Logo

स्थिरीकरण कोष लुकाएर इन्धनमा महँगी

कोषले तीन पटकलाई मात्र मूल्य समायोजन गर्न सकिन्छ :निगम


नेपाल आयल निगमले इन्धनको मूल्य उच्च हुँदा उपभोक्तालाई भार नपार्न भन्दै विगतमा जम्मा गरेको रकम लुकाएर लगातार मूल्यवृद्धि गरिरहेको पाइएको छ । विगतमा निगमको नाफा उच्च हुँदा उपभोक्तालाई राहत दिन जम्मा गरिएको मूल्य स्थिरीकरण कोषको थन्काएर इन्धनमा लगातार मूल्य बढाइएको हो ।
केपी ओली नेतृत्वको सरकार गठन भएयता मुलुकमा पेट्रोलियम पदार्थको मूल्य ५ पटक बढिसकेको छ । तर, इन्धनको मूल्य लगातार वृद्धि हुँदा व्यवस्थापन गरिने रकम प्रयोग नगरी निगमले लगातार इन्धनको मूल्य बढाएको हो । अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य लगातार बढ्दै जाँदा उपभोक्तालाई राहत दिने उद्देश्यका साथ २०७१ सालदेखि मूल्य स्थिरीकरण कोष खडा गरी उपभोक्ताबाट रकम संकलन गरिँदै आएको छ ।
कोषमा अहिले ४ अर्ब रुपैयाँ संकलन भएको छ । जुन रकम प्रयोग नगरी इन्धनमा मूल्य बढाउदा त्यसको प्रत्यक्ष मार उपभोक्तामा परेको छ । सो कोषको रकम निगमले अहिलेसम्म उपयोग नगरी मूल्यवृद्धिको भार उपभोक्तामा थुपारेको छ ।
इन्धनको मूल्यवृद्धि हुँदा त्यसको असर अर्थतन्त्रमा चौतर्फी रूपमै परेको छ भने जनताको दैनिक जीवनयापन पनि सकसपूर्ण भएको छ । दैनिक उपभोग्यस्तु वस्तुदेखि अधिकांश क्षेत्रमा त्यसको प्रत्यक्ष असर परेको छ । अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढेर आएकाले स्वचालित मूल्य प्रणाली अनुसार मूल्यवृद्धि गरिएको निगम प्रवक्ता वीरेन्द्र गोइतको भनाइ छ । मूल्य समायोजन नगर्दा निगमको मासिक घाटा १ अर्ब १० करोड नाघ्ने देखियो,” उनी भन्छन्, “कोषको रकमले तीन पटकभन्दा बढी नपुग्ने भएकाले मूल्यवृद्धिको विकल्प छैन ।”
मूल्य स्थिरीकरण कोष खडा गरी सबै पेट्रोलियम पदार्थको खुद्रा मूल्यमा उपभोक्ताबाट ०.५ प्रतिशतका दरले रकम संकलन गर्दै आएको थियो । सो रकमलाई बढाएर ०७३ जेठदेखि निगमले इन्धनको खुद्रा मूल्यको १ प्रतिशतका दरले कोषमा रकम जम्मा गर्दै आएको छ । तर, सो रकम परिचालन नगरी इन्धनमा मूल्य बढाएर उपभोक्तालाई भार थपेको छ । प्रत्येक महिना मूल्य स्थिरीकरण कोषमा उपभोक्ताबाट पेट्रोल प्रतिलिटरमा १ रुपैयाँ १३ पैसा, डिजेलमा ९५ पैसा, हवाई इन्धन आन्तरिकमा १ रुपैयाँ र बाह्यमा १ रुपैयाँ १५ पैसा संकलन गदै आएको छ । यस्तै, खाना पकाउने एलपी ग्यासबाट पनि प्रतिसिलिन्डर १३ रुपैयाँ ७५ पैसा स्थिरीकरण कोषकै लागि संकलन हुँदै आएको छ ।
राष्ट्रिय उपभोक्ता मञ्च नेपालका अध्यक्ष प्रेमलाल महर्जन इन्धन अपचलन हुने नाममा मूल्य बढाएर उपभोक्तालाई प्रत्यक्ष मार पारिएको बताउँछन् । “मूल्य स्थिरीकरण कोषमा रहेको रकमबाट शोधभर्ना नगरेर निगमको घाटा पूर्ति गर्नुपर्छ र उपभोक्तालाई थप महँगीको मारबाट जोगाउनुपर्छ,” उनी भन्छन् । इन्धनको मूल्य लगातार वृद्धि गर्दा त्यसको प्रत्यक्ष असर उपभोक्तामा पर्न गएको उनको भनाइ छ । अर्कोतर्फ मूल्यवृद्धि नगर्दाको जोखिम तस्करी हुनसक्ने निगमको भनाइ छ । सीमा नाकाको तुलनामा नेपालमा सस्तो हुँदा पुनः इन्धन बाहिर जाने गरेको निगमका अधिकारीहरू बताउँछन् ।
शनिबार इन्धनमा मूल्य बढाउँदा पनि भारतको तुलनामा नेपालमा पेट्रोल प्रतिलिटरमा २२ रुपैयाँ ७२ पैसा र डिजेल प्रतिलिटरमा २४ रुपैयाँ ९५ पैसा कम मूल्यमा पाइन्छ ।

 

प्रतिक्रिया दिनुहोस्