‘भक्तपुरमा अन्तरघात भएको होइन’

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य तथा पूर्वमन्त्री आनन्द पोखरेलले हालै सम्पन्न भएको उपनिर्वाचनको मत परिणामप्रति नेकपा सन्तुष्ट रहेको स्पष्ट पारेका छन् । उनले वर्तमान सरकारले धाँधलीरहित वातावरणमा निर्वाचन सम्पन्न गराएको सुनाए । उनले भने, “यो भनेको निर्वाचन प्रणालीप्रतिको पनि सुधार हो ।”
सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता पोखरेलले भने, “हामी यो उपनिर्वाचनको मतपरिणामबाट खुशी छौं । हामीले प्रतिनिधिसभामा शतप्रतिशत, प्रदेशमा ७५ प्रतिशत निकालेका छौं । हाम्रो पकड रहेको धरानमा भने हामी पराजित भयौं ।” उनले निर्वाचन हुनुभन्दा अगाडि विभिन्न दलहरुले नेकपा र सरकारका बारेमा एउटा कोणबाट कुरा गर्ने गरेको र अहिले निर्वाचन भएपछि अर्कै कोणबाट कुरा गरेको सुनाए । उनले नेकपाविरुद्ध सबैले मोर्चाबन्दी र गठबन्धन गर्दा पनि उपनिर्वाचनमा राम्रो नतिजा आएको भन्दै यसलाई ऐतिहासिक सफलताको संज्ञा दिए ।
उनले प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा सरकार बनेपछि संवैधानिक रुपमा पनि मुलुक बलियो भएको दाबी गर्दै भने, “यो सरकारले भारतले मिचेको कालापनी, लिपुलेक र लिम्पियाधुराको सिमाको विषयमा पनि कडा निन्दा गरेको छ । सरकारले वार्ता तथा कूटनीतिक पहलको माध्यमबाट नेपालको भूमि फिर्ता गर्ने अडान लिएको छ । प्रधानमन्त्रीज्यूले एक इन्च पनि नेपालको भूमि मिच्न दिइँदैन भन्नुभएको छ ।”
पोखरेलले वर्तमान सरकारले मुलुकमा सुशासन कायम गरेको सुनाउँदै सरकारले ठूलादेखि साना सबै अपराधीलाई कारबाहीको दायरामा ल्याएको बताए । उनले भने, “सरकारले अपराधीलाई र बलात्कारीलाई कारबाहीको दायरामा ल्याउने काम गरेको छ । १२ वर्षअघि जिउँदै मान्छेलाई इँट्टाभट्टामा जलाउने आलम थुनामा हुनु, बलात्कारीहरु थुनामा हुनु यसको उदाहरण हो ।”
उनले भक्तपुर प्रदेशसभा (क) मा एकताबद्ध भएर नेकपाको उम्मेदवारलाई विजयी बनाउन मतदान भएको र पार्टीबाट कुनै अन्तरघात नभएको स्पष्ट पारे । उनले भने, “हामीले पूर्व, पश्चिम नभनीकन एकताबद्ध भएर मतदान गरेका हौं । म स्वयम् निर्वाचनको कमाण्डर थिएँ । सिंगो नेकपा एकतावद्ध थियो । त्यो क्षेत्रमा कांग्रेस र राप्रपा संयुक्तले गठबन्धन बनाए । त्यही भएर जित निकाल्न सकिएन ।”