Logo

नौ करोडको पूरक बजेट

चितवन– भरतपुर महानगरपालिकाले नौ करोड तीन लाख रुपैयाँको पूरक बजेट सार्वजनिक गरेको छ । आइतबार १४ औं नगर सभाको बैठकमार्फत पूरक बजेट ल्याइएको हो । उपमेयर चित्रसेन अधिकारीले विनियोजन ऐन, २०८० ले चालु आर्थिक वर्षको लागि विभिन्न बजेट खर्च शीर्षक तथा उपशीर्षकअन्तर्गत खर्च गर्न दिएको अख्तियारी रकम पर्याप्त नभएकले पूरक बजेट ल्याउनु परेको बताए ।

चालु आर्थिक वर्षको लागि विनियोजन ऐनले अख्तियारी नदिएको नयाँ खर्च शीर्षकमा खर्च गर्न आवश्यक भएको, विभिन्न खर्च शीर्षक तथा उपशीर्षकअन्तर्गत नयाँ कार्यक्रम थप एवं संशोधन गर्नु परेको उनले बताए । बजेट शीर्षक तथा उपशीर्षकअन्तर्गत श्रोत सुनिश्चितता गरी योजना समयमै सम्पन्न गर्न, आर्थिक, भौतिक एवं सामाजिक र वातावरणीय पूर्वाधार विकास गरी समुन्नत र सुदृढ महानगर बनाई राष्ट्रको विकासमा टेवा पुर्‍याउने उनको भनाइ छ ।

साधन–स्रोत, अवसर र क्षमताको विकास तथा उच्चतम उपयोग गरी समृद्ध महानगर बनाउन, सेवा प्रवाहलाई सरल तथा प्रभावकारी बनाउन, र वित्त विश्लेषणमार्फत जोखिम न्यूनीकरण गर्ने उद्देश्यले पूरक बजेट ल्याइएको अधिकारीले बताए । महानगरले आर्थिक वर्ष २०८०/०८१ का लागि ६ अर्ब ३९ करोड ७९ लाख ९० हजार बजेट विनियोजन गरेको थियो । जसमध्ये चालुतर्फ विनियोजित दुई अर्ब ६७ करोड १४ लाख ८४ हजार हजार रुपैयाँमा पुस मसान्तसम्ममा ७९ करोड १ लाख १९ हजार खर्च भएको छ ।

पुँजीगत खर्चतर्फ विनियोजित तीन अर्ब ७२ करोड ६५ लाख ६ हजार रुपैयाँमा पुस मसान्तसम्म ४६ करोड ७७ लाख खर्च भएको छ । महानगरले यो वर्ष १ अर्ब ७५ करोड रुपैयाँ आन्तरिक आम्दानी प्रक्षेपण गरेकोमा पुस १८ सम्म ५३ करोड तीन लाख अर्थात् ३१ प्रतिशत संकलन भएको छ । आ.व. २०७९/८० बाट आ.व. २०८०/८१ मा अल्या गरेर ल्याएको रकम एक अर्ब २६ करोड ४४ लाख सञ्चितकोषमा रहेको छ ।

आ.व. ८०/८१ मा भुक्तानी दिन बाँकी तथा क्रमागत एवं अधुरो योजनासमेतको लागि एकमुष्ट एक अर्ब ६५ करोड आ.व. २०७९/८० मा बैंक मौज्दात रहेको रकमबाट खर्च हुने प्रक्षेपण गरिएको थियो । तर आ.व. २०८०/८१ मा वास्तविक भुक्तानी दिन बाँकी एवं क्रमागत तथा अधुरो योजना सम्पन्न गर्न १ अर्ब २४ करोड ४४ लाख देखिएकोले दुई करोड भुक्तानी बाँकी तथा क्रमागत योजना बजेट उपशीर्षकमा मौज्दात रहने देखिन्छ ।

साथै भरतपुर महानगरपालिकाको मर्मत सम्भार कोष खातामा बैकं मौज्दात रकम पाँच करोड एवं सहरी गरिब सहयोग कोष तथा भरतपुर वि.एम.रूप खातामा रहेको जम्मा रकम ७० लाख रुपैयाँ, समयमा कार्य सम्पन्न नगरी धरौटी जफत गरी प्राप्त भएको ४२ लाख, महानगरपालिकाको अन्य खाता फ्रिज ८८ लाख गरी नौ करोड आ.व. २०८०/८१ को लागि पूरक बजेट रहेको महानगर प्रमुख रेनु दाहालले बताइन् ।

पुरक बजेटबाट समपुरक साझेदारीकोषका लागि विद्युत प्राधिकरणसँग स्मार्ट लाईट साझेदारी कार्यक्रम दुई करोड ६७ लाख, डीपीआर तथा पुँजीगत परामर्श एवं इआईएसमेत नपुग ३५ लाख, रोड मार्किङ तथा क्याट आई एवं सहरी सौन्द्रर्यकरणतर्फ ४० लाख, चोक सुधार कार्यक्रम थप १५ लाख, मानव सेवा आश्रम पूर्वाधार निर्माण ३५ लाख, दुध अनुदान नपुग थप ४५ लाख, कक्षा एक देखि आठका दलित विद्यार्थी छात्रवृत्ती कार्यक्रम ३६ लाख, समपूरक साझेदारी दुई करोड, मागमा आधारित विभिन्न योजनाहरु दुई करोड, वडा नं १८ को विविध खर्च फ्रिज ६ लाख, ओपन जीम सामाग्री खरिद १० लाख, वालमैत्री वडा घोषणा कार्यक्रम नपुग थप ६ लाख, वडा नं १७ मा पुँजीगत कार्यक्रम चालु उपशीर्षकमा रहेको हुँदा पुँजीगत कार्यक्रमको लागि स्रोत व्यवस्थापन ६ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

