मलको समस्या दीर्घकालीन रुपमा समाधान गर्नका लागि छुट्टै निकाय

कृषि तथा पशुपंक्षी विकासमन्त्री महिन्द्रराय यादवले मलको समस्या दीर्घकालीन रुपमा समाधान गर्नका लागि छुट्टै निकाय स्थापना गर्नुपर्ने प्रस्ताव गरेका छन् ।
मंगलबार प्रतिनिधिसभा बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा मन्त्री यादवले नेपाल आयल निगमजस्तै छुट्टै निकाय स्थापना गरेर मात्रै मलको समस्या दीर्घकालीन रुपमा समाधान गर्नुपर्ने अवस्था रहेको बताए । उनले मल कारखानाको स्वदेशमै स्थापना गर्नुपर्ने, मलको खरिद जिटूजी प्रक्रियामा अघि बढाउन सकेमात्रै नेपालमा मलको समस्या समाधान गर्न नसकिने स्पष्ट पारे ।
मन्त्री यादवले १५ असारभित्र किसानका लागि मल उपलब्ध गराउने प्रतिवद्धता समेत जनाए । उनले भारत सरकारले ५ लाख मेट्रिक टन मल चालू आर्थिक वर्ष भित्रै उपलब्ध गराउने आश्वासन दिएकाले सो समस्या समाधान हुने बताए । “मल उपलब्ध गराउने सवालमा १५ असारसम्म साल्ट ट्रेडिङबाट आउने मलहरु आउँछ” उनले भने, “टेन्डर भएका मलहरु आउँछ । १५ गतेसम्म यो मलहरु उपलब्ध हुन्छ एपी र युरिया । मोटामोटी अहिलेसम्म हामीसँग भएको भनेको ५२ हजार मेट्रिक टन ल्याउने प्रक्रियामा ।”
मन्त्री यादवले मल कारखाना स्थापनाका लागि लगानी बोर्डमा सम्भाव्यता अध्ययन भइरहेको उल्लेख गर्दै छिट्टै त्यो प्रक्रिया अघि बढने आश्वासन दिए । उनले कृषि मन्त्रालयले त्यसका लागि उद्योग मन्त्रालय र लगानी बोर्डलाई दवाव दिइरहेको पनि स्पष्ट पारे ।
मन्त्री यादवले वेमौसमी वर्षाका कारण बालीको क्षतिपूर्ति दिने काम आफ्नो मन्त्रालयको नभएको स्पष्टिकरण दिए । गृह मन्त्रालयले त्यसको क्षतिपूर्ति दिने भएकाले यसका लागि पीडित किसानको सूची दिइएको उनको भनाइ छ ।