धान उत्पादन बढे पनि चामल आयात रोकिएन

- व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका अनुसार मासिक साढे दुई अर्ब भन्दा बढीको चामल आयात हुने गरेको छ ।
काठमाडौं-मुलुकमा धानको उत्पादन बढे पनि चामलको आयात भने रोकिन सकेको छैन । कृषि प्रधान मुलुकले पछिल्लो पाँच महिनामा १३ अर्ब रूपैयाँको चामल आयात गरेको छ ।
स्थानीय उत्पादनले माग धान्न नसकेपछि सो रकम बराबरको चामल आयात भएको हो । कृषि विकास मन्त्रालयका अनुसार चालू आर्थिक वर्षमा धानको उत्पादन ९ प्रतिशतले बढेर ५६ लाख १० हजार मेट्रिक टन भएको छ । तर चामलको आयात भने मासिक बढ्दै गएको छ । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका अनुसार मासिक साढे दुई अर्ब भन्दा बढीको चामल आयात हुने गरेको छ । केन्द्रका अनुसार पाँच महिनामा १३ अर्ब ५८ करोड ४ लाख ३२ हजार रूपैयाँ बराबरको चामल आयात भएको छ । पाँच महिनामा चामल, मकै, गहुँको आयात ठूलो परिणाममा भएको तथ्यांकले देखाएको छ ।
केन्द्रका कार्यकारी निर्देशक शरदविक्रम राणाले चामलको आयात बढ्दै गएको बताए । “सुदूरपश्चिम प्रदेशमा चामलको उत्पादन धेरै हुने गरेको अध्ययनले देखाएको छ,” उनले भने “सोही प्रदेशबाट चामल बाहिर निर्यात हुने र अन्य प्रदेशले आयात गर्ने गरेको देखिन्छ ।” बढ्दो आयातलाई कम गर्नका लागि अन्तरप्रदेश व्यापार गर्न लागिएको जानकारी उनले दिए । मदिरा बनाउनका लागि चामलको आयात धेरै हुने गरेको विज्ञको भनाई छ ।
कृषिजन्य वस्तुको आयात बढ्दै गए पनि सो अनुपातमा निर्यात बढ्न सकेको छैन । स्वदेशी उत्पादनको लागत महंगो भई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न नसक्नु, गणस्तरीय वस्तु उत्पादन नहुनुले निर्यात बढ््न सकेको छैन । मुलुकमा आयात बढ्दै गए पनि निर्यात बढाउन सकिएको छैन । स्थानीय उत्पादनलाई प्रतिस्पर्धी गराउन सके आयात कम गर्न सकिने व्यापार विज्ञ बताउँछन ।
केन्द्रका अनुसार ६ अर्ब ९८ करोड ८० लाख ४० हजार रूपैयाँ बराबरको तरकारी आयात भएको छ । यस्तै ५ अर्ब ७१ करोड ६० लाख ८६ हजार रूपैयाँको फलफूल, ५ अर्ब १९ करोड ११ लाख ५७ हजार रूपैयाँ बराबरको मकै, ५ अर्ब ३८ करोड ३० लाख ६ हजार रूपैयाँको स्वायबिन तेल आयात भएको छ । बाज्रिल र अर्जेन्टिनाबाट ठूलो परिणाममा मकै आयात हुने गर्छ ।
यस्तै ४ अर्ब ९९ करोड २८ लाख ७८ हजार रूपैयाँको दलहन, ४ अर्ब ३९ करोड ३८ लाख ८० हजार रूपैयाँको अन्य तेलजन्य पदार्थ र २ अर्ब ३९ करोड ७१ लाख ७२ हजार रूपैयाँ को गहुँ आयात भएको तथ्यांक छ । मुलुकमा आयातदर बढ्दै गए पनि सोही अनुपातमा निर्यात बढ्न नसक्दा व्यापार घाटा चुलिँदै गएको छ । स्वदेशी वस्तुको लागत महंगो भई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न नसक्नुले निर्यात बढ्न सकेको छैन ।