नेविसंघको महाधिवेशनबारे कांग्रेसले चाँडै निर्णय गर्ने

नेपाली कांग्रेस केन्द्रिय कार्य सम्पादन समिति बैठक यही हप्ता भित्र बस्ने भएको छ । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले पार्टीको भातृ संस्थाहरुको महाधिवेशन गर्ने विषयलाई मुख्य एजेण्डा बनाएर यही हप्ता भित्र पार्टीको केन्द्रिय कार्य सम्पादन समितिको बैठक बोलाउने विषयमा छलफल भइरहेको बताएका हुन् ।
उनले तत्काल महाधिवेशन गर्नुपर्ने माग गर्दै सोमबार पार्टी केन्द्रिय कार्यालय सानेपा पुगेका नेविसंघका विद्यार्थी नेता, कार्यकर्तालाई सम्बोधन गर्दै सबै भातृ संस्था तथा शुभेच्छुक संस्थाहरुको महाधिवेशनलगायतका कार्यहरु सम्पन्न गर्न पार्टीका महामन्त्रीहरुले त्यसको प्रस्तावित विधानबारे छलफल गरिरहेको जानकारी समेत दिए । उपसभापति गुरुङले पार्टीका तत्कालीन केन्द्रिय सदस्य एनपी साउद नेतृत्वको टोलीले भातृ संस्थाहरुको बारेमा तयार पारेको विधान प्रतिवेदनमाथि गहन छलफल गरेर सबै भातृ संस्थाहरुलाई गतिशील बनाउने गरी त्यसका महाधिवेशन लगायतका कामहरु सम्पन्न गर्ने प्रतिवद्धता व्यक्त गरे ।
कांग्रेस नेतृत्वमाथि पार्टीको विधान र संघीयताको भावना अनुसार भातृ संस्थाहरुको विधान मस्यौदा भएपनि पार्टीले स्विकृति नदिएका कारण नेविसंघलगायतका भातृ संस्थाहरु पूरानै विधानमा चलिरहेको आरोप छ । जसका कारण गतिहीन हुन पुगेको संगठनलाई प्रभावकारी बनाई शैक्षिक क्षेत्रमा देखिएमा समस्या समाधानका लागि पनि छिटो भन्दा छिटो नेविसंघको महाधिवेशन गर्नुपर्ने त्यसमा आवद्ध विद्यार्थीहरुको माग छ । उपसभापति गुरुङले नेविसंघलगायतका भातृ संस्थाहरुको माग सम्बोधन गर्न पार्टी गम्भिर भएको बताए ।
यसैबीच, नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले केही दिन भित्रै नेपाल विद्यार्थी संघको महाअधिवेशन गराउनेबारे पार्टीले आवश्यक निर्णय लिने बताएका छन् । महामन्त्री थापाले यही हप्ताको शुक्रबार पार्टी केन्द्रिय कार्य सम्पादन समितिको बैठक बस्ने तयारी भएको र त्यसले नेविसंघको महाधिवेशनबारे आवश्यक निर्णय लिने बताए । उनले महाधिवेशन सम्पन्न गराउने वातावरण बनाउने काममा लाग्न पनि नेविसंघका नेता, कार्यकर्तालाई निर्देशन दिए । मंगलबार नेपाल विद्यार्थी संघका नेता, कार्यकर्तासँग पार्टी कार्यालय सानेपामा भएको भेटमा महामन्त्री थापाले नेविसंघ भित्र देखिएको समस्या समाधान गर्ने काम सोही संगठनको भएको उल्लेख गर्दै पार्टीको तर्फबाट भने त्यसका लागि आवश्यक निर्णय गर्न ढिलाई नहुने बताए ।
महामन्त्री थापाले विगतमा पार्टीले निर्णय गर्दा पनि नेविसंघ भित्रकै समानान्तर गतिविधिका कारण यसको महाधिवेशन हुन नसकेको पनि स्मरण गराए । त्यसक्रममा नेविसंघका नेताहरुले महाधिवेशन छिटो सम्पन्न गराएर क्याम्पसहरुको शैक्षिक गतिविधिलाई प्रभावकारी बनाउने काममा सहयोग गरिदिन आग्रह गर्दै महामन्त्री थापालाई अनुरोध पत्र बुझाएका थिए ।