दाङमा ८ प्रतिशत धान रोपाइँ

असार महिनाको आधा महिना सकिन लागेको छ । तर पनि पर्याप्त वर्षा हुन सकेको छैन । लामो समयसम्म जिल्लामा पानी पर्न नसक्दा किसानले धानको ब्याडसमेत राख्न पाएका छैनन् । असारको पहिलो सातादेखि जिल्लामा पानी पर्न सुरु गरेको हो । लामो खडेरीका कारण कृषकले धानको ब्याड राख्न नपाउँदा खेतहरू बाँझै छन् । केही दिनदेखि परेको पानीले बल्ल कृषकले धानको व्याड राख्न सुरुसार गरेका छन् । सिँचाइ हुने देउखुरीका केही क्षेत्रबाहेक जिल्लाका अधिकांश धानखेती हुने खेतमा धान रोपाइँ भएको छैन ।
कृषि ज्ञान केन्द्र दाङका अनुसार जिल्लामा ८ प्रतिशत धान रोपाइँ भएको छ । समयमा पानी नपर्दा जिल्लामा अधिकांश ठाउँमा किसानले धान रोप्न सकेका छैनन् । सिचाइँ सुविधा हुने केही स्थानमा धान रोपाइँ भए पनि अधिकांश ठाउँमा खेत बाँझै छन् । ढिलागरी पानी परेपछि अहिले किसानहरू धानको ब्याड राख्न थालेका छन् । जिल्लाको देउखुरी क्षेत्र राप्ती गाउँपालिका, गढवा गाउँपालिका, राजपुर गाउँपालिका र तुलसीपुर उपमहानगरपालिकाका केही क्षेत्रमा थोरै मात्रामा मात्रै धान रोपाइँ भएको कृषि ज्ञान केन्द्र दाङका सूचना अधिकारी तथा कृषि अर्थविज्ञ पृथ्वीराज लामिछानेले बताए ।
जिल्लामा सबैभन्दा बढी राप्ती गाउँपालिकामा धान रोपाइँ भएको छ । सूचना अधिकारी लामिछानेले भने, “मध्य असार भइसक्दा पनि यस वर्ष ढिलागरी वर्षात् हुँदा करिब आठ प्रतिशतमात्रै रोपाइँ भएको छ । बाँकी खेत बाँझै छ ।” सिँचाइ सुविधा हुने ठाउँमा पहिले ब्याड राखेका किसानले भने रोपाइँ सुरु गरेका छन् । विगतका वर्षमा यो समयमा ६० प्रतिशतसम्म किसानले धान रोपिसकेको थिए,” उनले भने, “तर अहिले आठ प्रतिशतमात्रै रोपाइँ भएको छ ।” पानी पर्न थालेको र किसानले राखेको व्याड पनि तयार हुने अवस्था भएकाले अब धान रोपाइँ बढ्ने उनले बताए ।
जिल्लामा ३९ हजार चार सय हेक्टर जमिनमा धानखेती हुने गरेको छ । तर सिँचाइ सुविधा नहुँदा आकाशे पानीको भर पर्नुपर्ने किसानलाई बाध्यता छ । चैते धान भित्र्याउने तयारीमा किसान जिल्लाका अधिकांस ठाउँमा किसानले रोपाइँको तयारी गरिरहँदा चैते धानखेती गरेका किसान भने धानबाली भित्र्याउने तयारीमा छन् । वर्षमा चैते र बर्खे गरी दुईबाली धानखेती गर्ने किसानहरू अहिले चैतेधान भित्र्याउने तयारीमा छन् । चैतेधान खेतमा पाक्न थालेसँगै किसान अब धान भित्र्याउने तयारीमा जुटेको बंगलाचुली गाउँपालिका–३ मूलावासी निवासी किसान कृष्णबहादुर नेपाली बताए ।
पहिले रोपेको धान पाक्न थालेको र बर्खे खेतीका लागि खेत तयार गर्नुपर्ने भएकाले किसानहरू चैते धान भित्र्याउने तयारीमा जुटेको उनले बताए । “चैतको अन्तिम सातातिर रोपेको धान पाक्न थालिसकेको छ । तर वैशाखमा रोपेको धान अझै पाकेको छैन । असारको अन्तिमसम्म पाक्ने भएकाले किसानहरू चैतेधान भित्र्याउने तयारीमा छन्,” उनले भने । पाँच रोपनी जग्गामा चैते धानखेती गरेका किसान नेपालीले यस वर्ष खडेरी लामो समयसम्म परे पनि धानमा कुनै रोग नदेखिएको र बाला पनि राम्रै लागेकाले उत्पादन बढ्ने आशा रहेको बताए । “आकाशबाट पानी नआए पनि सिँचाइको समस्या भएन । धानको बाला राम्रो लागेको छ,” उनले भने ।
विगतका वर्षभन्दा यस वर्ष चैते धान राम्रो रहेको मूलाबारीकै किसान भूमा घर्तीले बताइन् । समयमै धान खेतीसँगै मल र पानी पाइरहेकाले धानबाली राम्रो रहेको घर्तीले बताइन् । “समयमै खेतीसँगै मल र पानी धानले पाइरहेकाले धान राम्रो छ । जसले गर्दा उत्पादन बढ्ने आशा छ,” उनले भनिन् । हिउँदमा पनि सिँचाइको राम्रो सुविधा भएका खेतमा चैते धानखेती हुने गरेको छ । केही वर्ष अघिसम्म सरकारले किसानलाई चैते धान रोप्न प्रोत्साहन स्वरुप बिउ निःशुल्क दिनेदेखि सिँचाइका लागि कुलो मर्मतलगायतका काम गर्ने गरे पनि पछिल्लो समय सहयोग गर्न छोडेको किसानहरू बताउँछन् ।
घोराही उपमहानगरपालिका–१ को सुकाखोला र बंगलाचुली गाउँपालिका–३, ४ र ८ नम्बर वडाअन्तर्गत पर्ने गहतेरा, मूलाबारीलगायत विभिन्न ठाउँमा चैते धानखेती हुने गरेको छ । कृषि ज्ञान केन्द्र दाङका अनुसार जिल्लाका विभिन्न स्थानमा करिब दुई हजार पाँच सय हेक्टरमा चैते धानखेती हुने गरेको छ । तर पछिल्लो समय सिँचाइ र मलको अभाव, वर्षात्मा धान भित्र्याउन समस्या हुने भएकाले चैते धानखेती घट्दै गएको छ ।