Logo

ग्यास खपत १५ प्रतिशतले बढ्दो

मुलुकमा वार्षिक रूपमा १५ प्रतिशतका दरले खाना पकाउने एलपी ग्यासको खपत बढ्दै गएको छ । ग्यासको खपतदर बढ्दै गएसँगै सोही अनुपातमा आयात दर पनि उच्च हुँदै गएको तथ्यांकले देखाएको छ । सहरी क्षेत्रमा मात्र नभई ग्रामीण क्षेत्रमा पनि दाउरा गुइँठाको अभावले गर्दा ग्यासको खपत दर बर्सेनि बढ्दै गएको हो ।
नेपाल आयल निगमका एलपीजी विभागका निर्देशक दीपक बरालले बर्सेनी ग्यासको खपत १५ प्रतिशतका दरले बढ्दै गएको बताए । बढ्दो सहरीकरणले दाउरा गुइँठाको अभाव हुँदै गर्दा पनि ग्यासको खपत दिनप्रतिदिन बढ्दै गएको उनको भनाइ छ । ग्यास दाउराभन्दा सस्तो भएकाले पनि सर्वसाधारण आकर्षित भएको उनी बताउँछन् । बजारमा दाउरा महँगो हुँदै गएको र ग्यास प्रयोगले धूवाँधूलाको समस्या पनि नहुने हुँदा यसतर्फ उपभोक्ताको आकर्षण दिनप्रतिदिन बढ्दै गएको उनको भनाइ छ ।
ग्यासका लागि मात्र बर्सेनि ३० देखि ४० अर्ब रुपैयाँ बाहिर जाने गरेको तथ्यांकले देखाएको छ । मुलुकमा पछिल्लो ९ महिनामा झन्डै ३ लाख टन खाना पकाउने एलपी ग्यास आयात भएको छ । निगमका अनुसार मार्च महिनासम्म २ लाख ७४ हजार २ सय ४४ टन ग्यास आयात भएको छ ।
निगमको तथ्यांकअनुसार जुलाईमा १४ हजार २ सय ६३ मेट्रिक टन आयात भएकोमा अगस्टमा २६ हजार ३५ टन आयात भएको थियो । यस्तै सेप्टेम्बरमा ३० हजार ६ सय २१ टन र अक्टोबरमा २९ हजार ९ सय १६ टन आयात भएको थियो । यस्तै नोभेम्बरमा ३३ हजार ८ सय ७४ टन तथा डिसेम्बरमा ३१ हजार ८ सय ९ टन आयात भएको थियो ।
यस्तै जनवरीमा ३५ हजार ३ सय ५७, फेब्रुअरीमा २६ हजार १ सय ७४ टन र मार्चमा ३४ हजार ६ सय ८६ मेट्रिक टन आयात भएको छ । मुलुकमा पर्याप्तमात्रामा विजुली उत्पादन गर्न सके ग्यासको आयात प्रतिस्थापन गर्न सकिने ऊर्जाविद्हरुको भनाइ छ । बिजुलीभन्दा पनि ग्यास सस्तो हुँदा ग्यासको खपत झनै बढ्दै गएको देखिन्छ ।
आर्थिक वर्ष ०६४-६५ मा ९३ हजार ८ सय ३७ टन ग्यास आयात भएको थियो । तर, आर्थिक वर्ष ०७३-७४ सम्म आइपुग्दा बढेर २ लाख ९४ हजार टन पुगेको छ । निगमका अनुसार आर्थिक वर्ष ०७१-७२ मा २ लाख ५९ हजार ९ सय टन ग्यास आयात भएकोमा आव ०७३-७४ मा आएर ३ लाख १४ हजार ८ सय टन आयात भएको थियो । आर्थिक वर्ष ०७२-७३ मा भारतले गरेको नाकाबन्दीका कारण २ लाख १७ हजार टन ग्यास आयात भएको थियो ।
मुलुकभर २१ प्रतिशत घरधुरीले खाना पकाउने एलपी ग्यासको प्रयोग गर्ने गरेको तथ्यांकले देखाएको छ । आयल निगमका अनुसार ५४ लाख ३३ हजार २ सय ९७ घरधुरीमध्ये ११ लाख ४० हजार ६ सय ६२ घरधुरीले ग्यासको प्रयोग गर्ने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्