नगर सभालाई सम्बोधन गर्दै महानगर प्रमुख दाहालले महानगरको विकासमा दीर्घकालीन महत्व राख्ने आयोजनाहरूमध्येका महानगरीय रिङ रोड र लिंक रोड सञ्जाल विस्तार, अन्तर्राष्ट्रियस्तरको सिटी हल, पुल्चोक गोन्द्राङ ६ लेनको सडक, बाइपास रोड र हुलाकी मार्ग विस्तार, शारदानगर, जखडीमाई, दिव्यनगर, पार्वतीपुर, मेघौली, धनगढा र चौकीडाँडा खानेपानी आयोजनालगायतका महत्वपूर्ण पूर्वाधार विकासका आयोजनाहरूमध्ये केही सम्पन्न भइसकेका छन् भने केही सम्पन्न हुने चरणमा रहेका बताइन् ।

यसका अतिरिक्त नारायणी तटलाई ‘सी बीच’ मोडलमा विकास, नारायणी नदीको तटबन्ध, नारायणी नदी नियन्त्रण आयोजना, भरतपुर विमानस्थलको विस्तार तथा मेघौली विमानस्थलको स्तरोन्नति,नारायणी नदीमा सिग्नेचर ब्रिज निर्माण, ज्ञानेश्वर सामुदायिक वन परिसरमा ओपन जु तथा वडा नं. ६ मा वन्य जन्तु उद्दार केन्द्र निर्माण जस्ता दूरगामी महत्व र बृहत लगानीका आयोजना अगाडि बढीरहेका जानकारी दिइन् ।

संघ, प्रदेश र हाम्रो लगानीमा महानगरको प्रशासनिक भवनको निर्माण कार्य पनि द्रुत गतिले अगाडि बढिरहेको छ भने नेपाल ट्रष्टको स्वामित्वमा रहेको ऐतिहासिक दियालो बंगलालाई भरतपुर भ्रमण वर्षको सन्दर्भ पारी पर्यटनका लागी अवलोकनका व्यवस्था मिलाईएको उनले बताइन् । उज्यालो भरतपुर कार्यक्रमअन्तर्गत स्मार्ट सडक बत्ती, हाई मास्ट एवं मिनिमास्ट बत्ती गरी ८० किमि सडकमा जडान भैसकेको छ भने नेपाल विद्युत प्राधिकरणसँगको साझेदारीमा दोस्रो प्याकेजको सम्झौता भई कार्य प्रारम्भ हुने चरणमा रहेको उनले उल्लेख गरिन् ।

‘हरित ऊर्जाको खपत, पेट्रोलियम पदार्थको बचत’ गर्ने नीति अनुरुप नेपाल विद्युत प्राधिकरणसँगको समन्वयमा थप चार्जिङ स्टेशनका लागि जग्गा व्यवस्थापन गरिएको र महानगरले विद्युतीय सवारी साधन खरिद गर्ने नीति अवलम्बन गर्दै इ–स्कुटर खरिद गर्ने प्रक्रियालाई अगाडि बढाइएको छ । महानगरभित्र विद्युतीय बससहित गुणस्तरीय र सुरक्षित यातायात सेवाको लागि प्रारम्भिक अध्ययन भइरहेको प्रमुख दाहालले बताइन् ।

जिइएसको प्रयोग गरी भू–उपयोग वर्गीकरण गर्ने कार्यका लागि परामर्शदाता छनोट गरिएको र संघीय सरकारको समन्वयमा भरतपुरका मुख्य सहरी क्षेत्रमा प्रशोधनसहितको ढल निकासको लागी सर्भे तथा डिपिआर भइरहेको जानकारी दिइन् । देश भित्रैको स्रोतसाधनलाई प्रयोग गरी पूर्वाधार निर्माण गर्ने नीति अनुरुप ६ मिटर भन्दा कम आर ओ डब्लु भएका सडक, भिरालो र घुम्ती चोकहरूमा ढलान गर्ने कार्य भइरहेको उनले बताइन् ।

केरुगां घोल, पुंगी खोलामा संरक्षण तथा सौन्दर्यीकरणका लागि निर्माण कार्य थालनी भएको र नारायणी किनारमा सी–बीच मोडेल सहितको मनोरञ्जन पार्क, आरती स्थललगायत सौन्दर्यकरणसहित निर्माणका लागि ठेक्का आह्वान भई निर्माणको चरणमा रहेको प्रमुख दाहालले बताइन् ।

सडक सौन्दर्यीकरण तथा सुरक्षाका लागि रोड मार्किङ र जेब्रा क्रसिङ राख्ने कार्य भइरहेको र खाल्डाखुल्डी मुक्त महानगर अभियानअन्तर्गत सडक मर्मतका कार्यहरूलाई प्राथमिकताका साथ कार्यान्वयन गरिएको उल्लेख गरिन् । नारायणी किनारको पर्यटकीय क्षेत्रका लागि स्मार्ट सार्वजनिक शौचालयको डिजाइन तयार भई निर्माणको लागि बोलपत्रको तयारी गरिएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्