Logo

परिसंघ र युएनसीडीएफबीच सहकार्य

काठमाडौं– नेपाल उद्योग परिसंघ (सिएनआई) संयुक्त राष्ट्रसंघ पुँजी विकास कोष (युएनसीडीएफ) बीच सहकार्य गर्ने सम्झौता भएको छ । दुई संस्था लगानी तथा व्यापार अभिवृद्धिमा सहयोग गर्न ‘अगोरा’ प्लेटफर्ममा आवद्ध भएको छन् ।

अगोरा विकासशील, उदीयमान र सीमावर्ती बजारका उद्यमी, लगानीकर्ता र विज्ञहरूसँग जोड्ने वेब प्लेटफर्म परियोजना हो । परिसंघका अध्यक्ष राजेशकुमार अग्रवाल र यूएनसीडीएफका उपकार्यकारी सचिव जेभियर मिचोनले अगोरा प्लेटफर्म सञ्चालन तथा आवद्धता सम्बन्धी सम्झौता आदानप्रदान गरेका छन् । अगोरा प्लेटफर्ममा आवद्ध भएको परिसंघ पहिलो संस्था हो ।

परिसंघले नेपाली उद्योगहरूको लागि लगानी प्रवर्द्धनलाई बढावा दिन अगोरा प्लेटफर्मलाई अगाडि बढाउनेछ । उत्पादन तथा सेवामूलक उद्योगहरुको प्रतिनिधिमुलक संस्था परिसंघले अगोराको घरेलु परियोजनाको निरीक्षण गर्नेछ । साथै नेपालका उद्यमी एवं व्यवसायीहरुलाई उद्यमशिलताको विकासका लागि आवश्यक पर्ने वित्तीयसहित विशेषज्ञता सेवा आवश्यकताको आधारमा दिइनेछ ।

अगोराले देशको औद्योगिक र संस्थागत क्षेत्रमा रोजगारीका अवसरहरू सिर्जना गर्दै स्वदेशी एवं विदेशी लगानी प्रवद्र्धन गर्ने परिसंघको दृष्टिकोणलाई सहयोग गर्ने छ । परिसंघका अध्यक्ष अग्रवालले युएनसीडीएफसँगको सहकार्यबाट नेपालमा लगानीको परिदृश्यलाई रूपान्तरण गर्न अगोरा प्लेटफर्म महत्वपूर्ण हुने विश्वास व्यक्त गरे । संयुक्त राष्ट्र संघको पुँजी विकास कोषले अगाडि सारेको ‘अगोरा’ मा नेपाली वस्तुहरुलाई आवद्ध गराउने र नेपाली वस्तुहरुको अन्तर्राष्ट्रिय बजारमा पहुँच पुर्‍याउन महत्वपूर्ण हुने उनले बताए ।

परिसंघले मेक इन नेपाल स्वदेशी अभियानमार्फत नेपाली वस्तुहरुको प्रवर्द्धनमा काम गर्दै आएको भन्दै उनले यस प्लेटफर्ममार्फत अन्तर्राष्ट्रिय बजारमा पहुँच पुग्ने मात्रै नभई अन्तर्राष्ट्रिय व्यवसायिक सञ्जालमा पुग्न प्रभावकारी माध्यम बन्ने बताए । उनले अगोराले सूचना प्रसारणमा भएको कमीलाई पुरा गरी व्यवसाय, उद्यमी र समुदायहरूलाई पुँजी निर्माणमासमेत योगदान गर्ने विश्वास व्यक्त गरे ।

यूएनसीडीएफका उपकार्यकारी सचिव मिचोनले परिसंघसँगको अर्थपूर्ण सहकार्य र साझेदारीले नेपाली वस्तुहरुको अन्तर्राष्ट्रिय बजारमा पहुँच विस्तार गर्न निकै सहयोग हुनेमा जोड दिए । उनले अगोराले विदेशी लगानीकर्ताहरूलाई ‘किन नेपाल’ बाट ‘किन नेपालमा नगर्ने’ भन्ने मानसिकतामा परिवर्तन ल्याउन मद्दत गर्न सक्ने समेत बताए । समान विचारधाराका साझेदारहरूसँगको सहकार्यमा युएनसीडीएफले सन् २०२३ को अन्त्यसम्ममा करिब २० देशहरूमा पुग्ने लक्ष्यका साथ अगोरालाई विश्वव्यापी सार्वजनिक हितका रूपमा अगाडि बढाइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्