चिज बिक्रीबाट गाउँमा लाखौं भित्रियो «

चिज बिक्रीबाट गाउँमा लाखौं भित्रियो

म्याग्दी-चिज बिक्री गरेर म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारका कृषकले लाखौं रुपैयाँ आम्दानी गरेका छन् । घारको हिमालयन चिज उत्पादन सहकारी संस्थाले सञ्चालन गरेको उद्योगबाट आर्थिक वर्ष २०७४-७५ मा करिब ४१ लाख रुपैयाँबराबरको चिज र घ्यू बिक्री भएको छ । ३६ लाख १६ हजार ३ सय रुपैयाँ बराबरको ४ हजार २ सय ५८ किलो चिज र ४ लाख ४५ हजार ४ सय ८७ रुपैयाँ मूल्यबराबरको ५ सय २४ किलोग्राम घ्यु उत्पादन भएको संस्थाका सचिव श्याम खड्काले जानकारी दिए ।
चिज र घ्यू बिक्री गरेर संस्थाले ४० लाख ६४ हजार ७ सय ८७ रुपैयाँ आम्दानी गरेको छ । “प्रतिकिलो चिज र घ्यू ८५० रुपैयाँका दरले बिक्री हुने गरेको छ,” सचिव खड्काले भने, “असार यता उत्पादन भएको करिब १ हजार २०० किलो चिज बिक्रीका लागि बजार पठाउन तयारी अवस्थामा छ ।”
संस्थामा आबद्ध २० जना कृषकले चिज उत्पादनका लागि दैनिक दुई सय लिटरका दरले दूध बिक्री गर्दै आएका छन् । कृषकले गुणस्तर अनुसार प्रतिलिटर दूधको ६० रुपैयाँसम्म मूल्य पाउने गरेका छन् । उद्योगमा दुई जनाले पूर्ण रोजगारी पाएका छन् ।
घोडेपानी, तातोपानी, मुस्ताङ, टाडापानी, बेनी र पोखराका पर्यटकीय होटलमा चिजको खपत हुन्छ । प्रोट्रिनयुक्त चिज पर्यटकले रुचाउँछन् । चिजको माग बढेकाले गाईपालन विस्तार अभियान सञ्चालन गरिएको संस्थाका अध्यक्ष गोविन्द खड्काले बताए । कृषकलाई बिनाब्याजमा ऋण उपलब्ध गराएर उन्नतजातका गाईपालनमा प्रोत्साहन गरिएको छ ।
गतवर्ष सात वटा गाई थपिएका छन् । फागुनमा गाई किनेका कृषकले दूध बेचेर अहिलेसम्म ऋण तिरीसकेका छन् । एक जना कृषकले पाँच वटासम्म जर्सी गाई पालेका छन् । गाउँपालिकाले चालू आर्थिक वर्षमा घारमा गाईपालन गर्ने कृषकलाई प्रोत्साहनका लागि अनुदान उपलब्ध गराउन बजेट बिनियोजन गरेको छ ।
उन्नतजातको गाई खरिद, ढुवानी र पालनका लागि प्रोत्साहन गर्ने उद्देश्यले प्रतिगाई २० हजार रुपैयाँका दरले अनुदान उपलब्ध गराउन ३ लाख रुपैयाँ बिनियोजन गरिएको वडा अध्यक्ष कृष्णप्रसाद बरुवालले बताए ।
सन्तोष गौतम

 

प्रतिक्रिया दिनुहोस्