Logo

पहिलोपटक जडीबुटी ढुवानी स्थल मार्गबाट

हुम्ला– व्यवसायीले यस वर्ष पैदल मार्गबाट जडीबुटी निकासी सुरु गरेका छन् । पैदल मार्गबाट ढुवानी दर सस्तो हुने भएपछि व्यवसायीले पैदल मार्गबाट निकासी सुरु गरेका हुन् । सडक मार्गले नछोएको हुम्लामा निर्माणाधिन कर्णाली करिडोर सडकको ट्रयाक खुलेसँगै व्यापारीले जडीबुटी स्थलमार्गबाट ढुवानी सुरु गरेका हुन् ।

जडीबुटी व्यवसायी छिरिङ लामाले यस वर्षबाट आफ्नो जडीबुटी पैदल मार्गबाट ढुवानी गरिएको बताए । माथिल्लो हुम्लाबाट सर्केगार्ड गाउँपालिका–६ को स्याल्तडीसम्म प्रतिकेजी खच्चडमा ढुवानी गरेको ३५ रुपैयाँ र त्यसबाट सुर्खेतसम्म प्रतिकेजी १२ रुपैयाँ ढुवानी लाग्ने गरेको छ । यसरी स्थलमार्गबाट जडीबुटीको ढुवानी गर्दा व्यापारीलाई ४७ मात्र लागत हुने गरेको छ ।

यसअघि सदरमुकाम सिमकोटसम्म ३० रुपैयाँ प्रतिकेजी स्थल ढुवानी र एक सय रुपैयाँमा हवाई ढुवानी हुँदै आएको थियो । हवाई मार्ग भन्दा स्थल मार्गबाट जडीबुटीको ढुवानी गर्दा व्यापारीलाई ८३ रुपैयाँ कम लागत पर्न गएको छ । व्यापारीले यसअघि सडक मार्ग नहुँदा हवाईजहाजबाट जडीबुटी नेपालगञ्ज र सुर्खेत ढुवानी गर्दै आएका थिए । प्रतिकेजी ८३ रुपैयाँ ढुवानी सस्तो पर्ने भएपछि व्यापारी पैदल मार्गबाट जडीबुटी ढुवानी गर्ने कार्यमा लागेका हुन् ।

उद्योग वाणिज्य संघका अध्यक्ष रामबहादुर भण्डारीले उडान कम भएका बेला जडीबुटी व्यापारीलाई हवाई मार्गबाट जडीबुटी ढुवानी गर्न सकस हुने गरेको विगत सम्झँदै यस वर्षबाट त्यो समस्याबाट व्यापारीलाई मुक्ति मिलेको बताए । पैदल मार्गबाट ढुवानी कार्य सुरु भएपछि जडीबुटी व्यापारी आर्थिक फाइदा मात्र नभएर समयमै सम्बन्धित स्थानमा पुर्‍याएर बिक्री गर्नसमेत सहज भएको छ । यस वर्ष हुम्ला जिल्लाबाट पाँच सय क्विन्टल जटामसी संकलन पुर्जी डिभिजन वन कार्यालयबाट जारी भएको छ ।

सिमकोटबाट हवाईजहाजले यात्रु बोक्नु पर्ने र मौसम अनुकुल भएपछि मात्र ढुवानी गर्नुपर्ने भएकाले गन्तव्यमा बेलैमा जडीबुटीको निकासी गर्न नसक्दा घाटा हुने गरेको थियो । हुम्लाका ५० भन्दा बढी व्यापारीले यसवर्ष स्थल मार्गबाट जडीबुटीलगायत अन्य सामान ढुवानी गरेका छन् । कर्णाली करिडोरको बाटोको गुणस्तर अझ वृद्धि हुन सके हुम्लामा उत्पादन हुने विभिन्न हस्तकलाजन्य सामान, जैविक अन्नबाली, सिमी, स्याउ, ओखरलगायतका सामानको निर्यात गरी हुम्लीले आर्थिक उपार्जन गर्न सक्ने सम्भावना रहेको छ ।

हाल नेपाली सेनाले खोलेको कालिकोटको खुलालुदेखि हुम्लाको सर्केगाड गाउँपालिकाको स्याँलतडीसम्म सवारी साधनको आवत जावत सहज रुपमा भइरहेको छ । यसअघि सर्केगाडको सल्लीसल्लामा बेलिब्रिज नभएको कारण सवारी साधनले सामानको ढुवानी सल्लीसल्लाबाट मात्रै गर्ने गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्