Logo

‘निजी क्षेत्र सफल भएको ठाउँमा सरकारले हात हाल्नु हुँदैन’

अर्थशास्त्री विश्व पौडेलले निजी क्षेत्र सफल भएको ठाउँमा सरकारले हात हाल्न नहुने बताएका छन् । ‘जनताको जलविद्युत् आयोजना कार्यक्रम’ प्रति लक्षित गर्दै पौडेलले निजी क्षेत्रले जलविद्युत् उत्पादन गरिरहेकाले सरकारले ठूला जलाशय आयोजना तथा प्रसारणलाइन निर्माणमा जोड दिनुपर्ने बताए । नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले बिहीबार गरेको अन्तक्र्रियामा उनले जनताका नाममा १९ जलविद्युत् आयोजना निर्माण गर्न लाग्नु अर्थहीन भएको र यस्ता काम निजी क्षेत्रलाई छोड्नुपर्ने बताए । सरकारले प्रतिबद्धता अनुसार निजी क्षेत्रलाई सहुलियत नदिएको र त्यति हुँदाहुँदै पनि निजी क्षेत्रले विद्युत् उत्पादनमा सकारात्मक भूमिका खेलेको उनको भनाइ थियो । “हरेक क्षेत्रमा एकाधिकार अन्त्य गरेर प्रतिस्पर्धाको वातावरण बनाउनुपर्छ, यसका लागि सरकारको ध्यान जानुपर्छ,” उनले भने, “कम खर्चमा बढी उत्पादनतिर लाग्नका लागि वातावरण बनाउनुपर्छ ।”
राष्ट्रिय गौरवका आयोजनानै पूरा नहुँदा लागत र समय दुवै बढेको बताउँदै परियोजनामा ढिलाई नहुने गरी कृषिजन्य, उत्पादनमूलक, ऊर्जा र पर्यटन क्षेत्रलाई विशेष प्राथमिकता दिनुपर्नेमा उनको जोड थियो । आयोजनाको लागत बढ्दै जानु समस्याको रूपमा रहने भन्दै अर्थशास्त्री पौडेलले सकेसम्म कम लागतका परियोजना निर्माण गर्ने वातावरण निर्माण गर्न सक्नुपर्ने बताए । “नेपालले विभिन्न देशबाट ल्याएको अनुदानको रकमसमेत उपयोग गर्न सकेको छैन, यसका लागि परियोजना व्यवस्थापन पक्षलाई विशेष ख्याल गरेर खर्च गर्ने क्षमता बढाउनुपर्छ,” उनले भने । कर्मचारीहरू बढाउँदा र थपिरहँदा यसले आर्थिक भार बढाउने भन्दै यसतर्फ सर्तक हुनुपर्ने उनको तर्क थियो ।

प्रतिक्रिया दिनुहोस्