Logo

कुकुरको संख्या नियन्त्रण गर्न स्थायी बन्ध्याकरण

हेटौंडा- हेटौंडामा कुकुरको संख्यामा वृद्धि भएपछि त्यसलाई नियन्त्रण गर्न स्थायी बन्ध्याकरण सुरु गरिएको छ । कुकुरको संख्यामा वृद्धि हुन नदिनका लागि उपमहानगरपालिकाले एक हस्ता लामो शिविर हेटौंडामा सुरु गरेको छ । शिविरमा दुबैलिंगी कुकुरको बन्ध्याकरण गरिने जनाइएको छ ।
हेटौंडा उपमहानगरपालिकाको आयोजना तथा पेट्स होम धरान, हार्ट पोखरा र जिल्ला पशुसेवा कार्यालय मकवानपुरको प्राविधिक सहयोगमा छाडा रुपमा छोडिएका कुकुरको बन्ध्याकरण गर्न सुरु गरिएको हो । कुकुरलाई जम्मा गरेर बेहोस बनाएर मानिसलाई जसरी नै ६ जना पशु डाक्टरको सक्रियतामा बन्ध्याकरण गर्न लागिएको हो ।
सोमबार र मंगलबार गरी करिब १ सय वटा कुकुरको स्थायी बन्ध्याकरण गरेर जहाँबाट उठाएर ल्याइएको हो, त्यहीँ छोडिएको छ । कुकुरलाई बन्ध्याकरण गर्नुका साथै रेबिज खोप समेत लगाएर छोडिएको छ । शिविरमा भाले कुकुरको अण्डकोष र पोथी कुकुरको पाठेघर निकालेर फालिएको पेचहोमका सञ्चालक शंकुकर्ण श्रेष्ठले बताए । हेटौंडाको समुदायस्तरमा हिँडडुल गर्ने छाडा प्रकृतिका कुकुरलाई नियन्त्रणमा लिएर शिविरमा ल्याइएको हो । स्थायी बन्ध्याकरण गरेका सबै कुकुरहरूलाई गलामा रातो बेल्ड लगाएर छोडिएको छ ।
कुकुरको स्थायी बन्ध्याकरण शिविर वैशाख ३० गतेसम्म हेटौंडाको पशुसेवा कार्यालयको हाताभित्रमा सञ्चालन हुनेछ । कुकुरलाई विष खुवाएर बिगतका वर्षहरूमा उपमहानगरपालिकाले मार्ने गरेपनि यसवर्ष पशु अधिकारको रक्षा गर्दै कुकुरलाई पनि बन्ध्याकरण गर्न लागिएको हो । शिविरको उदघाटन गर्दै हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले घरमा पालिएका भन्दा पनि बाहिर छोडिएका कुकुरहरूको संख्या धेरै बढ्दै गएकोले बन्ध्याकरण गर्नु परेको बताए ।

प्रतिक्रिया दिनुहोस्