Logo

सहरको फोहर सामुदायिक वनमा

लमही नगरपालिकाले लामो समयदेखि अजम्मरी सामुदायिक वन क्षेत्रलाई फोहर फाल्ने डम्पिङ साइट बनाएको छ । फोहरमैला व्यवस्थापनको कुनै दीर्घकालीन योजना नबनाई वन क्षेत्रमा फोहर फाल्दा वातावरण दुर्गन्धित बनेको छ ।

वनको खुला चौरमा जथाभावी फालिएको सडेगलेका फोहर खाँदा कैयौँ जंगली जनावर मर्ने गरेका छन् भने त्यही फोहरको थुप्रोमा कबाडी खोज्न जानेले आगो लगाइदिँदा आगो जंगल क्षेत्रमा फैलिएर क्षति पुर्‍याउने गरेको छ । फोहरमैला व्यवस्थापन ऐन २०६८ को दफा ५० ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकारले फोहरमैला व्यवस्थापन नियमावली २०७० जारी गरे पनि दाङको लमही नगरपालिकाले भने अझैसम्म कार्यान्वयन गरेको छैन । लमही नगरपालिकाले बजार क्षेत्रका फोहर संकलन गरी वन क्षेत्रमा जथाभावी फाल्नाले दुर्गन्ध बढेको हो ।

विभिन्न उद्योग, घर, पसलबाट निस्किने फोहर जथाभावी फालिने गरिएको छ । गल्ने र नगल्ने दुवै प्रकारका फोहर नगरपालिकाले एकै स्थानमा डम्पिङ गर्दै आएको छ । गल्ने र नगल्ने फोहर अलग–अलग राख्ने भनेर डम्पिङ साइटमा दुईवटा घर निर्माण भएपनि ती घरहरू प्रयोगविहीन छन् । मानव स्वास्थ्यमै असर पर्ने गरी जंगलमा रक्सीका बोतल, लत्ताकपडा, प्लास्टिकजन्य वस्तु, मेडिकलमा प्रयोग भएका सुई, सिसा, बोतल जथाभावी फालिएका छन् । लमही नगरपालिकाले बजार क्षेत्रको फोहर जथाभावी फाल्ने गरेका कारण अजम्मरी सामुदायिक वन क्षेत्रमा दुर्गन्ध बढेको अजम्मरी सामुदायिक वन उपभोक्ता समितिको गुनासो छ ।

खुल्ला चौरमा फोहर यत्रतत्र छरिएको छ । त्यस फोहरका कारण जैविक ग्रिनपार्क, बजार, बसपार्क र बस्तीमा प्रत्यक्ष असर परेको अजम्मरी सामुदायिक वनका अध्यक्ष पवन शर्मा रिजालले बताए । ‘सामुदायिक वनमा फालिएको फोहरको दुर्गन्धका कारण जैविकपार्क आसपास बस्नसमेत समस्या भएको छ र मानव स्वास्थ्यमा समेत असर परेको छ,’ रिजालले भने । सामुदायिक वनको केही क्षेत्रफलमा जैविकपार्क निर्माण गर्न संघ, प्रदेश सरकार र नगरपालिका आफैले लाखौं बजेट विनियोजन गरेको छ तर सोहीस्थान नजिकै नगरपालिकाले फोहरको डम्पिङ साइट बनाएको छ ।

जसका कारण जैविक पार्कमा प्रत्यक्ष असर परेको छ । फोहर फाल्ने स्थानको दुर्गन्ध पार्कदेखि बजार तथा बस्तीसम्म आउने गरेको छ । लमही नगरपालिकाले अजम्मरी सामुदायिक वन क्षेत्रभित्र गल्ने र नगल्ने फोहर छुट्याउन भवन निर्माण गरेको छ । भवन प्रयोगविहीन हुँदा ती घरहरू मानसिक सन्तुलन गुमाएका सडक मानव र गाँजा खाने मानिसका अखडा भएको छ । लमही नगरपालिका–५ का वडाध्यक्ष ओमप्रसाद सुवेदीले अजम्मरी सामुदायिक वन क्षेत्रमा फालिने फोहरले वातावरण प्रदूषण भएको स्वीकार गर्दै नगरपालिकाले फोहर संकलनस्थल मानव बस्तीदेखि टाढा राख्नु पर्ने बताए ।

