Logo

आर्थिक कठिनाइबारे आईएमएफले प्रतिवेदन बुझाउने

नेपाल भ्रमणमा रहेको अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)को टोलीले बैंक तथा वित्तीय संस्था परिसंघ, नेपाल (सिबिफिन)सँग भेटवार्ता गरेको छ । जार्को टुरुनेन नेतृत्वको टोलीले नेपालको अर्थतन्त्रको वर्तमान अवस्थाको समीक्षा र कोभिड–पछिको परिदृश्यका विषयमा सरोकारवालासँग परामर्श गर्न नेपालमा आएको जनाएको छ ।

छलफलमा आईएमएफले आर्थिक तथा बैंकिङ क्षेत्रका विविध विषयहरुमा सिबिफिनसँग भएको सहकार्य जारी राख्नुपर्नेमा जोड दिएको छ । सिबिफिनका प्रतिनिधिहरूले आयात, तरलताको समस्या र त्यसको असर, बैंक तथा वित्तीय संस्थाको मुनाफामा देखिएको संकुचन, पूँजीबजारमा आएको गिरावट, संस्थापक सेयरलाई सर्वसाधारण सेयरमा रुपान्तरण गर्न सकिने बाफियाको व्यवस्थाको कार्यान्वयनको अवस्थाका बारेमा जानकारी गराएका छन् ।

त्यसैगरी निष्क्रिय कर्जामा भइरहेको वृद्धि, ब्याजदर, कर्जायोग्य पुँजीको अभावलगायतका विविध विषयमा आईएमएफका प्रतिनिधिसमक्ष जानकारी गराएको सिबिफिनले जनाएको छ । आईएमएफबाट आएको मिसन टोलीका प्रतिनिधिले नेपालको हालको आर्थिक कठिनाइका बारेमा अध्ययन गरि प्रतिवेदन तयार गर्ने बताएका छन् ।

भेटघाट तथा छलफलमा आईएमएफ नेपालका आवासीय प्रतिनिधि टेरेसा डबान सान्चेज, आईएमएफ–वाशिङ्टन डि.सी, अमेरिकाका वरिष्ठ अर्थशास्त्री रसेल ग्रीन र सिबिफिनकोतर्फबाट उपाध्यक्ष राजेश उपाध्यक्ष, महासचिव राजन सिंह भण्डारी, कार्यकारिणी सदस्य राधेश पन्त तथा सिबिफिनका महानिर्देशक डा. गोपालप्रसाद तिवारीको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्