Logo

वन्यजन्तु पीडितले पाए क्षतिपूर्ति

डिभिजन वन कार्यालय स्याङ्जाले वन्यजन्तुबाट भएको क्षतिपूर्तिवापत झण्डै १७ लाख रूपैयाँ राहत वितरण गरेको छ । गत आर्थिक वर्ष जिल्लामा वन्यजन्तुको आक्रमणबाट पाँच सयभन्दा बढी पशुधनको क्षति हुँदा १६ लाख ९७ हजार रुपैयाँ वितरण गरेको हो ।

आर्थिक वर्ष २०७९/०८० मा वन्यजन्तुको आक्रमणबाट जिल्लामा ५२३ खसी, बाख्रा, गाई, भैंसीलगायतका पशुधनको क्षति भएको डिभिजन वन कार्यालयका प्रमुख हुमबहादुर बल्छौँडीले बताए । गत आर्थिक वर्षमा तीनवटा मानवीय क्षतिका घटना भएका थिए । कार्यालयका अनुसार वन्यजन्तुको आक्रमणमा परी तीन जना व्यक्ति घाइते भएका थिए ।

मानवीय क्षति भएका व्यक्तिलाई क्षतिपूर्ति स्वरूप उपचार खर्च वापत एक लाख ११ हजार रूपैयाँ कार्यालयले उपलब्ध गराएको छ । पशुधनको क्षतिवापत कृषकलाई १५ लाख ८५ हजार रूपैयाँ उपलब्ध गराएको जनाइएको छ । गाउँघरमा विशेषगरी चितुवा र बाघको आक्रमणबाट मानवीय र पशुधनको क्षति हुने गरेको छ ।

जिल्लामा एक लाख एक हजार ३४९ हेक्टर वन क्षेत्र रहेको छ । जसमध्ये १६ हजार १५७ हेक्टर सरकारी वन छ भने बाँकी सामुदायिक, कवुलियति, धार्मिक, निजी वन र संरक्षण क्षेत्र रहेका छन् । डिभिजन वन कार्यालयको तथ्यांकअनुसार जिल्लामा ५२१ वटा सामुदायिक वन, ६० वटा निजी, १४ वटा कवुलियति वन, २ वटा धार्मिक वन छन् । जिल्लाको कुल क्षेत्रफलको करिब २५ प्रतिशत भू–भाग वन क्षेत्रले ओगटेको कार्यालयले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्