वन क्षेत्रभित्र रहेको फोहर स–साना खोल्साको नजिक भएकाले वर्षायाममा बगेर फेरि किसानका खेतमा र बजारतिर बगाएर ल्याउने गरेकोले स्थानीय पीडित बनेको बताए । सामुदायिक वनभित्र फोहर फाल्नु उचित होइन, अब छुट्टै स्थानको विकल्प खोज्नु पर्ने देखिएको वडाध्यक्ष सुवेदीले बताए । वन समितिले सामुदायिक वन क्षेत्रमा डम्पिङ साइट नराख्न आग्रह गरेको छ भने राख्न परे व्यवस्थित गर्न अनुरोध गरेको छ । वन क्षेत्रमा फालिएको फोहरबारे सर्वत्र रूपमा आलोचना भएपछि सामुदायिक वन समितिको आग्रहमा लमही नगरपालिका प्रमुख जोगराज चौधरीले पालिकाले डम्पिङ साइटको रूपमा प्रयोग गर्दै आएको स्थलको निरीक्षण गरेका छन् ।

निरीक्षणका क्रममा नगर प्रमुख चौधरीले फोहर व्यवस्थापनमा आफ्नो ध्यान गएको र केही समयपछि उक्त कामले गति पाउने बताए । नगरबासीलाई स्वस्थ राख्नु आफ्नो दायित्व भएको बताउँदै नगर प्रमुख चौधरीले फोहर व्यवस्थापन कार्यमा सबैको सहयोग आवश्यक पर्ने बताए । लमहीसँग यस क्षेत्रका अन्य पालिकाले पनि फोहर व्यवस्थापनमा दीर्घकालीन योजना ल्याउन सकेका छैनन् । राप्ती गाउँपालिका, गढवा गाउँपालिका र राजपुर गाउँपालिकाको अवस्था पनि उस्तै छ । विगतमा भालुबाङ बजारको फोहर राप्ती नदीनमा समेत फाल्ने गरिएको थियो । नदीमा फोहर फाल्दा नागरिकस्तरबाट आलोचना हुने गरेको थियो ।

राप्ती गाउँपालिकाले भने दीर्घकालीन रूपमा फोहर व्यवस्थापनका लागि काम भइराखेको बताएको छ । राजपुर गाउँपालिकामा भने सहरी क्षेत्र छैन । सहरी क्षेत्र नभएका कारण फोहर व्यवस्थापनको चुनौती खडा नभएको पालिकाले जनाएको छ । गढवा गाउँपालिकाले पनि फोहर व्यवस्थापनमा प्रभावकारी काम गर्न सकेको छैन । पालिकाको क्षेत्रमा पनि थोरै सहरी क्षेत्र छ । यता तुलसीपुर उपमहानगरपालिकामा पनि फोहर व्यवस्थापनमा चुनौती बन्दै गएको छ ।

फोहर व्यवस्थापनको स्थानमा यहाँ विगतदेखि चुनौती बन्दै आएको छ । पछिल्नो चरणमा तुलसीपुर उपमहानगरपालिकाको सारेको १८ नम्बर वडामा पर्ने क्षेत्रमा समेत चुनौती देखापरेको छ । घोराही उपमहानगरपालिकामा मात्र फोहर व्यवस्थापन सहज रूपमा भएको छ । यहाँ फोहरबाट ग्याससमेत निकाल्ने काम भएको छ । घोराहीले १६ नम्बर वडाको करौती डाँडामा फोहर व्यवस्थापन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्