निगमलाई १५ दिनमा २५ करोड घाटा

नेपाल आयल निगमलाई पछिल्लो १५ दिनमा २५ करोड रुपैयाँ घाटा भएको छ । डलरको मूल्यवृद्धि भएसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चातेलको मूल्य बढेकाले निगमलाई १५ दिनमा २५ करोड रुपैयाँ घाटा भएको हो ।
इन्डियन आयल कर्पाेरेसन (आईओसी)ले बिहीबार पठाएको मूल्यसूचीअनुसार डिजेल र पेट्रोलको मूल्य बढेर आएकाले निगमको घाटा बढेको हो । आईओसीले पठाएको मूल्य अनुसार पेट्रोलमा प्रतिलिटर ६० पैसा र डिजेलमा ७५ पैसा भारतीय रुपैयाँ बढेर आएको छ । मूल्य बढेर आएकाले निगमलाई डिजेलमा प्रतिलिटर २ रुपैयाँ ३६ पैसा र पेट्रोलमा प्रतिलिटर १६ पैसा घाटा भएको छ । यसअघि पेट्रोलमा ८७ पैसा नाफा र डिजेलमा १ रुपैयाँ १४ पैसा घाटा थियो । निगमका प्रवक्ता वीरेन्द्र गोइतले मूल्य बढेर आएकाले निगमको १५ दिनमा घाटा बढेर २५ करोड रुपैयाँ पुगेको बताए । निगमको घाटा बढ्दै गएकाले पनि एक दुई दिनमा इन्धनको मूल्य समायोजन गरिने उनले जानकारी दिए ।
निगमलाई हवाई इन्धन र मट्टितेल नाफा भए पनि डिजेल, पेट्रोल र ग्यासमा घाटा छ । निगमलाई सबैभन्दा धेरै खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डर २ सय ८० रुपैयाँ घाटा छ । निगमलाई ग्यासमा मात्र महिनामा ६७ करोड रुपैयाँ घाटा छ । हवाई इन्धन र मट्टितेलमा भएको नाफाले निगमले ग्यासको घाटा व्यवस्थापन गर्दै आएको छ । आइओसीले प्रत्येक महिनाको १ र १६ तारिखमा नयाँ मूल्य पठाउने गर्छ । सोहीअनुसार निगमले स्थानीय बजारमा मूल्य समायोजन गर्ने गर्छ । तर, पछिल्लो केही समय यता स्वचालित मूल्य पूर्णरूपमा लागू गर्न सकेको छैन ।