निर्माण सामग्री परीक्षण प्रयोगशालामा यूएसएआईडीको सहयोग

नेपालमा सन् २०१५ मा गएको विनाशकारी भूकम्पपछि निर्माण सामाग्रिको भरपर्दाे परीक्षणका सवालमा अमेरिकी सहयोग नियोग यूएसएआईडीले २ वटा प्रयोगशाला निर्माणमा साझेदारी गर्ने भएको छ । युएसएआईडीले नवलपरासी जिल्लामा नयाँ निर्माण सामग्री परीक्षण प्रयोगशाला स्थापना गर्न र काठमाडौं उपत्यकामा अवस्थित प्रयोगशालालाई स्तरोन्नति गर्न निजी क्षेत्रसँग साझेदारी गर्ने भएको हो ।
नवलपुर र काठमाडौंमा निर्माण सामग्रीको गुणस्तरीयता, स्थायित्व र दिगोपनका लागि परीक्षण गर्ने दुईवटा प्रयोगशालाको उद्घाटनमा युएसएआईडी/नेपालका डेपुटी मिसन डाइरेक्टर करेन वेल्च, गैँडाकोट नगरपालिकाका मेयर मदनभक्त अधिकारी, इन्जिनियरिङ र स्थानीय निर्माण समुदायका प्रतिनिधि सहभागी थिए ।
२०१५ को गोरखा भूकम्पपछि निर्माण सामग्रीको भरपर्दो परीक्षणको उच्च माग पूरा गर्न प्रयोगशालाहरूले नेपालमा प्रयोग हुने निर्माण सामग्रीहरू आधुनिक सुरक्षा मापदण्डहरू पूरा गर्ने, भवन र पूर्वाधारलाई भविष्यको प्राकृतिक प्रकोपको अवस्थामा थप लचिलो बनाउन मद्दत गर्ने उक्त उद्घाटनमा बताइएको छ ।
युएसएआईडी/नेपालका डेपुटी मिसन डाइरेक्टर वेल्चले भनिन्, “२०१५ को गोरखा भूकम्पपछि निर्माण सामग्रीको भरपर्दो परीक्षणको उच्च माग पूरा गर्न नवलपरासी जिल्लामा नयाँ निर्माण सामग्री परीक्षण प्रयोगशाला स्थापना गर्न र काठमाडौं उपत्यकामा अवस्थित प्रयोगशालालाई स्तरोन्नति गर्न हामीले निजी क्षेत्रसँग साझेदारी गरिरहेका छौं ।” यसले थप समृद्ध र लचिलो नेपालका लागि अमेरिकी जनताको दीर्घकालीन र निरन्तर समर्थन गर्नेछ ।
यूएसएआईडीलेले दुई निजी क्षेत्रका कम्पनीहरूलाई मोबाइल एप्स निर्माण गर्न अनुदान पनि प्रदान गरेको छ । जसले मर्मत र मर्मतसम्भार क्षेत्र र निर्माण सामग्री आपूर्ति श्रृंखलामा सेवा खोज्ने र सेवा प्रदायकहरू बीचको सञ्चार अन्तरलाई कम गर्नेछ । यी एपहरूले नेपालका व्यक्ति र संस्थाहरूलाई भरपर्दो निर्माण सेवा र सामग्रीहरू पहुँच गर्न सजिलो बनाउन मद्दत गर्ने उसले जनाएको छ ।
सन् २०१५ को भूकम्पपछि अमेरिकी सरकारले नेपालमा भूकम्पको प्रतिकार्य र पुनःस्थापनाका लागि १९ करोड डलरभन्दा बढी सहयोग गरेको थियो । यस कोषले घरधनीहरूलाई आधुनिक सुरक्षा मापदण्डहरू प्रयोग गरेर १६ हजार भन्दा बढी घरहरू पुनर्निर्माण गर्न, १५ हजार भन्दा बढी इन्जिनियरहरू, ठेकेदारहरू, आर्किटेक्टहरू, मिस्त्रीहरूलाई भूकम्प प्रतिरोधी निर्माण प्रविधिहरूमा तालिम दिन र २९ वटा अत्याधुनिक घरहरूको पुनर्निर्माणमा सहयोग पुर्याएको उसले उल्लेख गरेको छ ।