पूर्वराज्यमन्त्री गुरुङ राहत लिएर मनाङ

संविधान सभा सदस्यएवं पूर्वश्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङ राहत लिएर गृह जिल्ला मनाङ पुगेका छन् । जिल्लाका बाढीपीडितहरूका लागि राहात लिएर पूर्वराज्यमन्त्री गुरुङ दोस्रो पटक जिल्ला पुगेका हुन् ।
यसअघि आफ्नै खर्चमा पहिलो चरणको राहत वितरण गरी काठमाडांै फर्किएका पूर्वमन्त्री गुरुङले विभिन्न निकायसँग समन्वय गरी काठमाडांैबाट पनि दैनिक राहात सामग्री पठाएका थिए । अविरल वर्षासँगै आएको बाढीले भौतिक संरचनाका साथै घरबारविहीन बनेका जिल्लावासीहरूलाई रेस्कु मनाङमार्फत राहत जुटाएर पठाएका थिए ।
पूर्वमन्त्री गुरुङले प्रभावित क्षेत्रको स्थलगत अवलोकन तथा प्रभावितहरूसँग भलाकुसारी समेत गरेका छन् । नेपाली कांग्रेस मनाङका सभापतिसमेत रहेका गुरुङले स्थानीय गाउँपालिका अध्यक्ष सुरक्षा निकायका प्रमुखलगायत सरोकारवालाहरूसँग भेट गरी बाढीपहिरो प्रभावितको अवस्था, राहत वितरण, अवरुद्ध बेंसीसहर–चामे सडक सञ्चालनलगायतका विषयमा छलफल गरेको उनका स्वकिय सचिव सोनाम लामाले जानकारी दिए । बाढीले क्षति पुर्याएका भौतिक संरचनाका साथै राहतका लागि प्रदेश र संघीय सरकारसँग अझै थप पहल गर्ने प्रतिबद्धता जनाएको स्वकीय सचिव लामाले बताए ।
पूर्वराज्यमन्त्री गुरुङले माथिल्लो मनाङको ङिस्याङस्थित हुम्डे, पिसाङ, सदरमुकाम चामे, नासोङ गाउँपालिकाका विभिन्न प्रभावित क्षेत्रलगायतका क्षेत्रको पनि अवलोकन गरेका थिए । पूर्वराज्यमन्त्री गुरुङसँगै गण्डकी प्रदेश सांसद चिन्ताबहादुर घले, कांग्रेस मनाङका सचिव सुरेन्द्र गुरुङ, कांग्रेस युवा नेताएवं मनाङका पर्यटन व्यवसायी विनोद गुरुङलगायतको टोलीले पनि बाढीग्रस्त क्षेत्रको अवलोकनका साथै पीडितलाई राहत वितरण गरेको थियो ।
सोही अवसरमा विघटित प्रतिनिधिसभा सदस्य कर्मा घलेले राहत स्वरूप पठाएको औषधी समेत बाढी प्रभावित क्षेत्रका स्थानीयहरूलाई वितरण गरिएको थियो । त्यस्तै मनाङ समाज सेवा समिति काठमाडौंले ङिस्याङ गाउँपालिकाका सबै वडाका घरधुरीलाई पठाएको त्रिपाल, डिजेल, खाद्यान्नलगायतका राहत सामग्रीसमेत वितरण गरिएको थियो ।
त्यसैगरी मनाङका समाजसेवी ट्रिपलपि गुरुङले ङिस्याङ गाउँपालिकाका सबै वडालाई वाटरप्रुफ त्रिपाल पनि राहत स्वरूप उपलब्ध गराएका थिए । गुरुङले बाढीग्रस्त क्षेत्रका स्थानीयलाई विभिन्न सहयोग गर्दै आएका छन् ।