सत्तारुढ गठबन्धनद्वारा समन्वय समिति गठन

सत्तारुढ गठबन्धनले ११ सदस्यीय पाँच दलीय गठबन्धन समन्वय समिति गठन गरेको छ ।
प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको अध्यक्षतामा सोमबार अपरान्ह बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकले सबै दलबाट २ जना सदस्य रहने र सरकारको तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई समेत समेटेर समन्वय समिति बनाउने निर्णय गरेको हो ।
सबै राजनीतिक दलहरुले २÷२ महिना संयोजन गर्ने सो समन्वय समितिमा काँग्रेसको तर्फबाट रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला, माओवादी केन्द्रको तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नारायणकाजी श्रेष्ठ रहेका छन् भने नेकपा (एकीकृत समाजवादी)को तर्फबाट माधवकुमार नेपाल, जनता समाजवादी पार्टीको तर्फबाट उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाको तर्फबाट चित्रबहादुर केसी र दुर्गा पौडेल रहेका छन् । नेकपा एकीकृत समाजवादीको एक जना र जनता समाजवादी पार्टीको एक जनाको नाम भने पछि आउने गरी २÷२ जना सदस्यहरुको रहेको र मन्त्रीहरुको तर्फबाट आफू समेत सहभागी हुने गरी सत्तारुढ गठबन्धनको पाँच दलीय गठबन्धन समन्वय समिति निर्माण गरिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् काँग्रेस नेता कार्कीले जानकारी दिए ।
उनले सो समितिको पहिलो २ महिनाको संयोजक रामचन्द्र पौडेललाई तोक्ने निर्णय गरिएको समेत बताए । मन्त्री कार्कीले प्रधानमन्त्रीको अध्यक्षतामा बसेको पाँच दलीय गठबन्धनले निकट भविष्यमा हुने राष्ट्रिय सभा निर्वाचन र उपनिर्वाचनहरुमा पाँच दलीय गठबन्धनको संयुक्त रुपमा त्यो निर्वाचनलाई संयुक्त रुपमा तयारी गर्ने निर्णयका साथ पाँच दलीय गठबन्धनको एउटा पाँच दलीय गठबन्धन समन्वय समितिको निर्माण भएको जानकारी दिएका हुन्
प्रधानमन्त्री देउवा अनिवार्य रुपमा उपस्थिति हुने सो समितिको मूल उद्देश्य संविधानको रक्षा, लोकतन्त्रको रक्षा र जनताको अपेक्षा अनुसार सरकारलाई काम गराउन सहयोग गर्नु रहेको पनि मन्त्री कार्कीले बताए । आसन्न उपनिर्वाचन र राष्ट्रियसभाको निर्वाचनको संयुक्त रुपमा तयारी गर्ने निर्णय पनि सत्तारुढ गठबन्धनले गरेको छ ।