Logo

१४० घरधुरी दलित समुदायलाई राहत वितरण

गरिबीका कारण कमाइका लागि वर्षेनी भारत गएर जिन्दगीको गुजारा चलाउने जाजरकोट भेरी नगरपालिका–११ कटी गाउँका दलित समुदायलाई राहत वितरण गरिएको छ । दलित समुदायलाई चिसोबाट जोगाउनका लागि कपडा वितरण गरिएको सशस्त्र प्रहरी परिवार महिला संघ केन्द्रीय कार्यकारिणी सदस्य प्रतिमा हमालले जानकारी दिइन् ।

उनका अनुसार १४० घर परिवारलाई उक्त राहत स्वरुप कपडा वितरण गरिएको हो । कटीगाउँका दलित समुदायको आर्थिक अवस्था कमजोर भएर घर नै छाडेर पलाएन भएदेखि ऋणमा डुबेर घरखेती साहुको नाममा दिएको जानकारी आएपछि उक्त ठाउँमा राहत स्वरुप कपडा वितरण गरिएको संघकी केन्द्रीय अध्यक्ष अनिता लामिछाने अर्यालले जानकारी दिइन् ।

सशस्त्र प्रहरीका महनिरीक्षक सहभागी उक्त राहत वितरण कार्यक्रमले राहत दिने र लिने मात्र नभई यहाँको दलित समुदायको अवस्थाको समेत चित्रण भएको सहभागीले बताएका छन् । कपडा खरिद गर्ने रकम नहुँदा आफू समस्यमा परेको बताउने कटीगाउँकी सितली वरले पाएको राहतले यो हिउँद पार गर्न सजिलो भएको बताइन् ।

“कोही नहुनेका भगवान हुन्छन् भन्थ्ये, साँचिक्कै हो रहेछ आज यहीं घर भएका सशस्त्र प्रहरीका सही साब राजु हमाल, उनकी श्रीमती प्रतिमाको पहलमा हामी गाउँलेलाई कपडा आएको छ । हामी निकै खुसी भएका छौँ । हामीलाई सहयोग गर्ने कोही थिएन, कुरा मात्र गर्ने धेरै थिए । आज हामीलाई दिएको कपडाले वर्ष दिन ढुक्क भएको छ ।”

जाजरकोट पहिलो पटक आएका सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्यालले दलित समुदायको समस्या नजिकबाट बुझ्ने मौका पाएका बताए । सदरमुकामभित्रकै पालिकामा पनि यस्तो समस्या रहेछ भन्ने हामीले आफ्नै आँखाले देखेको बताए । गरिबीकै कारण यहाँका केही घरधुरीले घरबार नै छोडेर भारत गइसकेका छन् । साहुको ऋण तिर्न नसकेर उनीहरू भारत गएको स्थानीबासी रामबहादुर वरले बताए । मध्यपहाडी लोकमार्गको छेउमै रहेको दलित बस्तीमा वर्षेनी खाद्यान्न समस्याले गर्दा हैरानी हुने गरेको छ ।

आफूले उत्पादन गरेको अन्नले ६ महिना खाना नपुग्ने कटीगाउँमा अधिकांश पुरुष परिवार पाल्नुका साथै साहुको ऋण तिर्न भारत गएका हुन् । महिलामात्र गाउँमा रहेको उक्त दलित बस्तीमा औपचारिक शिक्षा लिनेको संख्यासमेत कम छ । आफ्नो ऋण धेरै भएको भन्दै उक्त ऋण तिर्नका लागि आफूसँग केही पनि नभएको बताउँदै अघिल्लो वर्षमात्र प्रतिनिधिसभा सदस्य शक्तिबहादुर बस्नेतलगायतका नेतलाई यहाँका सर्वसाधारणले ज्ञापनपत्रसमेत बुझाएका थिए ।

कक्षा १० उत्तीर्ण गरेको एक जनामात्र रहेको यो बस्तीमा पढाइका लागि आर्थिक अभाव हुँदा अभिभावकसँग भारत जाने बालबालिकाको संख्या ठूलो छ । माटोले निर्माण गरिएका एक तले घर, त्यसैमा पनि दैनिक साहुको कचकचले गर्दा आफूहरू तनाबमा पुगेको अर्का स्थानीय अमृत वरले बताए ।

प्रतिक्रिया दिनुहोस्