै कागजात लिएर बैंक खाता खोलिसकेपछि बारम्बार केवाईसिका नाममा टर्चर गर्न नहुने पनि उनले बताए । शंकास्पद कारोबारी र सामान्य कारोबारी (ग्राहक)लाई हेर्ने दृष्टिकोण फरक हुनुपर्ने उनको भनाइ थियो ।
नेपाल राष्ट्र बैंक सिद्धार्थनगर शाखाका निर्देशक अशोककुमार पौडेलले बैंक तथा वित्तीय संस्थाले बिद्यमान नीतिगत व्यवस्थाको परिपालना, आन्तरिक नियन्त्रण प्रणाली र जोखिम न्यूनीकरणमा जोड दिँदै शंकास्पद कारोबारका बारेमा चनाखो हुनुपर्ने र अस्वाभाबिक कारोबार भएको देखिएमा तुरुन्तै सम्बन्धित निकायमा जानकारी गराउनुपर्नेमा जोड दिए । कार्यक्रममा सिद्धार्थनगर शाखाका उपनिर्देशक प्रकाश राई, सहायक निर्देशक रमेशकुमार न्यौपाने लगायतले बैंक तथा वित्तीय क्षेत्रमा हुन सक्ने शंकास्पद कारोबारका बारेमा चर्चा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्