१८ कात्तिकदेखि उम्मेदवारले र्याली, गोष्ठी गर्न पाउने

निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले उम्मेदवारहरूले १८ कात्तिकदेखि २ मंसिरसम्मको अवधिमा कोणसभा, आमसभा, र्याली, गोष्ठी, सेमिनार गरेर निर्वाचन प्रचारपसार गर्न पाउने बताएका छन् ।
आइतबार प्रतिनिधिसभा र प्रदेश सभा सदस्यको निर्वाचनमा सञ्चार माध्यमको भूमिका विषयक प्रदेशस्तरीय कार्यक्रमलाई पोखरामा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले ५ कात्तिकदेखि १८ गतेसम्मको अवधि उम्मेदवारलाई घरदैलो कार्यक्रम गर्ने समयको भएको भन्दै कोणसभा, आमसभा, र्याली, गोष्ठी, सेमिनारलगायतका प्रचारबाजी गर्न नहुने बताए । उनले उम्मेदवारको प्रचारबाजीका लागि आयोगले निश्चित समय सीमा तोकेकाले समयसीमाभित्र रहेर उम्मेदवारले प्रचारप्रसार गर्न उचित हुने बताए । आयुक्त भण्डारीले यसअघि आयोगले मौन अवधिको अभ्यास गर्दै आए पनि मौन अवधि भनेर ऐन, नियमको कुनै पनि ठाउँमा नदेखिएको भन्दै यसपटक संविधान, ऐन र नियमले नदेखेको, नचिनेको मौन अवधिको समयलाई हटाएको बताए । उनले सञ्चारजगत र निर्वाचन आयोग एउटै सिक्काका दुई वटा पाटा भएर अघि बढ्ने हो भने निर्वाचनमा हुने जोखिमलाई कम गर्न सकिने बताए ।
आयुक्त भण्डारीले आगामी निर्वाचनलाई निष्पक्ष बनाउन सञ्चारमाध्यमको भूमिका उल्लेखनीय रहेको बताए ।