गाउँपालिकमा एकीकृत सेवा

सरकारी कार्यालय भन्नेबित्तिकै अधिकांशको दिमागमा ठूला ठूला भवनको दृश्य आउँछ । अझ स्थानीय तहहरूमा त कसले ठूलो कार्यालय भवन बनाउने भन्ने होडबाडी नै चलेको देखिन्छ । सेवा प्रवाहका लागि पर्याप्त भौतिक संरचना चाहिन्छ तर सेवाको गुणस्तर भने ठूला भवनले होइन त्यहाँको व्यवस्थापनले जनाउँछ ।
सुर्खेतको सिम्ता गाउँपालिकाको कार्यालय भवन हेर्दा ठूलो छैन तर सेवाग्राहीले एउटा ढोकाबाट भित्र पसेपछि सबैखाले सेवा पाउन गरेका छन् । नेपाली अक्षर सिम्ता जसरी नाम बनेको छ सिम्ता गाउँपालिकाको प्रशासनिक भवन पनि त्यही आकारमा बनेको छ । राकमस्थित कार्यालय भनव बाहिरबाट झट्ट हेर्दा जति आकर्षक देखिन्छ सेवा प्रवाहका लागि पनि त्यति नै व्यवस्थित छ ।
कार्यालयको मूल ढोकाबाहिर कुन ब्लकमा के सेवा पाइन्छ भनेर स्पष्ट लेखिएको छ । मूल ढोका प्रवेश गर्ने बित्तिकै सहायता कक्ष आउँछ । जहाँ सेवा लिन आएका नागरिकलाई त्यहाँ बसेका कर्मचारीले आवश्यक सहयोग गर्दछन् । सबै कोठाका ढोकाबाहिर त्यहाँबाट दिइने सेवाबारे उल्लेख गरिएको छ । सेवाग्राहीका लागि पालो पर्खिंदा विश्राम गर्ने ठाउँ जहाँ टेलिभिजनको व्यवस्था गरिएको छ ।
सेवाग्राहीले सजिलै देख्नेगरी तातो चिसो पिउने पानी, महिला पुरुषका लागि छुट्टाछुट्टै शौचालय छन् भने त्यहाँको सरसफाइको अवस्था पनि राम्रो छ । एकैद्वारबाट सेवा पाएपछि सेवाग्राहीको समयको बचत हुनुका साथै कुन ठाउँबाट कुन सेवा लिने भन्ने अलमल पनि हटेको छ । वडा नं ६ की जालीमा बादी एकै ढोकाबाट सेवा पाउँदा समय र पैसाको बचत भएको बताउँछिन् ।
कार्यालयमा सेवा प्रवाहलाई चुस्त बनाउका लागि सेवाग्राहीसँंगै सेवा प्रदायक कर्मचारीको सहजतालाई पनि ध्यान दिइएको छ । कार्यालय भवनभित्रै स्तनपान कक्षको पनि व्यवस्था गरिएको छ । जसले गर्दा सानो बच्चा हुने महिला कर्मचारीलाई काम गर्न सजिलो भएको छ । नियममा सबै कार्यालयमा स्तनपान कक्ष बनाउनुपर्ने भए पनि धेरै कार्यालयमा त्यसको कार्यान्वयन भएको पाइँदैन ।
कार्यालयमा स्तनपान कक्ष भएकाले काममा सहजता भएको कर्मचारी गरिमा मल्लले बताइन् । “हामी बच्चा भएका तीन चारजना छौँ,” उनले भनिन्, “कार्यालयमा स्तनपान कक्ष भएकाले बच्चा लिएर आउँछौँ बीच बीचमा दूध खुवाउन जाँदा काममा पनि डिस्टर्ब हुन्थ्यो ।” भवनका भित्तामा गाउँपालिकाभित्रका विभिन्न गाउँ बस्ती झल्किने मनोरम दृष्य कोरिएको छ ।
जसले गर्दा कार्यालयलाई आकर्षक बनाउनुका साथै बाहिरबाट गाउँपालिकासम्म पुग्ने व्यक्तिलाई गाउँ घुम्न प्रेरित गर्दछ । कार्यालय भवनभित्रै दुईवटा सभाकक्ष पनि बनाइएको छ । गाउँपालिकाका बैठक, गाउँपालिकाभित्र हुने सभा सम्मेलन गोष्ठी तिनै सभाकक्षमा हुने गरेको छ । जसले गर्दा कार्यालयका तर्फबाट बाहिर कार्यक्रममा सहभागी हुन जाँदा आउँदा खर्च हुने समयको पनि बचत भएको छ ।
भवनको आकारभन्दा पनि त्यहाँभित्रको सेवा प्रवाह र व्यवस्थापन महत्वपूर्ण हुने गाउँपालिकाका अध्यक्ष ऐनबहादुर चन्द बताउँछन् । गाउँपालिकाबाट दिने सबै सेवालाई एक भवनबाट दिँदा समयको बचत हुनुका साथै सेवा प्रवाहमा सजिलो भएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत टोपबहादुर रानाले बताए ।
साथै कार्यालयको व्यवस्थापन तथा निगरानीका लागि सजिलो भएको उनको भनाइ छ । कुनै पनि कार्यालयको प्रभावकारिता भौतिक संरचनाले भन्दा पनि सेवाको गुणस्तरले जनाउँछ । त्यसैले अहिले स्थानीय तहमा ठूलाठूला भवन बनाउने होडबाजी चलिरहेका बेला सिम्ता गाउँपालिका सानै भवनबाट पनि कसरी प्रभावकारी सेवा प्रवाह गर्ने भन्ने उदाहरण बनेको छ ।