भूपू गोर्खाहरूको समस्या समाधानमा सरकारले चासो नदेखाएको आरोप

भूपू गोर्खाहरूको समस्या समाधानका निम्ति सरकारले चासो नदेखाएको सांसदहरूले आरोप लगाएका छन् ।
सोमबार सिंहदरबारमा बसेको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै सांसदहरूले भूपू गोर्खाहरूको समस्या समाधानका निम्ति सरकार जिम्मेवार नभएको बताएका हुन् । अन्तर्राष्ट्रिय सम्बन्ध समितिले पनि पटक–पटक समस्या समाधानका निम्ति सरकारलाई अग्रसरता लिन आग्रह गरेको भएपनि सरकारले बेवास्ता गरेको सांसदहरूको आरोप छ ।
बैठकमा बोल्दै सांसद भीम रावलले बेलायत सरकारसँग नेपाल सरकारले के कारणले कुरा गर्न नसकेको हो परराष्ट्र मन्त्रीले जवाफ दिनुपर्ने बताए । समितिले पटक–पटक निर्देश गर्दापनि सरकारको तर्फबाट कुनै काम हुन नसकेको उहाँले उल्लेख गर्नुभयो । भूतपूर्व गोर्खाहरूको माग बमोजिम सरकारले तुरन्त उच्चस्तरीय वार्ता समिति गठन गरेर बेलायती सरकारसँग कुरा गर्नुपर्ने आफूहरूको धारणा रहेको उहाँले बताए ।
सांसद रेनुका गुरुङले बेलायत सरकारले भूपू ब्रिटिश गोर्खालाई न्यून ज्यालामा सिंगापुर र ब्रुनाईको सेवामा खटाएको सम्बन्धमा परराष्ट्र मन्त्रालयको धारणा माग गरे । नेपाल र बेलायतबिचको सन्धी पुनरावलोकन गर्नुपर्ने उनको भनाइ छ ।
सांसद दिपक प्रकाश भट्टले सरकारले राष्ट्रिय हितलाई अगाडि राखेर कुरा गर्न नसकेको बताए । वार्ता समिति गठन गरेर वार्तासमेत गर्न नसकेको उहाँको भनाई छ । समितिमा पुनः सम्बन्धित मन्त्रीलाई बोलाएर भूपू गोर्खाको समस्या समाधानको सम्बन्धमा छलफल गर्नुपर्ने उनले उल्लेख गरे ।
पूर्वप्रधानमन्त्री तथा सांसद माधवकुमार नेपालले भूतपूर्व गोर्खा सैनिकको विषयलाई उच्चतम प्राथमिकता दिनुपर्ने बताए । जुन देशसँग सम्झौता भएको हो सो देशले नेपालीहरू अन्य देशमा पठाउने कुराको अन्त्य हुनुपर्ने उनले बताए ।
उहाँले विगतका सम्झौताहरूमा त्रुटी भएमा सच्याउनुपर्ने बताउनुभयो । विगतमा गरिएको सम्झौता पुरानो भएको भन्दै उनले नयाँ सम्झौतामा जानुपर्ने आवश्यकता औँल्याए ।