शिव शिखर सहकारीमा पाँच करोड ठगी

म्याग्दी– म्याग्दी सदरमुकाम बेनीस्थित सञ्चालित शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाले करिब तीन सय सेयर सदस्यको पाँच करोड रुपैयाँ ठगी गरेको देखिएको छ । बेनी नगरपालिका–८ न्यूरोडमा स्थापना भएको सो सहकारी सात महिनादेखि बन्द छ । उक्त सहकारीले बचतकर्ताको चार करोड ६१ लाख रुपैयाँ फिर्ता गरेको छैन् । बचत रकम फिर्ता नभएपछि सेयर सदस्यले जिल्ला प्रहरी कार्यालय म्याग्दीमा बचत फिर्ता पाउँ भनी उजुरी गरेपछि ठगी गरेको कुरा बाहिर आएको हो ।
सहकारी ऐनसम्बन्धी कसुरमा पीडितहरूबाट उजुरी संकलन गरेर अनुसन्धान गरी सरकारी वकिल कार्यालयमार्फत शिव शिखर सहकारी विरुद्ध जिल्ला अदालत म्याग्दीमा मुद्दा दर्ता भइसकेको प्रहरी नायब उपरीक्षक मदन कुँवरले बताए । ‘सहकारी विभाग र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको परिपत्रका साथै बेनीका केही बचतकर्ताको उजुरीका आधारमा २०८० असार १७ देखि अनुसन्धान थालिएको थियो’, उनले भने,‘मुद्दा दर्ता भएको ९० दिनभित्र अनुसन्धानको सबै प्रक्रिया पूरा गरेर सरकारी वकिलमार्फत जिल्ला अदालत म्याग्दीमा मुद्दा अघि बढेको छ ।’
भक्तपुरको मध्यपुरथिमि नगरपालिका–३ कौशलटारमा केन्द्रीय कार्यालय रहेको शिव शिखर सहकारीले बेनीका बचतकर्ताले बचत गरेको साँवा र ब्याज फिर्ता नगरेको गुुनासो गरेका छन् । सहकारीले २०७९ बैशाखमा बेनीमा सदस्य सेवा केन्द्र विस्तार गरेको थियो । सुरुवातमा बचतकर्तालाई आकर्षक ब्याजदरको लोभमा करोडौं बचत संकलन गरेको सहकारीले ६ महिनाअघि आर्थिक संकटमा रहेको सूचना प्रकाशित गरेर कारोबार बन्द गरेको थियो । बेनीको न्यूरोडमा करिब ६ करोडमा सात आना क्षेत्रफलमा रहेको जग्गा र घर खरिद गरेर सहकारीले शाखा सञ्चालन गर्दै आएको थियो ।
सो सहकारीको बेनी शाखामा एक हजार चार सय ८४ जनाको ६ करोड १० लाख रुपैयाँ बचत रहेकोमा दुई सय ८२ जनाले मात्र उजुरी गरेका छन् । शिव शिखर जस्तै अन्य सहकारीबाट निक्षेप फिर्ता नगरेको जनाउँदै बेनी नगरपालिकाको न्यायिक समितिमासमेत सहकारी संस्थाविरुद्ध उजुरी पर्ने क्रम बढेको छ । पछिल्लो समय सहकारीले पैसा फिर्ता लिन आउने बचत कर्तालाई बचत फिर्ता गर्न नसक्दा निक्षेपकर्ताहरु निराश हुँदै फर्किन बाध्य छन् ।