Logo

उखुको रकम भुक्तानी नगर्ने चिनी मिलको खाता रोक्का

उखु किसानको रकम भुक्तानी नगर्ने दुई उद्योगका सञ्चालको बैक खाता रोक्का हुने भएको छ । तोकिएको समयभित्र रकम भुक्तानी नगर्ने ती चिनी उद्योगको कारोबार रोक्का गर्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले बैंक खाता रोक्का गर्न पत्राचार गर्ने निर्णय गरेको हो ।
बुधबार पत्रकार सम्मेलन गर्दै मन्त्रालयले तोकिएको समयसीमा भित्र उखुको रकम भुक्तानी नगर्ने अन्नपूर्ण सुगर एण्ड जनरल उद्योग र लुम्बिनी चिनी उद्योगको खाता रोक्का गरिएकोे जानकारी दिएको हो ।
मन्त्रालयका प्रवक्ता दिनेश भट्टराईले उखु किसानको बक्यौता रकम भुक्तानी नगर्दासम्म ती दुवै मिलका बैंक खाता रोक्का गर्न राष्ट्र बैंकलाई पत्राचार गरिसकेको जानकारी दिए ।
ती उद्योगहरु मन्त्रालयको सम्पर्कमा नआएकाले आर्थिक कारोबार रोक्का गर्ने तयारी भएको उनको भनाई छ । उखु किसानसँग यी मिलले माघ ७ गतेभित्र सम्पूर्ण बक्यौता रकम बुझाउने सहमति गरेका थिए ।
मन्त्रालयका अनुसार ५ वटा उद्योगले कृषकको सबै भुक्तानी गरिसकेको छ । जसमा हिमालयन सुगर मिल्स् प्रालि, इन्दुशंकर चिनी उद्योग प्रालि इष्टर्न सुगर मिल्स्, रिलायान्स सुगर एण्ड केइ प्रालि र भागेश्वर सुगर प्रालि रहेका छन् ।
मन्त्रालयको निर्देशनपछि सबैभन्दा धेरै महालक्ष्मी सुगर मिलले तिरेको छ । यो मिलले माघ ५ गतेसम्म कृषकको ११ करोड ५० लाख भुक्तानी गरेका छन् । यो उद्योगले २१ करोड ४० लाख तिर्न बाँकी रहेको छ । यस्तै अन्नपूर्ण सुगर मिलले ४२ करोड बक्यौतामा ३ करोड ९० लाख मात्र भुक्तानी गरेको छ ।
यसैगरी एभरेष्ट सुगर मिलले बैंक खाता नभएका कृषकका बाहेक सबै कृषकको भुक्तानी दिएको मन्त्रालयले जनाएको छ । यस्तै बाबा बैजुनाथ चिनी उद्योग र वाग्मती खाडसारी मिल्स प्रालि सम्पर्क बिहिन भएका छन् । यी दुई उद्योगको ८ करोड ४१ लाख रुपैयाँ बक्यौता रहेको छ ।
मन्त्रालयले अन्नपूर्ण चिनी मिललाई नेपाल विद्युत् प्राधिकरणबाट पाउनु पर्ने रकम पनि रोक्का गर्न निर्देशन दिएको छ ।
उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट र उखु किसानबीच पुस १८ गते माघ ७ भित्र सबै भुक्तानी दिइसक्नुपर्ने सहमति भएको थियो । किसानले उखु उद्योगबाट २०७० सालदेखिको बक्यौता रकम पाएका छैनन् । रकम प्राप्त गर्न वर्षेनी स्थानीयस्तरमा आन्दोलन गरे पनि सुनुवाइ नभए पछि उनीहरूले पुस १० गतेदेखि काठमाडौंको माइतीघर मण्डलामा साताव्यापी आन्दोलन गरेका थिए । उखु किसानले वर्षेनी यस्तो समस्या भोग्दै आएका छन् ।
उखु किसान र चिनी मिलका समस्या दिगो रुपमा समाधान गर्नका लागि गठित कार्यदलले कार्य विवरण बमोजिम काम सुरु गरिसकेको मन्त्रालयले जानकारी दिएको छ । उखु किसानलाई अनुदान दिने सम्बन्धी कार्यविधि २०७५ अनुसार हालसम्म ९२ करोड ४ लाख रुपैयाँ कोष तथा लेखा नियन्त्रक कार्यालयमा विनियोजन भएकोमा गत पुस २० गतेसम्म २३ करोड रकम अनुदान भुक्तानी भएको मन्त्रालयलले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्