उच्च संकुचनले उद्योगी नाजुक

नेपाल उद्योग परिसंघले उच्च संकुचनको कारण उद्योगी व्यवसायी नाजुक अवस्थामा पुगेको बताए । नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीसँग मुलुकको अर्थतन्त्र, श्रम तथा रोजगार क्षेत्रका विषयमा मंगलबार भएको छलफलमा परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले सो कुरा बताएका हुन् ।
उनको नेतृत्वले मंगलबार मन्त्री भण्डारीलाई बधाई तथा शुभकामना दिँदै विद्यमान अर्थतन्त्र र समस्या समाधानका विषयमा धारणा राखेको थियो । उच्च ब्याजदर, लगानी योग्य पूँजीको अभावलगायतका कारणले उद्योगी व्यवसायीको मनोबल निकै खस्किएको र अर्थतन्त्र सुधारका लागि उद्योगी व्यवसायीहरुको मनोबल बढाउन आवश्यक रहेकोमा अग्रवालले बताएका थिए ।
हालको अवस्था थप लम्बिएमा श्रम कटौती गर्नुपर्ने अवस्था आउनेतर्फ उनले ध्यानाकर्षण समेत गराए । अर्थतन्त्रलाई चलायमान बनाउन पुँजीगत खर्च बढाउनुपर्ने, खुम्चदो माग बढाउन हाल लागू गरिएको नीतिगत व्यवस्थामा केही लचकता अपनाइनुपर्ने, अवैध कारोबार रोक्न सीमा क्षेत्रमा कडाई गरिनुपर्नेलगायतका विषयमा परिसंघले जोड दिएको छ ।
यसैगरी परिसंघले श्रमिकहरुको उत्पादकत्व बढाउन १० प्रतिशतसम्म हायर एण्ड फायरको व्यवस्था गर्नु पर्नेतर्फ पनि मन्त्री भण्डारीको ध्यानाकर्षण गराएको छ । मेक इन नेपाल स्वदेशी अभियान, अर्थतन्त्र सुधारका लागि चालिनुपर्ने सुझावसहितको परिसंघको रिबुटिङ नेप्लिज इकोनोमी अवधारणामा पनि छलफल भएको थियो । छलफलमा मन्त्री भण्डारीले अर्थतन्त्रमा सुधार ल्याउन परिसंघको सुझावका लागि धन्यवाद दिदै पुँजीगत खर्च बढाउनुपर्ने बताएका थिए ।